रामेछाप- उमेरले भर्खर १० वर्ष पुगेकी छन् । विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन् । तर, उनको प्रतिभा र सफलताले भने उमेरको सीमालाई उछिनेको छ । रामेछापको सुनापति गाउँपालिका–२ मानपुरकी १० वर्षीया ग्लोसी श्रेष्ठले बुद्धिचाल प्रतियोगितामा बागमती प्रदेशमै प्रथम स्थान हासिल गर्दै जिल्लाको गौरव बढाएकी छन् ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजित बागमती प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताको क्लासिकल खेलमा महिलातर्फ प्रथम स्थान हासिल गर्दै ग्लोसी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी हुन् । सानै उमेरमा प्राप्त यो सफलताले उनको प्रतिभा उजागर गर्नुका साथै रामेछापको खेलकुद क्षेत्रमा नयाँ आशा र उत्साह थपेको छ ।
यही मङ्सिर ६ देखि ८ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोसीले प्रथम स्थान हासिल गरेकी हुन् । बुद्धिचालजस्तो धैर्य, एकाग्रता, तार्किक क्षमता र दूरदर्शिता आवश्यक पर्ने खेलमा उनले हासिल गरेको सफलतालाई विशेष उपलब्धिका रूपमा हेरिएको छ ।

सामान्यतया १० वर्षको उमेर बालबालिकाका लागि खेल्ने, रमाउने र नयाँ कुरा सिक्ने समय हो । तर, ग्लोसीले यही उमेरमा बुद्धिचालको हैसितमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै प्रदेशस्तरमा आफूलाई अब्बल साबित गरेकी छन् । उनको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन, रामेछापका बालबालिकामा लुकेको प्रतिभा र सम्भावनाको उदाहरणसमेत बनेको बुद्धिचाल महासङ्घ रामेछापका अध्यक्ष सौजन्यप्रसाद सत्यालले बताए ।
बुद्धिचाल शारीरिक शक्तिभन्दा बौद्धिक क्षमता, धैर्य र रणनीतिमा आधारित खेल हो । यसमा प्रत्येक चालसँगै नयाँ चुनौती थपिन्छ । एउटा गलत निर्णयले खेलको नतिजा बदल्न सक्छ भने सही समयमा चालिएको सही चालले जितको ढोका खोल्न सक्छ । यस्तै चुनौतीपूर्ण खेलमा ग्लोसीले सानै उमेरमा प्राप्त गरेको सफलताले उनको उज्ज्वल खेल भविष्यको सम्भावना देखाएको अध्यक्ष सत्यालको भनाइ छ ।
ग्लोसिले १० वर्षकै उमेरमा प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु जिल्लाकै लागि गौरवको विषय भएको पनि सत्यालले बताए ।
उनले ग्लोसीलाई बधाई दिँदै आगामी राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेर रामेछापको नाम उच्च राख्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
ग्लोसीका लागि अबको यात्रा अझ महत्वपूर्ण उनले भनाइ छ । प्रदेशस्तरीय सफलतापछि राष्ट्रिय प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट छनोट भएर आएका प्रतिभाशाली खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर उनले पाउनेछिन् । यो अवसर उनको खेल जीवनमा थप अनुभव र आत्मविश्वास हासिल गर्ने महत्वपूर्ण खुड्किलो बन्न सक्नेछ ।
सानै उमेरमा हासिल गरेको सफलतालाई निरन्तरता दिन उचित प्रशिक्षण, नियमित अभ्यास, पारिवारिक साथ र सम्बन्धित निकायको प्रोत्साहन उत्तिकै आवश्यक हुन्छ । यस्ता प्रतिभाको पहिचान गरी संरक्षण र विकास गर्न सके भविष्यमा रामेछापबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने सम्भावना बलियो बन्न सक्छ ।
ग्लोसीले बुद्धिचालको बिसातमा हासिल गरेको जित एउटा प्रतियोगिताको उपाधि मात्रै होइन, साना सपना बोकेर अघि बढिरहेका बालबालिकाका लागि प्रेरणाको सन्देश पनि हो । उमेर सानो भए पनि लक्ष्य ठूलो हुन सक्छ र निरन्तर प्रयासले सफलताको बाटो खोल्न सक्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् ।
