Logo

मानसिक स्वास्थ्य एप ‘चौतारी’ बनाउँदै दुई युवा



११ वर्षदेखि सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका सुराजन बुढाथोकी र उत्सव फुयाँलको नेतृत्वमा Eaglerain Technologies को टोलीले मानसिक स्वास्थ्यबारे बुझ्न, आफ्ना भावना व्यक्त गर्न र आवश्यक जानकारी तथा सहयोगसम्म पुग्न सहज बनाउने उद्देश्यले ‘चौतारी’ एप विकास गरिरहेको छ।

२०७२ सालको भूकम्प। त्यसलगत्तैको नाकाबन्दी। कोभिड–१९ महामारी र त्यसले निम्त्याएको लामो एक्लोपन। त्यसपछि बदलिँदो सामाजिक परिवेश, देशको भविष्यप्रतिको अनिश्चितता र दैनिकजसो मोबाइलको स्क्रिनमा आइपुग्ने अनेकौं सूचना।

पछिल्लो एक दशकमा नेपाली समाजले एकपछि अर्को असहज परिस्थिति सामना गर्‍यो।

कसैले आफ्ना नजिकका मानिस गुमाए। कोही लामो समय एक्लिए। कसैलाई पढाइ र करिअरको चिन्ता छ, कसैलाई विदेश गएपछि जीवन कस्तो होला भन्ने। परिवारभित्रका समस्या, सामाजिक अपेक्षा र भविष्यप्रतिको अन्योल पनि मानिसका दैनिक अनुभवका हिस्सा हुन्।

यिनै परिवर्तनलाई नजिकबाट हेरिरहेका दुई नेपाली युवा अहिले आफ्नो टोलीसहित मानसिक स्वास्थ्यसँग जोडिएको एउटा डिजिटल प्लेटफर्म बनाउँदैछन्।

उनीहरू हुन्—३२ वर्षीय सुराजन बुढाथोकी र ३४ वर्षीय उत्सव फुयाँल।

सन् २०१५ देखि सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको Eaglerain Technologies का सह-संस्थापक उनीहरूले विकास गरिरहेको एपको नाम हो—‘चौतारी’।

एप अहिले विकासको अन्तिम चरणमा छ। परीक्षण तथा गुणस्तर परीक्षण (QA) को काम भइरहेको छ। यो प्रक्रिया पूरा भएपछि एन्ड्रोइड र आईफोन दुवैका लागि निःशुल्क सार्वजनिक गर्ने कम्पनीको तयारी छ।

११ वर्षको आईटी यात्राबाट ‘चौतारी’

सुराजन र उत्सवले एक दशकभन्दा लामो समयदेखि सूचना प्रविधिका विभिन्न परियोजनामा काम गर्दै आएका छन्।

Eaglerain Technologies मार्फत उनीहरूले नेपालसँगै विदेशका ग्राहकका लागि विभिन्न प्रकृतिका प्रविधि परियोजना विकास गरेका छन्। यसअघि ई-कमर्सदेखि स्वास्थ्यसम्बन्धी एपसम्म विभिन्न डिजिटल परियोजनामा काम गरिसकेको उनीहरू बताउँछन्।

कम्पनीमा सुराजन प्रोडक्ट डिजाइनमा केन्द्रित छन् भने उत्सवले मार्केटिङको जिम्मेवारी सम्हाल्छन्। दुवै कम्पनीका सह-संस्थापक हुन्।

अरूका लागि प्रविधि र डिजिटल उत्पादन बनाउँदै आएको टोलीले यसपटक भने आफ्नै उत्पादनमार्फत नेपाली समाजमा आफूहरूले नजिकबाट देखेको एउटा विषयमा काम गर्न खोजेको हो।

“हामी नेपालमा आईटी व्यवसायमा लागेको ११ वर्षभन्दा बढी भयो। यो अवधिमा नेपाली समाजले भूकम्प, नाकाबन्दी, कोभिड–१९ देखि विभिन्न ठूला सामाजिक घटनासम्म धेरै उतारचढाव देख्यो,” सुराजन भन्छन्, “कतिले लामो समय एक्लोपन भोगे, कतिले आफ्ना नजिकका मानिस गुमाए। यी सबैबीच मानसिक स्वास्थ्यबारे बुझ्ने र खुलेर कुरा गर्ने सहज माध्यमको आवश्यकता हामीले महसुस गर्‍यौं।”

