रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालमा भाषिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्न सबै पुस्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए । भाषा, लिपि, कला र इतिहास संरक्षण गर्न नसके भविष्यमा मानव जातिको अस्तित्व नै सङ्कटमा पर्ने प्रजिअ थापाले औँल्याए ।
प्रजिअ थापाले २०७८ सालको जनगणनाले १२४ वटा भाषा सूचीकृत गरेको भन्दै ३० भन्दा बढी भाषाहरू लोपो भइसकेको बताए । विश्वभर वार्षिक रूपमा १०० भन्दा बढी भाषाहरू लोप हुने गरेको तथ्याङ्का रहेको पनि उनले बताए । प्रमुख जिल्ला अधिकारी थापाले भने अहिलेसम्म संसारभर ६ हजारभन्दा बढी भाषाहरू लोप भइसकेका छन् ।
नेवा देय दवू, नेवा खल र मिसा पुच ल्याम पुच रामेछापले शनिवार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको मातृ भाषाको अवस्था र चुनौती, नेपाल भाषा, संस्कृतिप्रति जेन्जी पुस्ताको चासो विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ थापाले यस्तो बताएका हुन् ।
भाषा मात्र नभइ इतिहास, कला, लिपि र संस्कृतिको संरक्षण गर्नु पनि आवश्यक रहेको बताए । प्रजिअ थापाले भने “यदि हामीले हाम्रो मौलिक पहिचान जोगाउन सकेनौँ भने भोली हाम्रो अवस्था पनि अन्य लोप भएका समुदायसरह हुनेछ ।” सबै पुस्ताले भाषा, धर्म, साहित्य र संस्कृतिको संरक्षणमा जुट्नु पर्ने आवश्यकता रहेको पनि प्रजिअ थापाले बताए ।
नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषा माने पनि अन्य भाषाहरूलाई मातृभाषाका रूपमा संरक्षण गर्ने व्यवस्था गरेको प्रजिअ थापाको भनाइ छ । नेवार समुदायभित्र १ हजार ३ सयभन्दा बढी थर सूचीकृत रहेको उल्लेख गर्दै भाषा र संस्कृति संरक्षणमा नेवार समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको पनि प्रजिअ थापाले बताए ।

सामाजिक सञ्जालमा फैलिँदै गएको नकारात्मक प्रवृत्तिप्रति प्रजिअ थापाले चिन्तासमेत व्यक्त गरे । भाषा, जाति र समुदायका आधारमा हुने गालीगलौजले सामाजिक सद्भाव कमजोर बनाउने भन्दै सुधारको सुरुवात पहिला आफैबाट आवश्यक रहेको प्रजिअ थापाले बताए ।
कार्यक्रमका विशेष अतिथि त्रैलोक्यमान बनेपानीले भाषा आयोगले देशका विभिन्न भाषा, लिपि, कला र संस्कृतिको सूचीकरण तथा संरक्षणमा सहयोग पुर्याइरहेको बताए । नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यही विविधताबिच राष्ट्रिय एकता कायम हुनु नेपालको मौलिक पहिचान भएको उनको भनाइ थियो । काठमाडौँ उपत्यका—भक्तपुर, ललितपुर र काठमाडौँ—ऐतिहासिक नगरीका रूपमा सम्पदाकै कारण पर्यटक आकर्षणको केन्द्र बनेको उदाहरण प्रस्तुत गर्दै, सम्पदा संरक्षण नै देशको ब्रान्डिङ र पर्यटन प्रवर्धनको आधार भएको उनले बताए ।
स्थानीय तहहरूले पछिल्लो समय भाषा, साहित्य, इतिहास र परम्परा जोगाउन बजेट विनियोजन गरी बाजा तालिम, सांस्कृतिक कार्यक्रम र सामग्री वितरणजस्ता कामहरू गरिरहेको भन्दै त्यो सकारात्मक प्रयास भएको उनको भनाइ थियो ।
कार्यक्रमका अध्यक्ष शेखरमान श्रेष्ठले मन्थलीमा केही वर्षदेखि नियमित गरिदैँ आएको लाखे नाच, गाईजात्रा, रोपाईं जात्राजस्ता सांस्कृतिक गतिविधिले समुदायलाई एकताबद्ध बनाएको बताए । मन्थलीमा यस्ता कार्यक्रमहरूले संस्कार र सांस्कृतिक चेतना विकास गरिरहेको उल्लेख गर्दै, स्थानीय सरकार र प्रशासनबाट हुँदै आएको सहयोग निरन्तर आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले संस्कृति केवल मनोरञ्जन नभई अनुशासन, जीवनपद्धति र स्वास्थ्यसँग समेत जोडिएको विषय भएको बताए । योमरी पुन्ही, क्वाँटी पूर्णिमा जस्ता परम्परागत चाडपर्व र खानपानको वैज्ञानिक महत्व बुझ्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
