रामेछाप- पत्रकारिता क्षेत्रमा देखिएका चुनौती सामना गर्न सञ्चारकर्मीबिच एकता, सहकार्य र व्यावसायिकता आवश्यक रहेकोमा रामेछापका सरोकारवालाले जोड दिएका छन् । उनीहरूले नेपालीहरुको महान् चाड दसैँलगायतका चाडपर्वलाई तडकभडक नभइ आपसी सद्भाव, सहिष्णुता र सांस्कृतिक परम्पराको संरक्षण गर्ने हिसावले मनाउनु पर्ने बताए ।
प्रेस चौतारी नेपाल रामेछापले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा सदरमुकाम मन्थलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरूले बदलिँदो परिस्थितिमा पत्रकारिताका चुनौती सामना गर्न सञ्चारकर्मी एकजुट हुनुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले वर्तमान परिस्थितिलाई ध्यानमा राखेर चाडपर्व मनाउनुपर्ने बताए । उनले अनावश्यक तडकभडकभन्दा सामाजिक सद्भाव, आपसी आत्मियता र सांस्कृतिक परम्परालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल बागमती प्रदेशका सचिव नवराज श्रेष्ठ र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्षहरू बद्री नयाँघरे र रमेश ढुङ्गेल, नेपाल प्रेस युनियन रामेछापका उपाध्यक्ष सागर बोहरा, प्रेस सेन्टर रामेछापका सचिव प्रशान्त हायु र समाजवादी प्रेस संगठन रामेछापका अध्यक्ष कैलाश खत्रीलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।
वक्ताहरूले चाडपर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिए । उनीहरूले पत्रकारिताको व्यावसायिकता कायम राख्दै सञ्चारसम्बद्ध संघसंस्था र सञ्चारकर्मीबिच आपसी समझदारी तथा सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए ।
प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासंघ तथा सञ्चारसम्बद्ध संगठनका प्रतिनिधिहरूको सहभागिता थियो । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै जिल्लाका सञ्चारकर्मी तथा सञ्चारसम्बद्ध संस्थाबिच आपसी सम्बन्ध र सहकार्य सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्था प्रेस चौतारी नेपाल रामेछापको भनाइ छ ।