यसबीच उनीहरूले अर्को परिवर्तन पनि नियालिरहेका थिए—सूचनाको गति।

केही वर्षअघिसम्म कुनै घटना थाहा पाउन समय लाग्थ्यो। अहिले संसारको कुनै कुनामा भएको घटना केही सेकेन्डमै मोबाइलको स्क्रिनमा आइपुग्छ।

समाचार, सामाजिक सञ्जाल र निरन्तर आउने सूचनाबीच मानिसले दैनिक रूपमा ठूलो परिमाणमा सूचना ग्रहण गरिरहेको छ।

त्यसमाथि घरायसी विवाद, दुर्व्यवहार, अपराधका घटना, आर्थिक दबाब, करिअर र भविष्यप्रतिको अनिश्चितताजस्ता विषय मानिसको दैनिक जीवनसँग जोडिएका छन्।

“मानिसको हातमा सूचना धेरै छ, तर आफ्नो मानसिक अवस्थालाई बुझ्ने सही जानकारी सधैं त्यति सहज रूपमा उपलब्ध हुँदैन,” उत्सव भन्छन्, “त्यसैले प्रविधिमा भएको हाम्रो अनुभवलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र wellbeing का लागि कसरी प्रयोग गर्न सकिन्छ भनेर सोच्न थाल्यौं।”

त्यही सोचबाट ‘चौतारी’को अवधारणा अगाडि बढेको उनीहरू बताउँछन्।

मानसिक स्वास्थ्यमा नेपालको अवस्था

मानसिक स्वास्थ्यसँग जोडिएका समस्या नेपालमा सीमित व्यक्तिको मात्रै विषय होइनन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार सर्वेक्षणमा सहभागी वयस्कमध्ये करिब १० प्रतिशतले जीवनको कुनै समयमा कुनै न कुनै मानसिक समस्या अनुभव गरेको पाइएको थियो। सर्वेक्षणको समयमा अर्थात् अघिल्लो एक महिनाको अवधिमा कुनै मानसिक समस्या रहेको वयस्कको अनुपात ४.३ प्रतिशत थियो। किशोरकिशोरीमा जीवनकालमा कुनै मानसिक समस्या देखिएको अनुपात ५.२ प्रतिशत थियो।

उक्त राष्ट्रिय अध्ययनमा ९ हजार २ सय वयस्क र ५ हजार ८ सय ८८ किशोरकिशोरी सहभागी थिए।

मानसिक स्वास्थ्य सेवा आवश्यक पर्ने सबै व्यक्ति विशेषज्ञसम्म सहजै पुग्न सक्ने अवस्था पनि छैन।

विश्व स्वास्थ्य संगठन (WHO) सहितको सन् २०२५ को Prevention and Management of Mental Health Conditions in Nepal: The Case for Investment प्रतिवेदनले नेपालमा १४४ मनोचिकित्सक, तीन बाल मनोचिकित्सक, ७५ psychiatric nurses र निजी अभ्यासमा ३० psychologist रहेको उल्लेख गरेको छ। प्रतिवेदनले विशेषज्ञ जनशक्ति मुख्यतः सहरी क्षेत्रमा केन्द्रित रहेको विषय पनि औंल्याएको छ।

सेवाको पहुँचसँगै मानसिक स्वास्थ्यबारेको बुझाइ र यसबारे खुलेर कुरा गर्न सक्ने वातावरणलाई पनि सुराजन र उत्सवले चुनौतीका रूपमा देखेका छन्।

‘हामी सबै फरक छौं’

मानसिक स्वास्थ्यलाई एउटै उमेर, वर्ग वा परिस्थितिको समस्याका रूपमा हेर्न नमिल्ने उत्सव बताउँछन्।

मानिसको व्यक्तित्व फरक हुन्छ। पारिवारिक र सामाजिक परिवेश फरक हुन्छ। भोगाइ पनि फरक हुन्छ।

“काठमाडौंमा बस्ने २२ वर्षको युवालाई पढाइ कसरी अगाडि बढाउने, करिअर के गर्ने भन्ने चिन्ता हुन सक्छ। विदेश जान लागेको युवालाई त्यहाँ कस्तो होला, काम कस्तो होला, आफूलाई मानसिक रूपमा कसरी तयार गर्ने भन्ने हुन सक्छ,” उत्सव भन्छन्, “गाउँमा एक्लै बसिरहेको व्यक्तिको परिस्थिति र उसले भोगिरहेको समस्या फेरि अर्कै हुन सक्छ।”

