Logo

कृषि, पर्यटन र रोजगारी मेरो प्राथमिकता : काङ्ग्रेस उम्मेदवार खड्का



रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नु आफ्नो प्रमुख एजेन्डा भएको बताएका छन् । जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गइरहेका बेला नेपाली काङ्ग्रेसले सोमवार (आज) देखि औपचारिक रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन आयोजना गरी उक्त कुरा जानकारी दिइएको हो ।

निर्वाचन आयोगले आमसभा गर्न सीमित समय निर्धारण गरेको र कम खर्चमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यअनुसार कार्यक्रम तय भएकाले ठूला आमसभाभन्दा साना र प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको खड्काले बताए । उनकाअनुसार अहिलेको राजनीतिक परिवेशमा जनतामा राजनीतिक व्यक्तिप्रति केही वितृष्णा देखिएकाले भीड जम्मा गरेर भाषण गर्नुभन्दा नागरिकका समस्या सुन्ने, उनीहरूको गुनासा बुझ्ने र समाधानका उपायबारे संवाद गर्नु आवश्यक छ । यही उद्देश्यले उनी घरदैलो मार्फत मतदाता भेटघाट गर्ने पक्षमा आफू रहेको बताएका छन् ।

खड्काले यसपटकको चुनावी माहौल अघिल्ला निर्वाचनको तुलनामा सकारात्मक रहेको बताए । विगतमा एक दलका कार्यकर्ताले अर्का दलका कार्यकर्ताको घरमा नजाने, गालीगलौज र व्यक्तिगत आरोप–प्रत्यारोप नै चुनावी एजेन्डा बन्ने प्रवृत्ति रहेकामा अहिले त्यो क्रमशः कमजोर हुँदै गएको उनको भनाइ छ । “पहिले शत्रु पहिचान गरेर जाने राजनीति थियो, अहिले मतदाता मन जित्ने प्रयास देखिन थालेको छ,” उनले भने । यसले लोकतान्त्रिक संस्कृतिको विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

उनले सबै राजनीतिक दल र कार्यकर्तालाई मर्यादित, सभ्य र शिष्ट ढंगले प्रतिस्पर्धा गर्न पनि आग्रह गरे । आफ्ना पार्टी कार्यकर्तालाई पनि व्यक्तिगत आरोपमा नअल्झी नीति, सिद्धान्त र विकासका विषयमा केन्द्रित हुन अनुरोध गरेका छन् । विरोधका लागि विरोध गर्ने संस्कृतिले समाजमा शत्रुता बढाउने र अन्ततः मुलुकलाई नै नोक्सान पुर्‍याउने उनको धारणा छ ।

देशको समग्र राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै खड्काले मुलुक गम्भीर संक्रमणकालबाट गुज्रिरहेको भन्दै लोकतन्त्र, संविधान र राष्ट्रिय एकता नै संकटमा पर्न सक्ने अवस्थाप्रति चिन्ता व्यक्त गरे । देश कतै गृहयुद्ध, जातीय द्वन्द्व वा धार्मिक द्वन्द्वतर्फ धकेलिने त होइन भन्ने प्रश्न गम्भीर बनेको पनि उनले बताए । २०७२ को संविधानमा सुधार र संशोधन आवश्यक भए पनि संविधान नै असफल भयो भन्ने धारणा गलत भएको उनको भनाइ छ । “संविधान जोगिनु नै मुलुकको स्थायित्व र भविष्यका लागि अपरिहार्य छ,” उनले भने ।

खड्काका अनुसार लोकतान्त्रिक व्यवस्था र संविधान संकटमा परेको अवस्थामा सबै लोकतन्त्रवादी शक्तिहरू साझा मुद्दामा एक ठाउँमा उभिन आवश्यक छ । राष्ट्रियता, परराष्ट्र नीति र लोकतान्त्रिक मूल्यमा साझा दृष्टिकोण नबन्दा असन्तोष र आन्दोलनहरू जन्मिने गरेको उनले बताए । पछिल्ला केही आन्दोलनका माग जायज भए पनि ती आन्दोलन प्रयोग हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

रामेछापको विकास एजेन्डाबारे बोल्दै खड्काले जिल्लामा पछिल्ला वर्षहरूमा विकासको गति केही बढे पनि त्यो पर्याप्त र व्यवस्थित नभएको बताए । सडक विस्तार भए पनि धेरै सडक धुले, अस्थायी र अव्यवस्थित अवस्थामा रहेको उनको भनाइ छ । “सडक खन्नु मात्र विकास होइन, दीगो र सुरक्षित संरचनासहित सम्पन्न गर्नु आवश्यक छ,” उनले भने ।

