विद्यालयमा स्यानेटरी प्याड दिएपछि छात्राहरु नियमित विद्यालय आउन थाले

 बुधबार, असार १८, २०७६ | onlinenews
Share this

रामेछापः सुनापति गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशूल्क स्यानेटरी प्याडको ब्यवस्था गरेको छ । महिनावारी भएको बेलामा पनि छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण बनाउन निःशूल्क स्यानेटरी प्याड प्रदान गरेको हो ।
विद्यालयमा अध्ययनरत छात्राहरुको लागि सुनापति गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा निःशूल्क स्यानेटरी प्याड वितरण गरेको हो । महिनावारी भएका छात्राहरुलाई विद्यालय नियमित गराउँनको लागि निःशूल्क स्यानेटरी प्याड प्रदान गरिएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए ।


महिनावारी भएको अवस्थामा छात्राहरु विद्यालय नआउदा पढाइमा बाधा पुगेकाले नियमित विद्यालय आउने वातावरण बनाउन स्यानेटरी प्याड वितरण गरिएको उनको भनाई छ । स्यानेटरी प्याड प्रयोग गर्दा महिनावारी भएको बेला हुनसक्ने संक्रमणबाट समेत बचाउने श्रेष्ठले बताए ।
विद्यालयमै स्यानेटरी प्याडको ब्यवस्था भएपछि छात्राहरु महिनावारी भएको समयमा पनि नियमित विद्यालय आउँने गरेको पशुपति माध्यमिक विद्यालय हिलेदेविकी शिक्षक सुजता मोक्तानले बताइन ।
चालू आर्थिक वर्षमा सुनापति गाउँपालिकाको पशुपति माध्यमिक विद्यालय हिलेदेविमाका छात्राहरुको लागि मात्र स्यानेटरी प्याड प्रदान गरिएको र आगामी आर्थिक वर्षदेखि गाउँपालिकाभित्र रहेको १२ वटा माध्यमिक विद्यालयका छात्राहरुलाई स्यानेटरी प्याड निःशूल्क वितरण गरिने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले बताए ।
रामेछाप जिल्लाको ८ वटा स्थानीय तह मध्य सुनापति गाउँपालिका सबैभन्दा धेरै माध्यमिक विद्यालय भएको गाउँपालिका पनि हो ।

Share this

प्रतिकृया

Add