फरक परिस्थितिका बाबजुद आफ्नो मानसिक अवस्था बुझ्नु सबैका लागि महत्त्वपूर्ण रहेको उनीहरूको बुझाइ छ।

त्यसमाथि नेपाली समाजमा ‘समाजअनुसार चल्नुपर्छ’ वा ‘अरूले के भन्लान्’ भन्ने सोचले पनि मानिसका निर्णय र जीवनशैलीलाई प्रभावित गर्ने गरेको उनीहरू बताउँछन्।

“हामी सबै आ–आफ्नो तरिकाले फरक छौं। हाम्रो व्यक्तित्व फरक छ, भोगाइ फरक छ र अप्ठ्यारो परिस्थितिसँग जुध्ने तरिका पनि फरक हुन सक्छ,” सुराजन भन्छन्।

यही कारण उनीहरू चौतारीलाई कुनै रोगको निदान गर्ने एपभन्दा मानसिक स्वास्थ्यबारे जानकारी, आत्मबोध र संवादको सुरुआती माध्यम बनाउन खोजिरहेका छन्।

चार आधारमा बनिरहेको ‘चौतारी’

चौतारीको संरचना चार अवधारणामा आधारित छ—Awareness, Connection, Insight र Purpose।

यो अवधारणा University of Wisconsin–Madison अन्तर्गतको Center for Healthy Minds सँग सम्बन्धित well-being framework बाट प्रेरित रहेको संस्थापकहरू बताउँछन्।

न्युरोसाइन्टिस्ट Richard J. Davidson संस्थापक रहेको Center for Healthy Minds ले well-being का चार पक्षका रूपमा Awareness, Connection, Insight र Purpose लाई प्रस्तुत गर्दै आएको छ।

चौतारीले यिनै चार पक्षलाई आधार बनाएर प्रयोगकर्ताको अनुभव तयार गरिरहेको छ।

तर प्रयोगकर्तालाई सुरुमै ‘तपाईं Awareness मा हुनुहुन्छ’ वा ‘तपाईंलाई Insight चाहिन्छ’ भनेर कुनै वर्गमा राखिँदैन।

त्यसको सट्टा एपले दैनिक जीवनसँग जोडिएको एउटा सामान्य प्रश्नबाट प्रयोगकर्ताको यात्रा सुरु गराउँछ।

एप खोल्नेबित्तिकै ‘ब्रिदिङ एक्सरसाइज’

चौतारी खोल्नेबित्तिकै प्रयोगकर्ता सीधै भिडियो, पोस्ट वा अन्य सामग्रीको भीडमा पुग्दैनन्।

पहिलो चरणमा 4-7-8 breathing exercise राखिएको छ।

“मानिस कुन अवस्थामा एप खोलिरहेको छ भन्ने हामीलाई थाहा हुँदैन। कोही चिन्तित हुन सक्छ, कोही दुःखी वा तनावमा हुन सक्छ,” सुराजन भन्छन्, “त्यसैले अरू content मा जानुअघि केही क्षण आफ्नो वर्तमान अवस्थामा ध्यान केन्द्रित गर्ने अनुभवबाट एप सुरु होस् भन्ने हामीले चाहेका हौं।”

त्यसपछि Google account मार्फत sign-up गर्न सकिन्छ। प्रयोगकर्ताले सुरुमै नेपाली वा अंग्रेजी भाषा रोज्न सक्छन्।

त्यसपछि एपले सोध्छ—

‘तपाईं आज यहाँ केका लागि आउनुभएको हो?’

