रामेछाप- नेपाली काङ्ग्रेस देउवा पक्षले रामेछापमा पार्टी सम्पर्क कार्यालय स्थापना गरेको छ । देउवा पक्षले बिहिवार सदरमुकाम मन्थलीमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय स्थापना गरेको हो । नेपाली काङ्ग्रेस रामेछापका सभापति तथा निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छाराम र देउवा पक्ष रामेछापका संयोजक जितबहादुर थापामगरले संयुक्त रूपमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।
सम्पर्क कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस रामेछापका सभापति तथा निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनका लागि रामेछापमा शेरबहादुर देउवा पक्षले तयारी थालेको जानकारी दिए । १५औँ जिल्ला अधिवेशन तयारी समितिले जिल्लाका सातवटै स्थानीय तह र ६४ वटै वडामा अधिवेशनको तयारी गरेको पनि उनले जानकारी दिए ।
नेता तामाङले भने– शेरबहादुर देउवाको नेतृत्व र डा. शशाङ्क कोइरालाको संयोजकत्वमा पार्टीको विधानअनुसार महाधिवेशनको तयारी भइरहेको छ । उनले देशका ७७ वटै जिल्लामा अधिवेशनको तयारी भइरहेको बताए ।
दसैँ र तिहारको बिचमा जिल्ला तथा पालिका सम्मेलन गर्ने र मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारीमा पार्टी जुटेका नेता तामाङले जानकारी दिए । उनले रामेछापमा काङ्ग्रेसको जनमत अझै बलियो रहेको दाबी गर्दै २०७४ को निर्वाचनमा आफूले ३५ हजार ७ सय ७१ र गठबन्धनबाट भएको निर्वाचनमा ४७ हजार १ सय मत प्राप्त गरेको उल्लेख गरे ।
कार्यक्रममा उनले आफू सांसद र मन्त्री हुँदा जिल्लामा ल्याइएको विकास बजेटको विवरणसमेत प्रस्तुत गरेका थिए । मन्थली–१ मा खानेपानीका लागि ५ करोड, मन्थली–२ र ३ का लागि ५० करोडको बहुवर्षीय आयोजना तथा सडक र पुल निर्माणका लागि विभिन्न बजेट ल्याइएको उनले बताए ।
उनले पत्रकारलाई तथ्यमा आधारित भएर विकासका समाचार लेख्न आग्रह गर्दै रामेछापको विकास र हितमा सबै मिलेर काम गर्नुपर्ने बताए । गगन थापालाई विशेष महाधिवेशन गर्ने अधिकार नभएको भन्दै विशेष महाधिवेशन पार्टीको विधानविपरीत भएको उनको भनाइ थियो । आफैँहरू पार्टी फुटाउने पक्षमा नरहेको भन्दै अझै पनि पार्टी एकताबद्ध भएर अघि बढ्नेमा आफू आशावादी रहेको तामाङले बताए ।
नेपाली काङ्ग्रेस रामेछापका नेता कृष्ण महतले विशेष महाधिवेशन विधि–विधानविपरीत भएकाले देउवा पक्षले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएको बताए । उनले विशेष महाधिवेशनले पार्टीभित्र तिक्तता बढाएको भन्दै आफूहरू विधि र विधानको पक्षमा उभिएको बताए । उनले भने– केन्द्रीय कार्यसमितिको बैठकमा नियमित १५औँ महाधिवेशन गर्ने निर्णयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समेत हस्ताक्षर गर्नुभएको थियो तर त्यसको केही दिनपछि विशेष महाधिवेशन गर्ने घोषणा गर्नुभयो यो पार्टीको विधानविपरीत छ ।
उनले विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि निर्वाचन आयोग र अदालतबाट त्यस पक्षले वैधानिकता पाए पनि विवाद समाधानका लागि सहमतिको प्रयास जारी रहेको बताए । सर्वोच्च अदालतमा काङ्ग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा विचाराधीन रहेको र ‘निस्सा’ समेत जारी भएकाले फैसला नआएसम्म एकताको प्रयास हुनुपर्ने उनको भनाइ थियो ।
