रामेछाप- मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले लैङ्गिक समानता कायम गर्न कानुन निर्माणसँगै प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना अभिवृद्धि र पत्रकारिता क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले स्थानीय सरकार, पत्रकार र नागरिक समाजबीच समन्वय हुन सके सामाजिक विकृति र विसङ्गति न्यूनीकरण गर्दै समाजलाई परिवर्तनको दिशामा अघि बढाउन सकिने बताए ।
नेपाल पत्रकार महासङ्घ रामेछापले आयोजना गरेको ‘पत्रकारिता र लैङ्गिक समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले लैङ्गिक समानताको बहस स्थानीय तहदेखि नै विस्तार गर्नुपर्नेमा जोड दिए । महिला र पुरुष समान अधिकारका हकदार भए पनि अधिकारको उपभोग र निर्णय प्रक्रियामा सहभागिताका विषयमा पर्याप्त छलफल हुन नसकेको उनको भनाइ थियो ।
श्रेष्ठले समाजमा विद्यमान विभेद, विकृति र ओझेलमा परेका विषयलाई तथ्यसहित सार्वजनिक गरेर पत्रकारिताले सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । लैङ्गिक समानताका विषयलाई पत्रकारितामार्फत समाजको तल्लो तहसम्म पुर्याउनुपर्ने उनले उल्लेख गरे ।
स्थानीय सरकार र पत्रकारबीच समन्वय तथा सहकार्यका लागि कार्यविधि निर्माण गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले स्वीकार गरे ।
‘सरकार, समुदाय र नागरिक समाज एक भएर अघि बढ्न सकेनौँ भने सामाजिक परिवर्तन सम्भव हुँदैन,’ उनले भने, ‘सरकारले एकतर्फी रूपमा आफ्ना कुरा मात्रै राख्ने होइन, समाजको आवाज सुनेर सुझावका आधारमा अघि बढ्नुपर्छ ।’
नगरप्रमुख श्रेष्ठले स्थानीय सरकारका कामकारबाहीमा कमजोरी देखिए पत्रकारले खबरदारी गर्नुपर्ने बताए । पत्रकारिताबाट आउने सकारात्मक सुझाव र रचनात्मक आलोचनालाई आत्मसात् गर्दै अघि बढ्न नगरपालिका तयार रहेको उनको भनाइ थियो ।
उनले बालविवाहका कारण कानुनी तथा सामाजिक समस्या भोगिरहेका व्यक्तिको अवस्थालाई पनि संवेदनशील रूपमा सम्बोधन गर्नुपर्ने बताए । बालविवाह रोक्न कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक भए पनि त्यसबाट प्रभावित व्यक्ति र उनीहरूका सन्तानको अधिकार तथा जीवनयापनमा थप समस्या नपर्ने गरी आवश्यक ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।
शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा लैङ्गिक समानताको अवधारणा लागू गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले सामाजिक न्याय र समानता प्रवद्र्धनका लागि स्थानीय सरकार र पत्रकारिताबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए ।
