Logo

खाँडादेवी गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सम्पन्न



रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहीता नेटवर्क (सान) नेपालको सहजिकरण र खाँडादेवी गाउँपालिकाको सहयोगमा सामाजिक परीक्षण सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८२/०८३ को पालिकाका ८ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिएको हो । स्वास्थ्य सेवाको न्यूनतम मापदण्ड २०७६ तथा स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता संघीय मार्गदर्शन, २०७७ को आधारमा सामाजिक परीक्षण गरिएको थियो । स्वास्थ्य क्षेत्रमा सामाजिक परीक्षण स्वास्थ्य सेवाप्रदायक निकायको नीति, कानुन, पद्धति, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन आदिको नियमितता, पारदर्शिता र प्रभावकारिता बारेमा गरिएको सामाजिक परीक्षक तथा सान नेपालका महासचिव तिलक कार्कीले बताए । सामाजिक परीक्षण सेवाग्राही, सेवाप्रदायक र सरोकारवालाहरू सबैको धारणाका आधारमा विश्लेषणात्मक लेखाजोखा गर्नका लागि गरिएको सामाजिक परीक्षक कार्कीले बताए ।

कर्मचारी, जनप्रतिनिधि, व्यवस्थापन पक्षलाई उत्तरदायी बनाउने साथै सेवाग्राहीको धारणा, सन्तुष्टि मापन गर्ने औजारका रुपमा रहेको सामाजिक परीक्षण सीमित स्रोतमा ८ वटा संस्थामा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश श्रेष्ठले बताए । राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्ष साथै स्वास्थ्य क्षेत्रका ससाना कुराहरु पनि औँल्याइएको छ । कतिपय कर्मचारी सच्चिनु पर्ने, काम नगरिदिँदा संस्था र व्यक्तिको छवि नकारात्मक रुपमा झल्कने श्रेष्ठले बताए । बजेट निकासा, स्टिमेट स्वीकृत गराउन प्रमुख प्रशासकीय अधिकृत फेरिँदा समस्या भएको छ । खरिद प्रक्रियामा स्टक, खरिद आवश्यकता निर्धारण गरिएको छ साथै तत्कालै खरिद गर्नुपर्ने ऐन संशोधन गरिसकिएको श्रेष्ठले बताए । दीर्घरोगीको औषधि संघीय र प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने तर नआएकाले पालिकाले खरिद गरी नियमितता गरिएको छ । स्वास्थ्य संस्था थपिएका छन्, जनशक्ति व्यवस्थापन कसरी गर्ने चुनौती रहेको छ । सामाजिक परीक्षणका कारण नागरिकले गुनासो पोख्ने ठाउँ भएको र सशक्तीकरण समेत बढेकाले आगामी वर्षमा पनि बजेटको व्यवस्थापन गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।

स्वास्थ्य शाखा संयोजक प्रकाश श्रेष्ठले सेवा प्रवाहमा सकारात्मकता ल्याउन र जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्यकर्मी मात्र नभई समग्र व्यवस्थापन पक्षको लेखाजोखा गर्ने साधन तथा अनिवार्य शर्तको रुपमा सामाजिक परीक्षण गरिएको बताए । स्वास्थ्य संस्थामा मसलन्द व्यवस्थापन नभएको, विद्युत् महसुल तिर्न समस्या भएको, करारका कर्मचारीबाट सेवा दिनुपर्दा चुनौती रहेको बताए ।

पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले सामाजिक परीक्षण नतिजा सार्वजनिकीकरण कार्यक्रममा आठ वटा स्वास्थ्य संस्थाहरुले गरेका कामहरुको बारेमा सेवा प्रवाहको गुणस्तरीयता, व्यवस्थापन पक्ष, जवाफदेहिता, पारदर्शिता बोध गराउन सामाजिक परीक्षण गराउने सान नेपाल र पालिकाको साझेदारीमा सञ्चालन भएकोमा खुशी लागेको बताए । नागरिकहरुले चासो, जिज्ञासा, असन्तुष्टि, गुनासो प्रत्यक्ष, लिखित तथा सामाजिक सञ्जालमार्फत पोख्ने गरेका छन् जसलाई सम्बोधन गर्न स्वास्थ्य क्षेत्रमा बजेट पालिकाले छुट्याएको बताए । जनतासँग अध्यक्ष कार्यक्रमबाट स्वास्थ्य शाखामा अत्यावश्यक औषधि, उपकरण एवं सामग्री खरिद गर्न योजना ल्याउन आग्रह समेत गरे । स्वास्थ्यकर्मीहरुले गरेको कार्यालय व्यवस्थापन, सेवा दिएकोमा खुशी व्यक्त गरे । बिग्रेको एम्बुलेन्सका बारेमा नागरिकको गुनासो आलोचना आएपछि चुस्त राखिएको छ । एम्बुलेन्स पालिकामा नभए अन्यत्रबाट ल्याए पनि सेवा शुल्क पालिकाको बराबर तिर्ने र बाँकी रकम पालिकाले तिर्ने बताए । अध्यक्ष श्रेष्ठले चाहिनेभन्दा बढी बजेट छुट्टाइ पनि प्रस्तावित अस्पताल बन्न नसकेको चिन्ता समेत व्यक्त गरे । सामाजिक परीक्षणबाट प्रक्रियामा सेवा प्रदान गर्ने क्रममा प्राप्त उपलब्धि तथा सुधारात्मक पक्षहरुलाई पारदर्शी रुपमा राखिदिएकोमा धन्यवाद व्यक्त गरे । मोबाइल हस्पिटल बस्तीमा विज्ञहरु गएर शिविर सेवा दिनका लागि प्रयत्न गरिएको छ । स्वास्थ्य सेवाप्रदायक निकायको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालनको नियमितता, पारदर्शिता र प्रभावकारिताबारे सेवाग्राही, सेवाप्रदायक, व्यवस्थापक पक्ष र सरोकारवालाहरु सबैको धारणा लिई तयार गरेको प्रतिवेदन, दिइएका सल्लाह सुझाव कार्यान्वयन गर्न तयार रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्