प्रयोगकर्तासामु चार विकल्प आउँछन्—

‘म अलि शान्त महसुस गर्न चाहन्छु।’

‘म कम एक्लो महसुस गर्न चाहन्छु।’

‘म आफूलाई अझ राम्रोसँग बुझ्न चाहन्छु।’

र,

‘म आफ्नो दिनमा थप अर्थ खोज्न चाहन्छु।’

यी चार विकल्प चौतारीले आधार मानेका चारवटा well-being pillars सँग जोडिएका छन्। तर प्रयोगकर्ताले त्यसलाई प्राविधिक वर्गीकरणका रूपमा देख्दैनन्।

आफूलाई मिल्ने विकल्प छानेपछि एपले त्यससँग सम्बन्धित सुरुआती अभ्यास सिफारिस गर्छ। त्यसपछि प्रयोगकर्ताले एपका अन्य सुविधा आफैं explore गर्न सक्छन्।

“हामी प्रयोगकर्तालाई पहिलो दिनदेखि नै धेरै कुरा थोपर्न चाहँदैनौं,” उत्सव भन्छन्, “उसले अहिले आफूलाई के चाहिएको छ भन्ने रोजोस् र त्यहीँबाट चौतारी explore गर्न सुरु गरोस् भन्ने हाम्रो सोच हो।”

दुई संस्थापक, पछाडि छ प्रविधि टोली

चौतारीको अवधारणा र नेतृत्वमा सुराजन र उत्सव भए पनि उनीहरू यसलाई दुई जनाले मात्रै बनाएको उत्पादन भन्न चाहँदैनन्।

एपलाई अवधारणाबाट वास्तविक डिजिटल उत्पादनमा रूपान्तरण गर्न Eaglerain Technologies को टोलीले काम गरिरहेको छ।

त्यही टोलीमा प्रियेश खतिवडा र प्रबिन जोशी पनि चौतारीको निर्माणमा जोडिएका छन्।

“हामी दुई जना सह-संस्थापक भए पनि चौतारी दुई जनाले मात्रै बनाएको उत्पादन होइन,” सुराजन भन्छन्, “यसको वास्तविक backbone हाम्रो team हो। एउटा idea लाई प्रयोगकर्ताले चलाउन सक्ने product सम्म ल्याउन प्रियेश, प्रबिन र हाम्रो टोलीको उत्तिकै महत्त्वपूर्ण भूमिका छ।”

उत्सव पनि चौतारीलाई व्यक्तिगत founder project भन्दा सामूहिक प्रयासका रूपमा हेर्छन्।

“हामी बाहिर चौतारीको vision र उद्देश्यबारे कुरा गरिरहेका हुन्छौं, तर त्यसलाई वास्तविकतामा बदल्ने काम पछाडि बसेर team ले गरिरहेको हुन्छ,” उत्सव भन्छन्, “त्यसैले चौतारीको यात्रा हाम्रो मात्र होइन, पूरै team को यात्रा हो।”

कम्पनीले बाह्य लगानी नलिई आफ्नै स्रोत, जनशक्ति र प्राविधिक अनुभव प्रयोग गरेर चौतारीलाई in-house उत्पादनका रूपमा विकास गरिरहेको छ।

बोल्न वा लेख्न मिल्ने जर्नल

चौतारीको एउटा प्रमुख सुविधा जर्नल हो।

यसमा प्रयोगकर्ताले आफ्नो दैनिक सोच र अनुभव लेखेर राख्न सक्छन्। लेख्न मन नभए बोलेर पनि आफ्ना कुरा टिपोट गर्न सकिने गरी सुविधा तयार गरिएको संस्थापकहरू बताउँछन्।

त्यसबाहेक Worry Box, भविष्यको आफूलाई चिठी लेख्ने अभ्यास, calming sounds, जानकारीमूलक भिडियो तथा CBT बाट प्रेरित केही अभ्यासलगायतका tools राखिएका छन्।

एप सार्वजनिक भएपछि प्रयोगकर्ताको आवश्यकता र प्रतिक्रियाका आधारमा नयाँ अभ्यास थप्दै जाने उनीहरूको योजना छ।

आफ्नो परिचय नखुलाई समुदायमा कुरा

चौतारीमा community section पनि छ।

यसमा प्रयोगकर्ताले आफ्नो परिचय सार्वजनिक नगरी कुरा राख्न सक्ने व्यवस्था गरिएको छ।

“कतिपय कुरा साथी वा परिवारसँग समेत भन्न अप्ठ्यारो लाग्न सक्छ। मानसिक स्वास्थ्यबारे कुरा गर्दा ‘अरूले के भन्लान्?’ भन्ने डर पनि हुन सक्छ,” उत्सव भन्छन्, “त्यसैले प्रयोगकर्ताले आफ्नो पहिचान सार्वजनिक नगरी पनि आफ्ना अनुभव राख्न सक्ने ठाउँ बनाउन खोजेका छौं।”