अबको प्राथमिकता वडा–वडाबीच, पालिका–पालिकाबीच र सदरमुकाम हुँदै काठमाडौँसम्म जोड्ने पहुँच मार्गलाई विकासको मेरुदण्डका रूपमा अघि बढाउनु रहेको बताउँदै आफू निर्वाचित भए पाँच वर्षभित्र ती मुख्य मार्गहरूलाई स्थायी संरचनासहित सम्पन्न गर्ने प्रतिबद्धतो जनाए । पदमा नपुगे पनि यसलाई आफ्नो मुख्य एजेन्डाका रूपमा निरन्तर उठाइरहने उनले बताए ।
रोजगारी सिर्जनाको विषयलाई खड्काले रामेछापको सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत गरेका छन् । आयआर्जनको स्रोत नबनाई आर्थिक रुपान्तरण हुन सक्दैन उनले भने । रोजगारीको अभावका कारण अभिभावक बाहिरिन बाध्य हुँदा बालबालिकाको शिक्षा र सामाजिक संरचना नै प्रभावित भएको उनले भनाइ छ ।

यसका समाधानका लागि उनले कृषिमा आधारित र पर्यटन केन्द्रित पाइलट प्रोजेक्ट अघि बढाउने योजना सार्वजनिक गरेका छन् । कृषिमा राज्यको प्रत्यक्ष सहभागिता रहने, खाली जग्गालाई समूहगत फार्मिङ प्रणालीमा प्रयोग गर्ने, किसानको जग्गाको सुरक्षा गर्ने र उत्पादनको बजार सुनिश्चित गर्ने उनको योजना छ । “किसानले उत्पादन गरेपछि बजारको चिन्ता गर्न नपर्ने व्यवस्था हुनुपर्छ,” उनले भने त्यसको लागि मेरो पहल रहने छ ।

उत्पादन भएको कृषि उपजलाई सिधै बजारसम्म पुर्‍याउन स्थानीय, प्रदेश र संघीय सरकारबिच समन्वय आवश्यक रहेको खड्काको भनाइ छ । दूध, तरकारी, सागसब्जी जस्ता उत्पादनलाई उचित मूल्यमा उपभाक्तासम्म पुर्‍याउन कोल्ड स्टोर, संकलन केन्द्र र ढुवानी व्यवस्थामा लगानी गर्नुपर्ने उनले बताए ।

त्यसैगरी पर्यटन विकासमार्फत होटल, सेवा र निर्माण क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । रामेछापलाई प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके जिल्लामै रोजगारीका अवसर बढ्ने उनले बताए ।

युवापुस्ताबारे खड्काले नयाँ पुस्ता शिक्षित, ऊर्जाशील र प्रविधिमा दक्ष रहेको स्वीकार गरे । तर अनुभवको महत्वलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ । अनुभव र युवाशक्तिको संयोजनले मात्र परिवर्तन सकारात्मक दिशामा जान सक्ने उनले बताए ।

खड्काले आफू निर्वाचित सांसद नभए पनि विगतमा जिल्लाको विकासका लागि विभिन्न राजनीतिक दल, प्रशासन र सरोकारवालाबीच समन्वयकारी भूमिका निर्वाह गरेको दाबी गरे । उपभोक्ता समितिबाट चन्दा नलिने र ठेकेदार तथा कर्मचारीसँग अनुचित लेनदेन नगर्ने नीति आफूले सधैँ अपनाएको उनले स्पष्ट गरे ।

जिल्लामा अलपत्र परेका कभर्ड हल, चिस्यान केन्द्र र विभिन्न सडक योजनाबारे बोल्दै खड्काले राजनीतिक संरक्षण, ठेकेदारको लापरवाही र राज्यको कमजोर उपस्थितिलाई मुख्य कारण भएको बताए । काम नगर्नेलाई कारबाही र काम गर्नेलाई प्रोत्साहन गर्ने संस्कार बसाल्नुपर्ने बताए ।

चुनावी खर्चका विषयमा खड्काले खर्चिलो निर्वाचन प्रणालीले भ्रष्टाचारलाई प्रोत्साहन गर्ने भन्दै पैसा बाँडेर चुनाव जित्ने संस्कृतिको अन्त्य आवश्यक रहेको बताए । उनले रामेछापेली जनतालाई आफूलाई अवसर दिन आग्रह गर्दै इमानदार, समन्वयकारी र उदाहरणीय जनप्रतिनिधि बनेर देखाउने बताए । उनले भने मलाई जिताएर बनाउनु होस्, जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने कुरा म उदाहरण बनेर देखाउने छु । मबाट भाइ पुस्ताहरुले सिक्ने छन् उनले भने ।

प्रतिक्रिया दिनुहोस्