Logo

रामेछापमा आयोजित रक्दान कार्यक्रममा १६ जनाले गरे रक्तदान



रामेछाप- दसैँ–तिहारलगायत चाडपर्वका अवसरमा रामेछापमा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । नेपाल पत्रकार महासङ्घ रामेछाप र रामेछाप जेसीजको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा कार्यक्रम गरिएको हो ।
चाडपर्वका बेला बिरामीलाई आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउने तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिए ।

‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेको थियो ।

यसैबीच, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापले बिहीबार दसैँ–तिहारको शुभकामना आदानप्रदान तथा ‘पत्रकारिता र लैङ्गिक समानता’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा महासङ्घका सहसचिव रामचन्द्र विकले पत्रकारिता र लैङ्गिक समानतासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथिको छलफलमा सहभागीहरूले लैङ्गिक समानता, समावेशिता र सामाजिक न्यायका विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्