Logo

भूतपूर्व सैनिक साकोसको नाफा २६ लाखभन्दा बढी



रामेछाप– रामेछाप भूतपूर्व सैनिक साकोसले यो वर्ष २६ लाखभन्दा बढी नाफा कमाएको छ । गत वर्ष २३ लाख ९२ हजार ४ सय ५७ रुपैयाँ नाफा रहेको यस साकोसको यो वर्ष भने २६ लाख ११ हजार ७ सय ६८ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

सदरमुकाम मन्थलीस्थित भुपु सैनिक साकोसको सभाहलमा सोमवार सम्पन्न १९ वार्षिकोत्सवमा साकोसले आफ्नो आयव्यय सार्वजनिक गरेको हो । मस्तिष्कमा साझेदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी भन्ने आदर्शका साथ १९ वर्ष अघि नेपाली सेनाका कार्यरत सेवा निवृत्त भएका २५ जनाले सुरु गरेको भूतपूर्व सैनिक साकोसमा झन्डै १५ सयको हाराहारीमा सदस्य रहेका छन् ।

यस सस्थांका अध्यक्ष टहलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथिमा रामेछाप जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल रहेको थिए । त्यसैगरी विशेष अतिथि खड्गदल गणका गणपति प्रमोदकुमार पौडेल रहेका थिए ।


१९ औँ वार्षिक साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, सचिवको वार्षिक प्रतिवेदन तथा भावि लक्ष्य कार्यक्रम योजना र कोषाध्यक्षको आर्थिक प्रतिवेदन साथै लेखा समितिको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको व्यवस्थापक बसुन्दर घिमिरेले जानकारी दिए ।

संस्थाले नियमित रुपमा गर्दै आएको सम्मानका कार्यक्रम अन्तर्गत सम्मानित हुने ज्येष्ठ सदस्यहरु, अपाङ्ग शेयर सदस्य, उत्कृष्ट बचत, उत्कृष्ट ऋण कारोबार, धेरै बचत रकम जम्मा गर्ने सदस्य, धेरै शेयर खरिद गर्ने सदस्य, नयाँ सदस्य विस्तार गर्ने सदस्य, सञ्चालक समितिबाट सचिव वीरबहादुर खड्का, लेखा–सुपरिवेक्षण समितिबाट लेखा संयोजक यमबहादुर बुढाथोकी, ऋण–उपसमितिबाट ऋण संयोजक जयबहादुर कठायत र २०८१ सालमा SEE उत्तीर्ण छात्र छात्राहरु ६ जनालाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्