अर्कोतर्फ, एपभित्र मानसिक स्वास्थ्यसम्बन्धी जानकारीमूलक भिडियो पनि रहनेछन्।

त्यस्ता सामग्रीका लागि योग्य मनोचिकित्सक, मनोवैज्ञानिक तथा अन्य मानसिक स्वास्थ्य पेशेवरसँग सहकार्य र onboarding भइरहेको कम्पनीले जनाएको छ।

यो प्रक्रिया निरन्तर चल्ने भएकाले अहिले नै पेशेवरहरूको निश्चित संख्या सार्वजनिक नगरिएको संस्थापकहरू बताउँछन्।

आपत् पर्दा विश्वासिलो व्यक्तिसम्म पुग्ने ‘SOS’

चौतारीमा SOS सुविधा पनि विकास गरिएको छ।

यसका लागि प्रयोगकर्ताले पहिल्यै आफूले अत्यन्त विश्वास गर्ने व्यक्तिलाई ‘trusted contact’ का रूपमा राख्न सक्छन्।

आवश्यक परेको अवस्थामा SOS मार्फत उक्त व्यक्तिसम्म सहायता अनुरोध र प्रयोगकर्ताले अनुमति दिएको स्थानसम्बन्धी जानकारी पुर्‍याउन सकिने गरी सुविधा तयार गरिएको संस्थापकहरू बताउँछन्।

त्यससँगै प्रयोगकर्ताको वरपर उपलब्ध मानसिक स्वास्थ्य सेवा तथा सम्बन्धित सहायता स्रोतबारे जानकारी देखाउने व्यवस्था पनि राखिएको उनीहरूको भनाइ छ।

कम्पनीले यो सुविधालाई औपचारिक आपतकालीन सेवा वा चिकित्सकीय सेवाको विकल्पका रूपमा भने प्रस्तुत गरेको छैन।

‘चौतारी चिकित्सकको विकल्प होइन’

मानसिक स्वास्थ्यसँग जोडिएको प्रविधि बनाउँदा स्वाभाविक रूपमा एउटा प्रश्न आउँछ—के यस्तो एपले चिकित्सक वा मानसिक स्वास्थ्य पेशेवरको काम गर्न सक्छ?

यसमा दुवै संस्थापक स्पष्ट छन्।

“चौतारीले मनोचिकित्सक, मनोवैज्ञानिक वा अन्य मानसिक स्वास्थ्य विशेषज्ञलाई प्रतिस्थापन गर्दैन,” उत्सव भन्छन्, “हामी कसैलाई diagnosis वा treatment दिने दाबी गरिरहेका छैनौं। हामी मानिसलाई मानसिक स्वास्थ्यबारे जानकारी र awareness सहज रूपमा उपलब्ध गराउन चाहन्छौं।”

सुराजन थप्छन्, “मानिसले आफूलाई बुझोस्, आफ्ना भावना र अनुभवबारे बोल्न सकोस् र आवश्यक परेको अवस्थामा विशेषज्ञको सहयोग लिनुपर्छ भन्ने कुरा समयमै बुझ्न सकोस्—चौतारीले त्यो यात्रालाई सहज बनाउन सहयोग गर्न सक्छ भन्ने हाम्रो विश्वास हो।”

एपलाई आफ्नो मानसिक अवस्था र wellbeing बुझ्न, दैनिक अभ्यास गर्न, अनुभव टिपोट गर्न र मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सहयोग गर्ने digital companion का रूपमा अगाडि बढाउने उनीहरूको योजना छ।

प्रयोगकर्ताको डेटा फोनमै राख्ने प्रयास

मानसिक स्वास्थ्यसँग सम्बन्धित एपमा गोपनीयता अर्को संवेदनशील विषय हो।

संस्थापकहरू चौतारीलाई ‘privacy-focused’ उत्पादनका रूपमा विकास गरिरहेको बताउँछन्।

उनीहरूका अनुसार प्रयोगकर्ताको व्यक्तिगत जर्नललगायत संवेदनशील व्यक्तिगत डेटा सम्भव भएसम्म प्रयोगकर्ताकै device मा रहने गरी प्रणाली तयार गरिएको छ।