काङ्ग्रेस रामेछापका अर्का नेता झनक श्रेष्ठले गगन थापाले विशेष महाधिवेशनबाट नेतृत्व लिएपछि उत्पन्न अवस्था आफूहरूलाई स्वीकार नभएको बताए । विशेष महाधिवेशन अवैधानिक भएको उनले दाबी गरे ।
“हामी अन्यायमा पर्यौँ, न्याय पाऊँ भनेर अदालत गएका छौँ । निस्सा पाएका छौँ–” उनले भने, “देउवा पक्षले आधिकारिकता पाउने आशा छ ।” गगन थापाले उदारता देखाएर विवाद समाधानका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो । “छाती ठूलो गरेर मिलाउन चाहँदा अझै पनि मिलाउन सकिन्थ्यो,” उनले भने ।

देउवा पक्ष रामेछापका संयोजक जितबहादुर थापामगरले नेपाली काङ्ग्रेसको मौलिकता र पार्टीको वास्तविक भावना देउवा पक्षमा भएको दाबी गरे । उनले भने, “काङ्ग्रेसको मन यहीँ छ, काङ्ग्रेसको मस्तिष्क यहीँ छ । काङ्ग्रेसको ओरिजिनालिटी यहीँ छ ।”
उनले गगन समूहलाई लक्षित गर्दै उनीहरूलाई पार्टीलाई विभाजनतर्फ लैजाने गतिविधि नगर्न आग्रह गरे । “तपाईंहरू यति धेरै जिद्दी किन गर्नुहुन्छ ? तपाईंहरूको यो जिद्दीले हाम्रो पार्टीलाई कहाँ पुर्याउँछ ?” उनले गगन समूहलाई प्रश्न गरे ।
उनले पार्टीको वैधानिकता, निर्वाचन चिह्न र महाधिवेशनका विषयमा कार्यकर्तालाई भ्रममा पार्ने काम भइरहेको आरोपसमेत लगाए । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट वैधानिकता प्राप्त भएको तथा रुख चिह्न आफूहरूकै हुने दाबी गर्दै अधिवेशनका नाममा समूहको भेला गराउने काम भइरहेको उनको आरोप थियो ।
उनले नेपाली काङ्ग्रेसका नेता गगन थापालाई लक्षित गर्दै अदालतले दिएको म्याद बुझ्न ढिलाइ गरेको विषयमा प्रश्नसमेत उठाए । “तपाईंलाई रुख चिह्न तपाईँमै आउँदैछ भन्ने विश्वास भएको भए अदालतबाट दिएको म्याद किन बुझ्नुभएन ?” उनले प्रश्न गरे ।
उनले एकातिर अदालतको पत्र नबुझ्ने र अर्कोतिर कार्यकर्तामाझ काङ्ग्रेसको अस्तित्व नै सङ्कटमा परेको भन्दै भ्रम सिर्जना गर्ने काम भइरहेको आरोप लगाए । अहिलेका कार्यकर्ता सूचना र सामाजिक सञ्जालबाट सबै विषयबारे जानकार रहेको भन्दै उनले पुराना शैलीबाट कार्यकर्तालाई भ्रमित पार्न नसकिने बताए ।
“सबैको हातहातमा मोबाइल छ, सामाजिक सञ्जालको पहुँच छ । सबैले अदालतको पत्र नबुझेको कुरा बुझेका छन्,” उनले भने । वार्ताको नाममा विभिन्न व्यक्तिलाई परिचालन गर्ने र आफ्नो समूहका व्यक्तिलाई जिल्लादेखि केन्द्रसम्म नेतृत्वमा पुर्याउने प्रयास भइरहेको पनि उनले आरोप लगाए । वडा, क्षेत्र र प्रदेश तहका अधिवेशनसमेत सम्पन्न नगरी आफूअनुकूल व्यक्तिलाई बोलाएर ताली पिट्दै नेतृत्व चयन गर्ने प्रवृत्तिले पार्टीलाई कहाँ पुर्याउँछ भन्नेबारे गम्भीर भएर सोच्न उनले आग्रह गरे ।
उनले बीपी कोइरालाका छोरा शशाङ्क कोइराला, महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि, शान्ति प्रक्रियामा लामो समय काम गरेका कृष्ण सिटौला तथा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलगायत नेताहरू देउवाकै पक्षमा रहेको भन्दै देशैभरि काङ्ग्रेसको मन, मस्तिष्क देउवा पक्षकै काङ्ग्रेसमा भएको दाबी गरे ।
