Logo

माध्यमिक विद्यालय राकाथुमको एसइई नतिजामा उल्लेख्य सुधार



रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुममा रहेको माध्यमिक विद्यालय राकाथुमले यस वर्षको एसइई नतिजामा उल्लेख्य सुधार ल्याएको छ ।
स्थानीय सरकार गठन भएयता खाँडादेवी गाउँपालिका अन्तर्गत सँधै उत्कृष्ट बन्दै आएको माध्यमिक विद्यालय राकाथुमले शैक्षिक गुणस्तरलाई वृद्धि गर्दै लगेको छ । जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिने राकाथुमको उक्त विद्यालयले साधारणतर्फ रामेछाप जिल्लामै प्रथम र प्राविधिक धारलाईसमेत गणना गर्दा दोस्रो स्थान हासिल गरेको विद्यालयका प्रधानाध्यापक चक्रलाल श्रेष्ठले जानकारी दिए ।

प्रधानाध्यापक श्रेष्ठका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी ३१ जना विद्यार्थीमध्ये  २१ जना ३.६ देखि ४.० जिपिएसम्म  र १० जना ३.२ देखि ३.६ जिपिएसम्म ल्याएर उत्तीर्ण भएका छन्‌ ।


प्रधानाध्यापक श्रेष्ठले विगतको तुलनामा यस वर्षको नतिजा अझै सुधारिएको बताए । उनकाअनुसार गत वर्ष ३२ जना विद्यार्थीमध्ये १४ जनाले मात्र ‘ए प्लस’ ल्याएका थिए भने एक जनाले ‘बी प्लस’ प्राप्त गरेका थिए । यस वर्ष भने सबै विद्यार्थीले उत्कृष्ट ग्रेड ल्याएर उत्तीर्ण भएको उनले बताए ।

विद्यालय स्रोतकाअनुसार स्थानीय तह गठन भएयता खाँडादेवी गाउँपालिकामा उक्त विद्यालय पालिकामै निरन्तर उत्कृष्ट नतिजासहित प्रथम हुँदै आएको छ । त्यसयता विद्यालयले शैक्षिक सुधार, नियमित अनुगमन, शिक्षकको सक्रियता र विद्यार्थीको मेहनतका कारण राम्रो नतिजा निकाल्दै आएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।


दुर्गम क्षेत्रमा अवस्थित विद्यालय भए पनि पछिल्ला वर्षहरूमा शैक्षिक उपलब्धिमा निरन्तर सुधार हुँदै गएको अभिभावकहरू बताउँछन् । शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन सम्भव भएको विद्यालयको भनाइ छ । विद्यालयले साधारण धारमा राम्रो नतिजा ल्याएर जिल्लास्तरमै आफ्नो पहिचान स्थापित गरेको जनाएको छ ।

उक्त विद्यालयले  गुणस्तर वृद्धि गर्नुका साथसाथै आवसीय विद्यालयको अवधारणाअनुसार सिमान्तकृत माझी समुदायको बालबालिकासहित करिब ३ जिल्लाका आर्थिक अवस्था कमजोर भएका करिब २५ जना बालबालिकाहरुलाई कक्षा २ देखि ९ सम्म आवासीय रुपमा अध्यापन गराउन सुरु गरिएको पनि प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए । उक्त विद्यालयले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत लुगाधुने साबुन उत्पादन समेत गर्दै आएको छ । विद्यालय परिवारले आगामी वर्ष अझ राम्रो नतिजा ल्याउने लक्ष्यका साथ शैक्षिक गतिविधि अघि बढाइने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्