Logo

साहारा साकोसको २१ औं साधारण सभा सम्पन्न



रामेछाप- साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २१ औं साधारण सभा सम्पन्न भएको छ । रामेछाप र मन्थली नगरपालिका कार्यक्षेत्र रहेको सहकारीले ६ वटा इकाईअन्तर्गत ३१ वटा केन्द्रमा साधारण सभा बैठक सम्पन्न गरी मन्थलीमा निर्णय प्रमाणीकरण गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा वार्षिक कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । सभामा संस्थाको वित्तीय तथा गैरवित्तीय योजना, आयव्यय विवरण, आन्तरिक लेखा परीक्षण प्रतिवेदन तथा अघिल्लो आर्थिक वर्षको कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

संस्थाका सचिव तिलक कार्कीका अनुसार आर्थिक वर्ष २०८२/०८३ सम्म सहकारीको कुल सम्पत्ति ३७ करोड ४३ लाख ६८ हजार ८ सय ४३ रुपैयाँ पुगेको छ । संस्थाको शेयर पूँजी २ करोड ६९ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड २८ लाख ६९ हजार ५ सय १३ रुपैयाँ रहेको छ ।

त्यस्तै, सहकारीमा ३० करोड ५० लाख ५५ हजार ९ सय ४४ रुपैयाँ बचत निक्षेप रहेको छ । संस्थाले २५ करोड ६६ लाख ७१ हजार ६ सय ७० रुपैयाँ ऋण लगानी गरेको सचिव कार्कीले जानकारी दिए । संस्थाको सञ्चालित खुद मुनाफा ४ लाख १७ हजार ७३ रुपैयाँ रहेको उनले बताए ।

२०६२ साल माघ १३ गते सामुदायिक विकास समाज तथा लक्षित समुदायका प्रतिनिधिको पहलमा स्थापना भएको सहकारीमा हाल ५ हजार ४ सय २६ जना शेयर सदस्य रहेका छन् । सहकारीले नीति, विधि र प्रविधिलाई प्राथमिकतामा राखेर संस्थागत गतिविधि अघि बढाइरहेको जनाएको छ ।

साधारण सभामा कोषाध्यक्ष चुक्तबहादुर मगरले आर्थिक वर्ष २०८२/०८३ को आयव्यय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । उक्त विवरण र बजेट सर्वसम्मत रूपमा पारित भएको जनाइएको छ । लेखा सुपरिवेक्षण समितिका संयोजक गम्भीर विकले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निर्णय प्रमाणीकरण बैठक तथा २१ औं साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले सहकारी अभियानका अवसर, चुनौती तथा त्यसको सामना गर्न गर्नुपर्ने कामबारे चर्चा गरेका थिए ।

त्यस्तै, जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले सहकारी शिक्षा र वित्तीय साक्षरतामा जोड दिँदै सदस्यलाई संस्थाका गतिविधिबारे नियमित जानकारी गराउन आग्रह गरे । उनले सहकारी अभियानलाई थप प्रभावकारी बनाउन, सहकारीका असल अभ्यासको प्रचारप्रसार गर्न तथा सञ्चालक र कर्मचारीको क्षमता विकासमा ध्यान दिनुपर्ने बताए ।

सभामा संस्थाका सल्लाहकार केशव तिमल्सिना र होतराज ढकालले शुभकामना मन्तव्य दिएका थिए । साधारण सभा तथा निर्णय प्रमाणीकरण बैठकमा संस्थाका व्यवस्थापक बलराम लामाले प्रस्ताव तथा निर्णय प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्ताव र निर्णय सर्वसम्मत रूपमा पारित भएको सहकारीले जनाएको छ ।

संस्थाका उपाध्यक्ष कमलबहादुर मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्