
नेपाल शिक्षक महासंघको झन्डै १ महिनादेखि चालु आन्दोलन वैशाख १४ गते एकाएक हिंसात्मक बन्यो । नयाँ बानेश्वरमा प्रहरीको निषेधित घेरा तोड्न खोजेका शिक्षकहरुलाई पानीको फोहोरा र लाठी प्रहार गर्दै प्रहरीले बल प्रयोग गरेको देखियो । बल प्रयोगबाट शिक्षकहरु घाइते भए । कसैको आँखामा चोट लागेको देखियो भने कसैको हात गोडामा चोट लाग्यो । घाइते हुनु र चोट लाग्नु अति नै सघन अवस्था हो । धेरैदिनदेखि शान्तिपूर्ण बनेको आन्दोलन एकाएक १४ गते हिंसामा परिणत हुनु धैर्यको बाँध फुटेको अवस्थाको परिणाम हो भन्न सकिने ठाउँ धेरै छन् ।
शिक्षकहरुको आन्दोलनको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकका एक प्रयोगकता कपिल गोत्रिय सुवास बोहोरा आफ्नो मत राख्दै लेख्छन्, ‘परिवार पाल्नैका लागि देश छोडेर कयौँ नेपाली विदेशिनु परेको छ । देशमै बसेर शिक्षकहरुले जसोतसो गुजारा चलाकै थिए । नेपाली भविश्यका कर्णधारहरु उत्पादन गर्दै थिए । अहिले आन्दोलन भनेर होमिएका छन् । माग कति जायज होलान् कति नाजायज होलान् ? त्यो समीक्षाको विषय बन्ला । वैदेशिक सहायताले राहत दरबन्दी चलेकै छ । देशको आर्थिक अवस्था कस्तो छ ? राज्यले धान्छ कि धान्दैन ? त्यो राज्यले बुझ्ला । सरकार कति हेरेर बसेको ? कि माग सम्बोधन हुन्छ भन्नु कि हँुदैन भन्नु ? यो यो कारणले शिक्षकहरुको माग सम्बोधन गर्न सक्दिन भन्नु । शिक्षकहरु पनि आन्दोलन भनेर जादु देखाएर, नाचेर÷नचाएर मात्र नबस्नु कि वारपार गर्नु घाइते मात्र हैन आँखा फुटाउने मात्र हैन राज्यले अन्याय नै गरेको छ भने २÷४ जना शहिद हुन पनि तयार हुनु ! धेरै डर लाग्छ भने आफ्नो स्कुलमा गएर पढाउनु । ल्याङल्याङ धेर भो ।
यस्ता धेरै कुराहरु सामाजिक संजालमा पढ्न पाइने गरेको छ । बोहोराको यस प्रतिनिधिमूलक भनाइले शिक्षकहरुको चालु आन्दोलन कता जाँदैछ ? भन्ने पेचिलो प्रश्न अब सामुन्नेमा खडा भइसकेको छ । निजी विद्यालयहरुले नियमित कक्षा सञ्चालन गरेको करिब १० दिन भइसक्यो तर सामुदायिक विद्यालयका बच्चाहरु शिक्षक आन्दोलनको नतिजा कुरेर बसेकै छन् । रुपमा हेर्ने हो भने शिक्षकहरुको आन्दोलनले चालु शैक्षिक सत्रमा आकासै झर्ने खालको क्षति गरिसकेको छैन । सामान्यतया वैशाख १५ गतेसम्म भर्ना अभियानकै रुपबाट अघिल्ला शैक्षिक सत्रहरु संचालन भएका थिए । यो वर्ष पनि पढाइ सुरु हुनेबेला भइसकेको छैन सामुदायिक विद्यालयहरुमा । तर