Logo

पृथ्वी जयन्तीमा नेपाली सेनाको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा



रामेछाप । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा नेपाली सेनाको खड्गदल गणले रामेछापको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली सेना खड्गदल गणको आयोजनामा रामेछापको भङ्गेरी चोकदेखि तिल्केस्थानगढीसम्म पैदलयात्रा गरिएको छ ।

रामेछापको भङ्गेरी चोकबाट सुरु भएको उक्त पदयात्रा डुकुरसिङ डाँडा हुँदै तिल्केस्थानगढी पुगेको थियो । सैनिक ब्याण्ड र बाजागाजासहितको नेपाली सेनाको टुकडी तथा जनप्रतिनिधि, कर्मचारी, उद्योगी व्यापारी साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू पदयात्रामा सहभागी भएका थिए ।


पदयात्रापछि ऐतिहासिक तिल्केस्थानगढीमा आयोजित औपचारिक कार्यक्रममा झण्डोत्तोलन गर्नुका तथा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो । साथै राष्ट्र निर्माताप्रति नेपाली सेनाले सलामी अर्पण गरेको थियो । कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले पृथ्वीनारायण शाहले समाजका हरेक तह र वर्गसँग सहयोग माग्दै अभियान अघि बढाएको उल्लेख गरे । ५० पैसाबाट सुरु भएको देश एकीकरणको अभियानमा कालु पाण्डेजस्ता वीर शहीदहरूले जीवन आहुति दिएर यो अभियानलाई सफल बनाएका थिए, नगरप्रमुख न्यौपानेले भने ।

देश एकीकरणको अभियानमा सर्वसाधारणले समेत सुका–आठ आना पैसासमेत चन्दा उठाएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सहयोग गरेको इतिहास रहेको उनले बताए । उक्त तथ्य राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको पनि नगरप्रमुख न्यौपानेले बताए ।


तिल्केस्थानगढी नेपाल–अङ्ग्र्रेज युद्धका क्रममा वीर नेपाली सेनानीहरूले निर्माण गरेको उनको भनाइ थियो । सिन्धुली जिल्लाको गढीगाउँ पहिलो नाका भएकाले त्यहाँबाट अङ्ग्रेज फौज उम्किएमा यहीँबाट प्रतिकार गर्ने रणनीतिअनुसार नेपाली सेनाले तिल्केस्थानगढी निर्माण गरेको उनको भनाइ थियो ।

नेपाली सेना खड्गदल गणका गणपति प्रमुख सेनानी प्रमोद पौड्यालले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको पदयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताए ।
तिल्केस्थानगढी एक ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण गढी भएको बताउँदै यस गढी विशेषगरी नेपाल–अङ्ग्रेज युद्धका बेला सिन्धुली गढीको विकल्पको रूपमा निर्माण गरिएको स्थानीयबाट सूचना प्राप्त गरेर त्यही अनुसार नै अभिलेखका लागि कोसिस भइरहेको प्रमुख सेनानी पौड्यालले बताए ।


राष्ट्रिय एकता, स्वाभिमान, आत्मगौरव र हामी एक हौँ भन्ने भावना विकास गरी देशलाई एकढिक्का बनाउन इतिहासको संरक्षण अति नै आवश्यक रहेकोले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पदयात्रा कार्यक्रम आयोजना गरिएको प्रमुख सेनानी पौड्यालको भनाइ थियो । साथै उनले पदयात्रामा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी र नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपकप्रसाद घिमिरे लगायतले स्वर्गीय पृथ्वीनारायण शाहको कृतित्वका बारेमा चर्चा गर्दै उनकै रणनीतिक योजना अन्तर्गत निर्माण भएको तिल्केस्थानगढीका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्