Logo

विद्यार्थीको प्रतिभा पहिचान गर्न केब्स स्कूलमा विद्यार्थी प्रतिभा प्रदर्शनी कार्यक्रम



रामेछाप- राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा मन्थलीस्थित केब्स स्कूलले विद्यार्थी प्रतिभा प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा पहिचान, प्रदर्शन तथा बाल अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल केशव तिमल्सिनाले जानकारी दिए ।

भाद्र २९ गते तीज पर्व परेकाले विद्यालयमा बिदा रहने भएपछि राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम भाद्र २६ गते शुक्रवार नै गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको आयोजना केब्स बाल समूहले गरेको हो ।


केब्स बाल समूहका अध्यक्ष शिसाङ मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल केशव तिमल्सिना प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा स्कूल क्याप्टेन युनिशा श्रेष्ठ, विभागीय इञ्चार्जहरू तथा विभिन्न क्याप्टेन कमिटीका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले बाल अधिकारका विषयमा वक्तृत्वकला प्रस्तुत गरेका थिए । बालबालिकाको अधिकार, उनीहरूको संरक्षण, शिक्षा तथा समाजमा बालबालिकाको भूमिकालगायत विषयमा विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए । वक्तृत्वमार्फत विद्यार्थीहरूलाई बाल अधिकारका विषयमा जानकारी गराउँदै आफ्ना विचार व्यक्त गर्ने अवसरसमेत प्रदान गरिएको थियो ।


त्यसैगरी कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक तथा अतिरिक्त प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको थियो । कार्यक्रममा गायन, नृत्य, चित्रकला तथा हस्तकलालगायतका प्रतिभा प्रदर्शन गरिएको थियो । विद्यार्थीहरूले तयार पारेका चित्र तथा हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए ।

कार्यक्रममा खुला हाजिरीजवाफ प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । हाजिरीजवाफमार्फत विद्यार्थीहरूको सामान्य ज्ञान, बौद्धिक क्षमता तथा तत्काल सोचेर उत्तर दिने क्षमताको परीक्षण गरिएको विद्यालयले जनाएको छ । विभिन्न विधामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।


केब्स स्कूलले शैक्षिक ज्ञानसँगै विद्यार्थीहरूको वृहत्तर विकासका लागि नियमित रूपमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । विद्यार्थीभित्र लुकेका प्रतिभाको पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले विद्यालयले गायन, नृत्य, चित्रकला, हस्तकला, वक्तृत्व, हाजिरीजवाफलगायतका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

विद्यालयका अनुसार विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कक्षाकोठाभित्रको शैक्षिक सिकाइसँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता, सिर्जनशीलता, प्रस्तुति क्षमता र सामाजिक व्यवहार विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ ।


केब्स स्कूलले उत्कृष्ट शैक्षिक गुणस्तरसँगै बालबालिकाको सर्वाङ्गीण विकासका गतिविधिमा समेत अब्बल प्रदर्शन गर्दै आएकोे छ । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको रुचि, क्षमता र प्रतिभा पहिचान गरी उनीहरूलाई प्रोत्साहित गर्ने खालका अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गरिएको प्रतिभा प्रदर्शनी कार्यक्रमले विद्यार्थीलाई आफ्ना क्षमता र प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै बाल अधिकारका विषयमा समेत सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको विद्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्