Logo

अर्थपूर्ण उम्मेदवारी : महाधिवेशन प्रतिनिधिमा ई. नारायणकुमार घिमिरे



रामेछाप- नेपाली काङ्ग्रेसको १५औँ अन्तर्गत रामेछापबाट महाधिवेशन प्रतिनिधि (विज्ञ तथा पेशागत समूह) पदका लागि इन्जिनियर नारायणकुमार घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । इन्जिनियरिङ क्षेत्रको अनुभवसँगै लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका घिमिरेले रामेछापको विकास, सुशासन र पार्टी सङ्गठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर उम्मेदवारी अघि बढाएक हुन् ।

घिमिरेले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा रामेछापका विकासका मुद्दालाई राष्ट्रिय राजनीतिक तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने, विज्ञ तथा पेशागत क्षेत्रको सहभागिता बढाउने र काङ्ग्रेस संगठनलाई समयअनुकूल तथा परिणाममुखी बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले व्यक्तिभन्दा विचार, गुटभन्दा संगठन र स्वार्थभन्दा जनहितलाई प्राथमिकता दिने बताएका छन् ।

इन्जिनियरिङ पेशासँगै राजनीतिमा सक्रिय घिमिरेले रामेछापको समग्र विकासका लागि पूर्वाधार, शिक्षा, रोजगारी, प्रविधि, पर्यटन तथा स्थानीय तहको क्षमता अभिवृद्धिलाई प्राथमिकताका साथ उठाउँदै आएको बताइएको छ । इन्जिनियरका रूपमा प्राप्त प्राविधिक ज्ञान र अनुभवलाई नीति निर्माण तथा विकास योजनासँग जोड्दै जिल्लाका सम्भावना र चुनौतीलाई पार्टीको राजनीतिक बहसमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने उनको धारणा छ ।

विशेषगरी विकास निर्माणमा गुणस्तर, पारदर्शिता र दीर्घकालीन योजनाको आवश्यकता रहेकोमा घिमिरेले जोड दिँदै आएका छन् । उनको उम्मेदवारीले विज्ञ तथा पेशागत क्षेत्रबाट पार्टी संगठनमा प्राविधिक ज्ञान, अनुभव र नयाँ दृष्टिकोणलाई थप प्रभावकारी रूपमा जोड्ने अपेक्षा गरिएको छ ।

घिमिरे लामो समयदेखि नेपाली काङ्ग्रेसको राजनीति तथा संगठनमा सक्रिय रहँदै आएका छन् । उनी २०७० सालमा थापाथली इन्जिनियरिङ क्याम्पसको इकाइ अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७३ सालमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसिएसनको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै, २०७९ सालमा नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि, रामेछापमा निर्वाचित भएका घिमिरे २०८० सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए । इन्जिनियरिङ पेशा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका घिमिरेले इन्जिनियरिङ म्यानेजमेन्ट र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।

विज्ञ तथा पेशागत समूहबाट महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएका घिमिरेले काङ्ग्रेसभित्र प्राविधिक तथा विज्ञ जनशक्तिको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएका छन् । रामेछापको विकास र पार्टी संगठनमा विज्ञ तथा प्राविधिक जनशक्तिको सहभागिताका दृष्टिले उनको उम्मेदवारीलाई जिल्लाभित्र चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्