Community मा पनि प्रयोगकर्ताले आफ्नो सार्वजनिक पहिचान नखुलाई सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको उनीहरूको भनाइ छ।

“मानसिक स्वास्थ्यसँग सम्बन्धित कुरा अत्यन्त व्यक्तिगत हुन सक्छन्। त्यसैले privacy लाई हामीले feature मात्र होइन, product design कै महत्त्वपूर्ण हिस्सा मानेका छौं,” सुराजन भन्छन्।

एप सार्वजनिक हुँदा कुन प्रकारको डेटा device मै रहन्छ, कुन data सेवाको सञ्चालनका लागि server मा जान आवश्यक हुन्छ र location जस्ता permission कुन अवस्थामा प्रयोग हुन्छन् भन्ने विवरण privacy policy मार्फत प्रयोगकर्तालाई जानकारी गराइने कम्पनीको तयारी छ।

बाह्य लगानी छैन, प्रयोगकर्ताका लागि निःशुल्क

चौतारीमा अहिलेसम्म कुनै बाह्य लगानीकर्ता छैन।

यो Eaglerain Technologies ले आफ्नै स्रोत र जनशक्तिबाट in-house विकास गरिरहेको उत्पादन हो।

एप प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराउने योजना छ।

मोबाइल एप एन्ड्रोइड र आईफोन दुवैमा उपलब्ध हुनेछ। वेबसाइटमा भने चौतारीसम्बन्धी जानकारी दिने landing page रहनेछ।

“अहिले हाम्रो प्राथमिकता यसलाई व्यवसायीकरण गर्नुभन्दा उपयोगी उत्पादनका रूपमा प्रयोगकर्तासम्म पुर्‍याउनु हो,” उत्सव भन्छन्।

एप अहिले अन्तिम चरणमा पुगेको र testing तथा QA भइरहेको कम्पनीले जनाएको छ। निश्चित मिति घोषणा नगरिए पनि छिट्टै सार्वजनिक गर्ने तयारी छ।

पहिलो लक्ष्य नेपाल र संसारभरका नेपाली

चौतारीको सुरुआती लक्ष्य नेपालभित्रका प्रयोगकर्ता मात्रै होइनन्।

अध्ययन, रोजगारी वा अन्य कारणले संसारका विभिन्न देशमा पुगेका नेपालीलाई समेत एपमार्फत जोड्ने उनीहरूको योजना छ।

त्यसैले चौतारी नेपाली र अंग्रेजी दुवै भाषामा तयार भइरहेको छ।

“हाम्रो पहिलो लक्ष्य नेपालभित्र र संसारका जुनसुकै देशमा रहेका नेपालीसम्म मानसिक स्वास्थ्यसम्बन्धी चेतना पुर्‍याउनु हो,” सुराजन भन्छन्, “मानिसले आफ्नो मानसिक अवस्थालाई बुझ्न सकोस्, समस्या गम्भीर हुनुअघि संकेतहरूबारे सचेत भएर आवश्यक पर्दा समयमै उपयुक्त सहयोग खोज्न सकोस् भन्ने हामी चाहन्छौं।”

उत्सवका अनुसार चौतारीको सफलता download को संख्यामा मात्रै मापन गर्ने उनीहरूको सोच छैन।

“मानसिक स्वास्थ्यबारे कुरा गर्नु असामान्य कुरा होइन भन्ने वातावरण बन्नुपर्छ,” उत्सव भन्छन्, “मानिस आफ्नो wellbeing प्रति सचेत होस्, समस्या लुकाएर बस्नुभन्दा कुरा गर्न सकोस् र आवश्यक पर्दा सही ठाउँमा सहयोग खोज्न सकोस्। हामीले हेर्न चाहेको परिवर्तन त्यो हो।”

नेपाल र विदेशमा रहेका नेपाली समुदायमा यसको प्रयोग प्रभावकारी देखिए भविष्यमा अन्य देश र समुदायका लागि पनि चौतारीलाई विस्तार गर्ने उनीहरूको योजना छ।

अहिले भने सुराजन, उत्सव र उनीहरूको टोलीको ध्यान एउटै कुरामा केन्द्रित छ—परीक्षणको अन्तिम चरणमा रहेको ‘चौतारी’लाई प्रयोगकर्तामाझ पुर्‍याउने।

प्रतिक्रिया दिनुहोस्