रामेछाप- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा स्थापना गरिएको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरिएको छ।
प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित उक्त पुरस्कार बिहीबार मन्थलीमा आयोजित विशेष समारोहमा पौडेललाई २५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्रसहित प्रदान गरिएको हो।
पुरस्कार ग्रहणपछि पौडेलले मुलुक जटिल राजनीतिक तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेका बेला जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको बताए। नेपाली पत्रकारिता विभिन्न प्रकारका अवरोध र आत्मनियन्त्रणको चुनौतीबीच अघि बढिरहेको उल्लेख गर्दै उनले सत्य र तथ्यमा आधारित पत्रकारिताले ती चुनौती पार गर्न सक्ने विश्वास व्यक्त गरे।
प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामाले पुष्पलाल श्रेष्ठ राष्ट्रिय सीमाभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताए। पुष्पलालको विचार र योगदानलाई विश्वसामु चिनाउन नेपाली सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले पुरस्कृत पत्रकार पौडेलले पनि त्यस अभियानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज माधव ढुङ्गेलले पुष्पलालको जन्मभूमि रामेछापलाई राजनीतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए। उनले पुष्पलालले अघि सारेको वाम–लोकतान्त्रिक शक्तिको सहकार्यको अवधारणा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै वर्तमान राष्ट्रिय चुनौती समाधानका लागि संविधान पक्षधर लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनका कमजोरीको इमानदार समीक्षा आवश्यक रहेको बताए। समीक्षा नगरी हुने गठबन्धन वा पार्टी एकताले दीर्घकालीन उपलब्धि नदिने र सत्ता स्वार्थमा आधारित राजनीतिक सहकार्यले आन्दोलनलाई थप जटिल बनाउने उनको भनाइ थियो।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल, प्रेमबहादुर तामाङ र ज्ञानकुमार श्रेष्ठ, पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष होतराज ढकाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष तिलकराम रिमाल, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपक घिमिरे तथा पूर्वअध्यक्ष बद्री नयाँघरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
यसै अवसरमा पुरस्कार कोष स्थापना गर्न सहयोग गर्ने नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी रत्न गौतमलाई सम्मानपत्र प्रदान गरिएको थियो। गौतमले पुरस्कार कोषका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पाँच वर्षसम्म वार्षिक एक लाख रुपैयाँका दरले रकम जम्मा गर्ने घोषणा गरेका छन्। पहिलो वर्षको रकम भने उनले कोषमा जम्मा गरिसकेको आयोजकले जनाएको छ।