सारमा नियाल्दा यो आन्दोलनले निजी विद्यालयमा आफ्ना बालबालिकाहरुलाई पढाउनै पर्ने बाध्यतामा अभिभावकहरुलाई धकेल्दिइ सकेको छ । शिक्षकका मागहरु कति जायज छन् ? कति नाजायज छन् ? भन्ने चेतना उस्तो अभिभावकहरुमा छैन । कति अभिभावकहरुलाई त शिक्षकहरुले किन आन्दोलन गरिरहेका छन् ? भन्ने समेत मेसो छैन । यस्तो अवस्थामा कि त आफ्ना बच्चालाई घरमा नै घाँस दाउरा गराएर राख्नु पर्यो होइन भने निजी विद्यालयमा लैजानुको विकल्प छैन । शिक्षकहरुको आन्दोलन कहिलेसम्म त ? अभिभावक वृत्तले अब यो सवाल उठाउन थालिसकेका छन् ।
माथि उल्लेखति बोहोराको प्रसंगलाई फेरि फर्किएर हेरौँ है त ? आन्दोलनलाई वार कि पार लगाउनका लागि रगतको बलिदानी दिन शिक्षकहरु तयार भएकै हुन् ? २/४ जना सहिद नभई यो आन्दोलन रोकिनेवाला छैन ? के सरकार यही चाहन्छ ? शिक्षकहरु भन्छन् एक थान शिक्षा ऐन नबोकी घरै नफर्किने तर सरकार कुनै पनि हालतमा ऐन जारी गर्ने नसक्ने । दिन सक्ने र नसक्ने बिचको लडाईँमा बलिको बक्रा किन विद्यार्थीहरुले बनिरहनु पर्ने ?
आफ्नो माग पूरा गराउन, हक अधिकारलाई सुनिश्चित गराउनका लागि सडकमा होमिएका शिक्षकहरुको यो सङ्घर्ष नाजायज होइन । निजामति कर्मचारी हरेक ५/५ वर्षमा बढुवा भइरहने, शिक्षकको भन्दा आकर्षक खान्गी खान पाउने तर शिक्षकहरुलाई भने अनुबन्धित भएको २० औँ वर्षमा पनि उही खान्गीमा रहिरहनु पर्ने अवस्थाको विरुद्धमा यो आन्दोलन मुख्यतया केन्द्रीत हुनु स्वभाविकै हो । यसलाई स्वभाविक मान्दै जाँदा शिक्षकहरुले दिएको शैक्षिक नतिजा र सरकारले खोजेको परिणाम बिचको यो अन्तर्यमा प्रश्न उठाउने पनि त ठाउँ प्रसस्तै हुन्छ होला नि ?
दिन प्रतिदिन घिनलाग्दो अवस्थामा हेलिँदै गरेको सामुदायिक शिक्षाको नतिजा विश्लेषण पनि हुनु पर्ला नि ? शिक्षक सेवा आयोगबाट सिफारिस भएर बिताएको ८ महिने परीक्षण कालपछि सकेसम्म घरको ढोकैमा भएको विद्यालयमा टाँसिइरहन चाहने लालसाको पनि विश्लेषण हुनु पर्ला नि ? विभिन्न चुनावहरुमा कतिपय खुलेरै वा कतिपय लुकीलुकी नेताको गुलामी गर्न लाम लाग्ने र यो मेरो पार्टीभन्दै झन्डा उठाउने शिक्षकहरुको नैतिकताको पनि विश्लेषण हुनु पर्ला नि ? एउटा विद्यालय व्यवस्थापन समिति गठन गर्दा यो पार्टीको ठिक त्यो पार्टीको बेठिक भन्दै काइते रोल खेल्न खप्पिस प्रधानाध्यापक तथा अन्य शिक्षकहरुको रवैयाको पनि त विश्लेषण हुनु पर्ला नि ? कि पर्दैन र ?
