रामेछाप- रामेछाप उद्योग वाणिज्य संघको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उद्योग तथा व्यापार क्षेत्रको साझा संस्थाका रूपमा रहेको संघको वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले लोकतान्त्रिक व्यवस्थामा विचार र आकांक्षामा विविधता हुनु स्वाभाविक भए पनि साझा उद्देश्यका लागि सहकार्य अपरिहार्य रहेको बताइन् । संघभित्र प्रवेश गर्नुअघि सबै पक्षलाई समेट्ने संस्कार विकास गर्नुपर्ने र निर्वाचित भएपछि निष्पक्ष ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो ।
“संस्थागत विश्वसनीयता कायम गर्न सबैलाई समान दृष्टिले हेरी पक्षपातरहित काम गर्न आवश्यक हुन्छ,” उनले भनिन् । साथै, कृषकका उत्पादनको बजारीकरणमा उद्योग वाणिज्य संघ, स्थानीय तह र राजनीतिक दलहरुबिच प्रभावकारी समन्वय हुनुपर्ने प्रमुख अतिथि कार्कीको कथन थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय इन्धनको मूल्यवृद्धिले व्यवसायी र उपभोक्ता दुवैलाई गम्भीर असर पारेको बताए । कार्यक्रमका विशिष्ट अतिथि रहेका श्रेष्ठले बढ्दो इन्धन मूल्यका कारण बजार मूल्य वृद्धि, ढुवानी खर्च र दैनिक उपभोग्य वस्तुको लागतमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गरे ।
उनले इन्धनको मूल्य नियन्त्रण वा व्यवस्थापन हुन सकेमा बजारमा वस्तु तथा सेवाको मूल्य स्वतः सुलभ हुने पनि बताए । “इन्धनको मूल्यवृद्धि नै अहिलेको महँगीको प्रमुख कारण हो, यसलाई सम्बोधन गर्न सके आम उपभोक्ताले ठूलो राहत पाउँछन्,” उनले भने ।
निजी क्षेत्र र स्थानीय सरकारबिचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा पनि उनले जोड दिए । स्थानीय तहसँग समन्वय गरेर उत्पादन, वितरण र बजार व्यवस्थापनका क्षेत्रमा धेरै काम गर्न सकिने उल्लेख गर्दै उनले मन्थली नगरपालिकाले उठाएका सहकार्यका प्रस्तावहरू सकारात्मक रहेको बताए ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको व्यवसायसँग सम्बन्धित कार्यक्रमको प्रशंसा गर्दै उक्त कार्यक्रम लागू भएमा व्यवसाय क्षेत्रमा ठूलो परिवर्तन आउने बताए । विशेषगरी कर प्रणालीलाई व्यवस्थित गर्ने, व्यवसायलाई प्रोत्साहन गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा ल्याइएका बुँदाहरूलाई उनले सकारात्मक रूपमा व्याख्या गरे । “अर्थमन्त्रीले ल्याएका नीतिहरू प्रभावकारी रूपमा लागू भए भने व्यवसाय क्षेत्रले नयाँ गति लिन्छ,” उनले भने ।
त्यसैगरी, जिल्लामा उत्पादन भएका वस्तुहरूको उचित व्यवस्थापन, आयात–निर्यात प्रणाली सुधार तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिन उद्योग वाणिज्य संघ र स्थानीय सरकारबिच सहकार्य आवश्यक रहेको उनले बताए । निजी क्षेत्रलाई केन्द्रमा राखेर आर्थिक गतिविधि विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले स्थानीय उत्पादनको संरक्षण र बजार विस्तारबिना आर्थिक समृद्धि सम्भव नहुने बताए । उनले भने– जिल्लामा उत्पादन हुने खाद्यान्न, तरकारी, दूध तथा अन्य वस्तुहरूको यथार्थ तथ्याङ्क संकलन गरी आत्मनिर्भरता कति समयसम्म सम्भव छ भन्ने विश्लेषण गर्न आवश्यक छ ।
“अभाव भएका वस्तु मात्रै बाहिरबाट आयात गर्ने नीति अपनाएमा स्थानीय उत्पादनलाई प्रवर्धन गर्न सकिन्छ,” उनले भने । साथै, स्थानीय उत्पादन महँगो र बाह्य उत्पादन सस्तो हुनुका कारण पहिचान गरी लागत तथा मूल्य व्यवस्थापनमा सुधार गर्नुपर्ने नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सार्वजनिक र निजी क्षेत्रबिचको सहकार्यलाई दिगो आर्थिक विकासको आधारका रूपमा व्याख्या गरे । विगतका विभिन्न सङ्कट—सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारी—का बाबजुद निजी क्षेत्रले अर्थतन्त्रमा निरन्तर योगदान दिँदै आएको प्रजिअ थापाले बताए ।
“निजी क्षेत्रले कर तिरेर राज्यप्रति दायित्व पूरा गर्नुका साथै उपभोक्ता र उत्पादकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भने । आगामी दिनमा सरकारी निकाय र निजी क्षेत्रबिचको साझेदारी अझ सुदृढ बनाउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउनु आवश्यक छ ।
साधारण सभाले संघका कार्यसमिति सचिवद्धारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्षद्धारा प्रस्तुत् गरिएको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार थापा मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदस्य राजकुमार न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ समीक्षा श्रेष्ठ, नेपाली कांग्रेसका पार्टी उपसभापति लेखबहादुर कार्की, नेकपा एमालेका उपाध्यक्ष होतराज ढकाल, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि हेमन्त पौडेल, राप्रपाका प्रतिनिधि किरण ढुङ्गेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिफा घिसिङ, गैसस महासंघका अध्यक्ष रत्नप्रसाद कडेल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामचन्द्र कँडेल, छिमेकी जिल्ला दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायणदास श्रेष्ठ, निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरे लगायतका वक्ताहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
साथै साधारणसभाको अवसरमा विभिन्न व्यवसायी तथा जनप्रतिनिधिलाई सम्मान समेत गरिएको छ । सम्मान कार्यक्रम अन्तर्गत रामेछाप उद्योग वाणिज्य सङ्घलाई आर्थिक तथा प्राविधिक सहयोग गरे वापत मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष होमप्रसाद पौडेललाई सम्मान गरिएको छ भने सङ्घमा पुर्याएको योगदानको कदर गर्दै निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरे र निवर्तमान महासचिव नवराज ढुङ्गेललाई सम्मान गरिएको छ । त्यसैगरी नियमित २० वर्षभन्दा लामो समय रामेछाप उद्योग वाणिज्य सङ्घको सदस्यता नवीकरण गरेको साथै व्यवसायलाई निरन्तरता दिए वापत रामजीवन साह, गणेशबहादुर थापा, त्रणध्वज चौहान, रामगोपाल श्रेष्ठ र टंकबहादुर श्रेष्ठलाई सम्मान गरिएको हो ।
