सुनापति र खाँडादेवि गाउँपालिकाको सीमा विवाद मिल्यो

 बुधबार, माघ १६, २०७५ | onlinenews
Share this

रामेछाप– राज्यको पुनःसंरचना भई स्थानीय तह बनेसँगै जिल्लाको सुनापति गाउँपालिका र खाँडादेवि गाउँपालिको बीचमा रहँदै आएको सीमा विवादको विषय सुल्झिएको छ ।
सुनापति र खाँडादेवि गाउँपालिकाको सीमा विवादको विषयलाई लिएर सोमबार रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सीमा विवादको विषयलाई टुङ्गो लगाएको हो ।
२०३२ सालमा अँधेरीखेलालाई साविक चोप्राङ्ग गाउँपञ्चायत र दिमीपोखरी गाउँपञ्चायतको सीमाना कायम गरि नापनक्सा भएकोमा २०३८ साल मंसिर २६ गते जिल्लाको गाउँपञ्चायतको सीमाना हेरफेर तथा वडा विभाजन सम्बन्धि बैठकको निर्णयबाट साविक चोप्राङ्ग र दिमीपोखरीको सीमानाको पूर्व अग्लेश्वर महादेव डाँडा, गाल्वा भञ्ज्याङ्ग थुम्की डाँडा हुँदै डोग्मा गाउँपञ्चायतको सीमाना पश्चिममा खानीखोला उत्तरपूर्वि सीमाना अग्लेश्वर हुँदै घाटडाँडा खानीखोला दोरम्बा गाउँपञ्चायतको साविकको सीमाना दक्षिणमा प्रस्तावित डोग्मा गाउँपञ्चायतको सीमाना कायम रहेको देखिएकाले सोही बमोजीमत सीमाना कायम हुने गरि विवाद मिलाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापको अनुसार साविक चोप्राङ्ग हाल खाँडादेवि गाउँपालिका र साविक दिमीपोखरी हाल सुनापति गाउँपालिकामा पर्ने हुँदा खाँडादेवि र सुनापति गाउँपालिकाको सीमाना तत्कालीन गाउँपञ्चायतले सिमाङ्कन गरेअनुसार नै सीमा कायम रहने गरि निर्णय गरिएको छ ।
साथै बैठकले गाल्वा भञ्ज्याङ्ग क्षेत्रमा पर्ने सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरि कसैलाई पनि घर टहरा बनाउन नदिने निर्णय गरेको पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
त्यस क्षेत्रमा पर्यटकीय तथा अन्य विकासको लागि सम्बन्धित निकायको स्वीकृति लिई खाँडादेवि गाउँपालिका र सुनापति गाउँपालिकाले संयुक्त पहल गर्ने पनि निर्णय भएको छ ।

Share this

प्रतिकृया

Add