एक ब्यक्तिको जग्गा किर्ते गरेर अर्कै ब्यक्तिको नाममा पास

 सोमवार, फाल्गुन ६, २०७५ | onlinenews
Share this

रामेछाप- जिल्लाको खाँडादेवि गाउँपालिका–१ राकाथुममा रहेको एक ब्यक्तिको जग्गा अर्कै ब्यक्तिले जालसाँजी गरि बिक्री गरेको खुलासा भएको छ ।
खाँडादेवि गाउँपालिका–१ कोथवेमा बखान सिं तामाङ र दिर्गबहादुर तामाङको नाममा संयुक्त जग्गाधनी पूर्जा रहेको १९ रोपनी १२ आना ३ पैसा जग्गा बखान सिं तामाङको छोरा दिर्गराजले भक्तपुर जिल्ला दुवाकोट नगरपालिका–९ चाँगुका उमेश थापालाई बिक्री गरेका हुन् ।
बखान सिं का छोरा दिर्गराजले दिर्गराज तामाङ र दिर्गबहादुर तामाङ नाम गरेको ब्यक्ति एकै हुन भनि वडा कार्यालयबाट सिफारिस बनाई जग्गा धनी पूर्जामा नाम संसोधन गरि जग्गा आफ्नो नाममा ल्याएर उमेश थापालाई बिक्री गरेका थिए ।
खाँडादेवि गाउँपालिकाको खनियापानीमा रहेको आफ्नो बुबाको नामको कित्ता नम्बर ३÷ङ ५९ को जग्गा बिक्री भएको हल्ला सुनेपछि जिल्ला मालपोत कार्यलय रामेछापमा आएर बुझ्दा किर्ते गरि जग्गा बिक्री भएको खुलेको दिर्घबहादुरको छोरा हिराबहादुर घिसिङले बताए ।
२०७५ साल कार्तिक १६ गते जग्गा बिक्री गरेको पाइएपछि दिर्गबहादुरका छोरा हिराबहादुर घिसिङले आइतबार जिल्ला अदालत रामेछापमा उजुरी समेत दिएका छन् ।


आफ्नो बुबाको नाममा रहेको जग्गा वडा कार्यालय र मालपोत कार्यालयको मिलेमतोमा किर्ते कागजपत्र खडा गरि जग्गा अर्कै ब्यक्तिको नाममा बिक्री गराएको हिरामानको आरोप छ ।
वडा कार्यालयबाट नाम संशोधनको गर्न सिफारिस लिनको लागि साँक्षी राखिएको ब्यक्तिहरुको नाममा समेत किर्ते हस्ताक्षर गरिएको खुलेको छ । नाम संसोधनको लागि सिफारिस दिन आपूmले साँक्षी नबसेको सिफारिसका लागि स्थानीयको मुचुल्कामा साँक्षी बनाइएका यसविक्रम लामाले बताए ।
‘उनले भने– गत वैशाख २१ गतेको दिनमा सिफारिसको लागि राखिएको साँक्षीमा मेरोे पनि नाम रहेछ तर त्यस दिन म सर्लाहीको खोलाखर्क प्रहरी चौकीमा ड्यूटिमा थिएँ । प्रहरी असई समेत रहेका उनले भने मैले पछि थाहा पाएँ मेरो नाम पनि साँक्षीमा राखिएको रहेछ ।
साँक्षीमा मेरो नाम र नागरिकता नम्बर उल्लेख गरिएको छ तर त्यसमा उल्लेख भएको मेरो नागरिकता नम्बर समेत मिलेको छैन । मेरो नाममा ल्याप्चे लगाइएको छ, यो कस्ले गरेको हो मलाई थाहा छैन उनले भने ।


यमविक्रम लामाले भने– किर्ते कागज बनाएको मेरी श्रीमति रबिना बम्जनले थाहा पाएपछि सो कागजको आधारमा सिफारिस नदिन वडा अध्यक्षलाई जानकारी गराउँदा गराउँदै पनि वडा अध्यक्षले सिफारिस दिए छ ।
नाम संशोधनको लागि वडा सिफारिस लिन उठाएको मुचुल्कामा पाँच जना ब्यक्तिलाई साँक्षी राखिएकोमा साँक्षी राखिएका पाँचै जना ब्यक्तिको नागरिकता नम्बर नमिलेको र उनीहरुले हस्ताक्षर समेत नगरेको आपूmलाई जानकारी दिएको पीडित हिराबहादुरले बताए ।
यस विषयमा वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठले भने आफूले मुचुल्काको आधारमा सिफारिस दिएको बताएका छन् । यसमा वडा कार्यालयको कुनै गलत नियत छैन पाँच जना ब्यक्तिको नागरिकता नम्बर सहित नाम उल्लेख गरेर मुचुल्का आएकाले सोही आधारमा सिफारिस दिएको हो, वडा अध्यक्ष श्रेष्ठले भने ।
त्यस्तै जिल्ला मालपोत कार्यालय रामेछापले पनि कागजातको आधारमा कार्यालयले जग्गा धनी पूर्जामा नाम संशोधन गरिदिएको बताएको छ । मालपोत कार्यालयले प्रमाणको आधारमा नाम संशोधन गरिदिएको भन्दै यसमा मालपोत कार्यालयको कुनै गल्ती नरहेको जिल्ला मालपोत कार्यालय रामेछापका सूचना अधिकारी दिनेश भण्डारीले बताए ।
जग्गा धनी दिर्गबहादुरको मृत्यु भइसकेको र बखान सिं तामाङ  ३५ सालदेखि बेपत्ता रहेको बताइएको छ ।

Share this

प्रतिकृया

Add