विभिन्न क्षेत्रका निजामती कर्मचारीहरुको कार्यशैलीको कारण आएका नतिजाहरु कर्मचारीहरुले गरेको मेहनत तथा लगनकै कारण सम्भव भएका हुन् । ९८ प्रतिशत विद्यालयलाई छोडेर २ प्रतिशत (करिब) विद्यालयहरुले गरेको राम्रो शैक्षिक व्यवस्थापलाई हवाला दिँदै सामुदायिक विद्यालय सबै कहाँ नराम्रा छन् र ? भनेर दिने ओठे जवाफको परिणाम सरकारले देखाइदिएको छ । झोलेगिरी, हुनमानगिरी जस्ता शब्दहरु यदि शिक्षकहरुको शैलीलाई प्रयोग गर्न मिल्छ यदि भने यो आन्दोलनबाट सरकारले शिक्षकलाई हालका दिनसम्म जिल्ल्याईदिई सकेपछि अब राजनैतिक पार्टीबाट लिएको पार्टी सदस्यता त्याग्न सक्ने कि नसक्ने ? प्रमुखतः नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी अनि केही मधेसवादी दलहरुको खानपान खाएर चिल्ला भएका शिक्षकहरुको आँखा अब कहिले खुल्ने ? समाज र सरकारस्तरमा शिक्षकहरुलाई गरिएको यो हदसम्मको बेवास्ता भोगिसक्दा पनि अझै भातृसंगठनको भजन गाउँन लागिरहने हो भने प्रिय शिक्षक मित्रहरु, तपाईँहरुको पुस्ताले यो देशको शैक्षिक भविष्यमाथि जुवा खेलिरहेको छ भन्ने अब दायाँबायाँ हेर्नै पर्दैन ।
हुन त यहाँसम्म आइपुग्दा शिक्षकहरुको गरिमालाई नजरन्दाज गरिएको पक्कै पनि होइन । तर तपाइँहरुकै कार्यशैलीले आज खाटमा बसेको कुकुरलाई मालिकले लात्ताले हानेर कुइँकुईँ पारिदिएको जस्तो लाक्षणिक व्यवहारले अझै आन्दोलबाट परिणाम निस्केला भन्ने सोच्नुहुन्छ ?
केपी ओली नेतृत्वको सरकारले शिक्षकहरुलाई जिल्ल बनाउने कुरामा कुनै द्विविधा छैन । आफ्नो शिक्षण र व्यवहारिक शैली परिवर्तन गरी अबको लगभग १ दशक पछि मात्रै तपाईँहरुको माग पूरा हुने नैतिक समय हो । सकेसम्म काम गर्नु नपरे हुन्थ्यो । नपढाइ आकर्षक तलब बुझ्न पाए हुन्थ्यो । घिनलाग्दो राजनीतिको दलदलमा जान पाए हुन्थ्यो भनेर सोच्ने करिब ९९ प्रतिशत तपाईँ शिक्षकहरुलाई अहिले खाइपाइ आएको यही सुविधा बढी भएको छ । करिब १ महिनाको समय हुन लागिसक्यो । के तपाईँहरु माइतीघरदेखि बानेश्वरसम्मको सडकमा जादु हेरेर-हेराएर, रत्यौली खेलेर-खेलाएर, नाचगान गरेर÷गराएर तलबी खातामा बज्ने एक महिनाको तलबी घण्टी म्यासेज कुरेरै त बस्नु भएको होला नि ? कि सक्नुहुन्छ खुलेआम आन्दोलनमा गएको समयको तलब लिँदैनौँ भनेर ? सक्नुहुन्छ यो भन्न ? सक्नुहुन्न किनकी तपाईँहरु आफूहरुलाई खाइपाई कम भो भन्ने मूख्य माग बोकेर सडकमा उत्रिनु भएको छ । यो लालची पनाले तपाईँहरुलाई त्यसो गरेर नैतिकता स्थापना गर्न कहाँ दिन्छ र ?
त्यसैले आन्दोलन अझै लम्ब्याउनुस् किनकी यो समाजलाई तपाईँहरुले नैतिक जवाफ दिनु जरुरी छैन । पढाउनु नपरी सडकमा नै मोजमस्तीले नाचगान गरिरहन पाइन्छ भने किन रोक्नु आन्दोलन ? आखिर हिजो कक्षामा पनि सकेसम्म पढाउनु नपरे हुन्थ्यो भनेर समय छल्न कति सजिलो थियो है ? अब भन्नुस् त माड्साब्, यहाँहरुलाई नैतिक प्रश्न गर्न मिल्छ कि मिल्दैन ?
(लेखक पत्रकारिता पेसामा आवद्ध छन् ।– सम्पादक)