Logo

न्यूनतम सेवा मापदण्डमा मन्थली अस्पतालको १६ अङ्क सुधार



रामेछाप- मन्थली अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको मूल्याङ्कनमा गत वर्षको तुलनामा १६ अङ्क सुधार गरेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले गरेको स्थलगत मूल्याङ्कनमा अस्पतालले यस वर्ष ७० अङ्क प्राप्त गरेको हो ।

गत वर्ष पहिलोपटक गरिएको मूल्याङ्कनमा मन्थली अस्पतालले ५४ अङ्क प्राप्त गरेको थियो । सेवा प्रवाह, अस्पताल व्यवस्थापन तथा उपलब्ध स्वास्थ्य सेवाको अवस्थाबारे गरिएको यस वर्षको मूल्याङ्कनमा अस्पतालले ७० अङ्क प्राप्त गरेको हो ।

सिन्धुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुशान्त खड्काको नेतृत्वमा आएको टोलीले अस्पतालको स्थलगत मूल्याङ्कन गरेको थियो । बिहीबार आयोजित कार्यक्रममा मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको हो ।

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा सुशासनतर्फ २० प्रतिशत, चिकित्सकीय सेवातर्फ ६० प्रतिशत र सहयोगी सेवातर्फ २० प्रतिशत भार निर्धारण गरिएको थियो । समग्र मूल्याङ्कनमा अस्पतालको अवस्थामा सुधार देखिए पनि केही पक्षमा अझै सुधार गर्नुपर्ने डा. खड्काले बताए ।

उनका अनुसार विशेषगरी सुशासनसँग सम्बन्धित औजारको प्रभावकारी कार्यान्वयनमा अस्पतालले ध्यान दिन आवश्यक छ । साना–साना सुधारका कामलाई निरन्तरता दिन सके आगामी मूल्याङ्कनमा थप सुधार हुनुका साथै सेवा प्रवाहको गुणस्तरसमेत बढाउन सकिने उनले बताए ।

अस्पतालको बाह्य मूल्याङ्कनमा सुधार देखिए पनि आन्तरिक मूल्याङ्कनको नतिजा भने वर्षअनुसार उतारचढावपूर्ण देखिएको छ । अस्पताल प्रमुख डा. केशव धामीका अनुसार आर्थिक वर्ष २०७९/८० मा आन्तरिक मूल्याङ्कनमा अस्पतालले ८७ अङ्क प्राप्त गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ९०.६७ र २०८१/८२ मा ८९.४७ अङ्क प्राप्त गरेको अस्पतालको अङ्क गत आर्थिक वर्ष २०८२/८३ मा घटेर ६८ मा पुगेको थियो । चालु आर्थिक वर्ष २०८३/८४ मा भने आन्तरिक मूल्याङ्कनको अङ्क बढेर ७५ पुगेको छ ।

जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा मन्थली अस्पतालले प्राप्त गरेको ७० अङ्कलाई उपलब्धिका रूपमा व्याख्या गरे । उनका अनुसार अस्पताल रामेछापका नागरिकका साथै आसपासका जिल्लाका बासिन्दाका लागि समेत उपचारको केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले अस्पताललाई नगरको गौरवका रूपमा उल्लेख गर्दै सेवा प्रवाहका क्रममा देखिएका कमजोरी सुधार गरी स्वास्थ्य सेवाको गुणस्तर बढाउने प्रतिबद्धता जनाए । सबै पक्षको प्रयासका कारण गत वर्षको तुलनामा यस वर्ष १६ अङ्क बढी प्राप्त गर्न सफल भएको उनले बताए ।

मन्थली अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गरी थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास लामो समयदेखि हुँदै आए पनि त्यसले पूर्णता पाउन नसकेको श्रेष्ठले बताए ।

मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी २०७८ माघ २७ देखि १५ शय्याको मन्थली नगर अस्पतालका रूपमा सञ्चालन गर्दै आएको छ । अस्पतालले रामेछापसहित दोलखा, सिन्धुली, ओखलढुङ्गा र सोलुखुम्बुका दैनिक २५० भन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्