Logo

निर्वाचनमा पराजित भएका श्रेष्ठले मतदाता र सरोकारवालाहरुलाई दिए धन्यवाद



रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको ९ औँ अधिवेशनअन्तर्गत शुक्रवार सम्पन्न निर्वाचनमा पराजित भएका अध्यक्ष पदका उम्मेदवार कुमार श्रेष्ठले मतदाता, उद्योगी, व्यवसायी र सरोकारवालाप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् । शुक्रवार सम्पन्न निर्वाचनलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण उद्योगी, व्यवसायी मतदाता सदस्यहरू, सङ्घका पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू, कर्मचारीहरू, निर्वाचन समिति तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरेका हुन् ।

निर्वाचन प्रक्रियालाई मर्यादित, व्यवस्थित र सफल बनाउन सबै पक्षबाट प्राप्त साथ र सहयोगले सङ्घको गरिमा अझ उचो बनाएको उनको भनाइ छ । उनले यसपटकको निर्वाचनले सङ्घभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाएको उल्लेख गर्दै सहभागी सबैप्रति सम्मान व्यक्त गरेका छन् ।

यसैबिच, निर्वाचनबाट विजयी भएका अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई उनले बधाई दिएका छन् । नव–निर्वाचित नेतृत्वको सफल कार्यकालको कामना गर्दै श्रेष्ठले उनीहरूको नेतृत्वमा रामेछाप जिल्लामा व्यवसायिक वातावरण थप सुदृढ, व्यवस्थित र समृद्ध बन्ने विश्वास व्यक्त गरेका छन् । साथै, व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्धन तथा समग्र आर्थिक गतिविधि विस्तारमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

कुमार श्रेष्ठले व्यवसायीहरूको हितका लागि गरिने हरेक निर्णय र गतिविधिमा आफ्नो साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता समेत जनाएका छन् । व्यक्तिको हार–जितभन्दा माथि उठेर लोकतान्त्रिक पद्धति र प्रणालीको विजय भएको उल्लेख गर्दै यसलाई प्रजातन्त्रको सुन्दर पक्षका रूपमा उनले व्याख्या गरेका छन् ।

निर्वाचनलाई एउटा प्रक्रिया मात्र भएको उल्लेख गर्दै उनले सबैको साझा लक्ष्य रामेछापको समृद्धि, व्यवसायको विकास र व्यवसायीहरूको उन्नति भएको बताएका छन् । त्यसका लागि सम्पूर्ण व्यवसायीहरू एकजुट भइ सङ्घलाई अझ मजबुत बनाउँदै अगाडि बढ्नुपर्नेमासमेत उनले जोड दिएका छन् । साथै, उनले सम्पूर्ण मतदाताहरूलाई पुनः धन्यवाद दिँदै आउँदै गरेको नव वर्ष २०८३ सालको शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्