रामेछाप- नेपाल काङ्ग्रेस रामेछापको केन्द्रीय महाधिवेशन तथा प्रदेश प्रतिनिधि चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भइनसक्दै नेपाली काङ्ग्रेस रामेछापका नेता नारायणकुमार खड्काले पार्टी परित्याग गरेका छन् । उनले शुक्रवार विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टीभित्र गुटगत राजनीति बढ्दै गएको, नातावाद तथा निर्वाचन प्रक्रियामा अनियमितता भएको भन्दै उनले नेपाली काङ्ग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।
खड्काले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत आफूले नेपाली काङ्ग्रेससँग करिब ३५ वर्ष लामो राजनीतिक यात्रा टुंग्याउँदै पार्टीका सम्पूर्ण गतिविधिबाट अलग हुने निर्णय गरेको बताएका छन् । विज्ञप्तिमा उनले २०४७ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेको उल्लेख गरेका छन् । त्यसयता नेपाल विद्यार्थी सङ्घ, गाउँ कमिटी तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उनले बताएका छन् । माओवादी द्वन्द्वका कारण २०५३ सालदेखि आफ्नो परिवार विस्थापित हुनुपरेको र लामो समय गाउँ छाड्नुपरेको समेत उनले उल्लेख गरेका छन् ।
उनले काङ्ग्रेसको १२औँ महाधिवेशनमा क्षेत्रीय कार्यसमितिको सचिव, १३औँ महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य तथा १४औँ महाधिवेशनमा उपसभापति पदमा प्रतिस्पर्धा गरेका थिए । २०८२ भदौ २२ गते नेपाल किसान महासङ्घको केन्द्रीय सदस्यमा मनोनीत भएको र १५औँ महाधिवेशनमा मतगणना जारी रहेको अवस्थामा आफूले पार्टी परित्यागको निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
खड्काले राजनीतिकसँगै व्यावसायिक तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको दाबी गरेका छन् । कृषि व्यवसायमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने मान्यताका साथ खेती, कुखुरापालन तथा विभिन्न जडीबुटी खेतीमा निरन्तर लाग्दै आएको उनले बताएका छन् । गाउँमा स्वास्थ्य शिविर, पशु शिविर तथा कृषि अभियान सञ्चालनमा समेत आफू संलग्न भएको उनको भनाइ छ ।
विज्ञप्तिमा उनले काङ्ग्रेसको विशेष महाधिवेशनपछि पार्टी सुधार हुने अपेक्षा गरेको भए पनि त्यो अपेक्षा पूरा हुन नसकेपछि पार्टी परित्याग गरेको बताएका छन् । पार्टीभित्र गुटगत राजनीति, धनवाद र नातावाद हावी भएको तथा योगदानबिनै पार्टीमा आउने र महत्वपूर्ण पद प्राप्त गर्ने प्रवृत्ति बढेको उनको आरोप छ ।
विशेषगरी १५औँ महाधिवेशनका क्रममा आफ्नो नामसमेत गलत ढंगले राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । मतपत्रमा आफ्नो नाम ‘नारायणकुमार खड्का’ हुनुपर्नेमा ‘नारायणकुमार श्रेष्ठ’ राखिएको र उक्त कार्य पदाधिकारी, निर्वाचन अधिकृत तथा कर्मचारीको मिलेमतोमा भएको दाबी उनले गरेका छन् ।
यस्तो विषयमा नेतृत्वले चासो नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । परिवर्तित राजनीतिक अवस्थामा आफू पार्टीभित्रकै अराजक प्रवृत्तिको निशानामा परेको महसुस भएकोसमेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
रामेछापको कठिन भौगोलिक क्षेत्र उमाकुण्ड गाउँपालिकामा रहेर आफूले लामो समयदेखि काङ्ग्रेसका लागि सङ्घर्ष, त्याग र योगदान गर्दै आएको उनले बताएका छन् । परिवारको जिम्मेवारीसमेत बेवास्ता गर्दै पार्टी संगठन निर्माणमा सक्रिय रहँदा पनि पछिल्लो समय पार्टीभित्र आफ्नो योगदानको उचित मूल्यांकन हुन नसकेको उनको भनाइ छ ।
उनले आफूले लामो समयदेखि पार्टीका लागि गरेको योगदानलाई स्मरण गर्दै अहिलेको अवस्थामा काङ्ग्रेसको राजनीतिमा रहेर अघि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताएका छन् । नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी स्वतन्त्र नागरिकका रूपमा जीवन बिताउने निर्णय गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
