निर्माण ब्यवसायिको चरम लापर्वाहीः गाविस भवन अझै बनिसकेन

 मङ्लबार, फाल्गुन १४, २०७५ | onlinenews
Share this

रामेछाप– रामेछाप जिल्लाको दोरम्बा गाविस भवनको निर्माण कार्य अझै पनि पूरा भएको छैन । दोरम्बा गाविस भएकै बेला निर्माण प्रारम्भ गरिएको गाविस भवन निर्माण ब्यवसायिको लापर्बाहीको कारण सम्पन्न हुन नसकेको हो ।
निर्माण ब्यवसायिले भवन निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको पाइएपछि स्टिमेटअनुसारको निर्माण सामाग्री प्रयोग गर्न निर्माण ब्यवसायिलाई अग्रह गर्दा निर्माण ब्यवसायि काम नै नगरि भागेको स्थानीयको भनाई छ ।
तत्कालीन शान्ति मन्त्रालयको आर्थिक लगानीमा बहु वर्षे कार्यक्रम अन्तर्गत तत्कालीन जिल्ला प्राविधिक कार्यालय रामेछापले निर्माण गरेको भवन टेन्डर प्रक्रियाबाट निर्माणको जिम्मा पि.एन.के. निर्माण सेवाले पाएको थियो ।
पि.एन.के. निर्माण सेवाको सञ्चालक प्रेमबहादुर तामाङ हाल रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका अध्यक्ष छन् ।
निर्माण कम्पनी र जिल्ला प्राविधिक कार्यालयबीच भएको सम्झौता अनुसार सो भवन आर्थिक बर्ष २०६५÷०६६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर सो समयमा भवन निर्माण सम्पन्न नभएपछि पुनः म्याद थपि २०६८ सालमा बुझाउनु पर्ने गरी सम्झौताको अवधि थपिएको तत्कालिन गा.वि.स कार्यालयले जनाएको छ ।


पि.एन.के निर्माण सेवाले निर्माण सम्पन्न गरी २०६८ सालमा तत्कालिन गाविसलाई भवन बुझाउने सम्झौता भएपनि ठेकेदारको लापरवाहीका कारण अझै पनि हस्तान्तरण हुन सकेको छैन ।
२०६८ सालमा जिल्लाबाट गएको अनुगमन टोलीले भवन निर्माणमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको पाएपछि कार्यालयले भवन बुझ्न अस्विकार गर्दै स्टिमेट अनुसारको भवन निर्माण गर्न ठेकेदारलाई सुझाव दिएको थियो ।
स्टिमेट अनुसार भवनमा सख्वाको काठ हुनुपर्नेमा उत्तिसको काठ प्रयोग गरिएको, सिमेन्ट र बालुवाको मात्रा नमिलेको, भवन प्राविधिक डिजाइन बिपरित निर्माण भएको, भवनमा लगाइएको गाह्रो बांङ्गोटिंङ्गो रहेको र ढलान गरिएको छतबाट पानी चुहिने पाइएको तत्कालिन अनुगमन समितिका सदस्य लिला तामाङले बताए ।
अनुगमनको क्रममा गुणस्तरहिन भवन निर्माण भएको पाइएपछि निर्माण व्यवसायीले पाउनुपर्ने बाँकी भुक्तानी रकम समेत रोक्का गर्न जिल्ला प्राबिधिक कार्यालयमा अनुगमन प्रतिवेदन पेश गरिएको पनि तामाङले जानकारी दिए ।
बहुबर्षे कार्यक्रम अन्तर्गत भवन निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले ११ लाख रुपैंयासम्म रकम भुक्तानी लिएको तत्कालिन प्राविधिक कार्यालयले जानकारी दिएको छ ।
भवन निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग भइरहँदा निर्माण व्यवसायीलाई पटक पटक स्टिमेट अनुसारको निर्माण सामाग्री प्रयोग गर्न सुझाव दिँदा पनि निर्माण व्यवसायीले अटेर गरेको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।
भवन निर्माण गर्ने कामदारलाई समेत आफूहरुले सुझाव दिएको तर उनीहरुले हामीलाई यहि अनुसारको काम गर्नू भनी ठेकेदारले अहराएको भन्दै कामको गुणस्तरमा सुधार नगरेको स्थानीयले गुनासो गरे ।
गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई चौतर्फी दबाव परेपछि निर्माण व्यवसायी प्रेमबहादुर तामाङ भवन निर्माणको कामै छाडेर भागेको स्थानीयको भनाई छ । त्यसपछि अहिलेसम्म ठेकेदार तामाङ नआएको स्थानीयले बताए ।
यस बिषयमा हाल खाँडादेवि गाउँपालिका अध्यक्ष समेत रहेका ठेकेदार तामाङले भने भवन निर्माणको केहि काम बाँकी रहेको भए पनि भवन बुझिदिन अनुरोध गरि प्राविधिक कार्यालयमा कागजपत्र पेश गरेको बताए ।
ठेकेदार तामाङले आफूले सो भवन निर्माण बापतको ४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको पनि बताएका छन् ।
निर्माण ब्यवसायिले प्राविधिक स्टिमेट विपरीत भवन निर्माण गरेको र गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेकाले भवन नबुझेको प्राविधिक कार्यालयको भनाई छ । निर्माण ब्यवसायिले काम सम्पन्न नगरेको कारण निर्माण कम्पनीको धरौटी समेत रोक्का राखिएको बताइएको छ ।

१० लाख लगानीमा भवन मर्मत ग¥यो वडाले

निर्माण ब्यवसायिले निर्माणाधिन भवन अलपत्र छाडेर हिडेपछि दोरम्बा गाउँपालिका वडा नम्बर २ ले मर्मत गरि वडा कार्यालय सञ्चालन गर्दै आएको छ ।
ठेकेदारले अलपत्र छोडेको सो भवन मर्मत गर्न वडा कार्यालयको १० लाख रुपैयाँ खर्च भएको दोरम्बा गाउँपालिका–२ का अध्यक्ष खड्कबहादुर श्रेष्ठले बताए ।
भवनको ढलान गरिएको छतबाट पानी चुहिने भएकाले छतमा पुन ढलान गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । भवनको गाह्रोमा छुँदा समेत बालुका फुर्रफुर्र झर्ने अवस्था थियो । भवनको भित्रीबाहिरी गाह्रो पनि वडा कार्यालयले पुनः मर्मत गरेको छ ।
भवन मर्मत गरेर वडा कार्यालय सञ्चालन गरिएको भए पनि निर्माण ब्यवसायिले सो भवन आधिकारी रुपमा अझै पनि हस्तारन्तरण नगरेको दोरम्बा गाउँपालिकाले जनाएको छ ।
राज्यको पुनःसंरचनापछि सो भवन दोरम्बा गाउँपालिकालाई बुझाउनु पर्ने भएपनि अहिलेसम्म बुझाएको छैन ।

(यो समाचार निगरानी समूह रामेछापले तयार पारेको हो ।)

Share this

प्रतिकृया

Add