रामेछाप- सङ्घीय सरकार होस् या प्रदेश सरकार अनि स्थानीय सरकार नै किन नहोस्, विकास निर्माणका काम आर्थिक वर्षको अन्तिममा सम्झौता गर्ने र हतारमा काम गरेर असारमा भुक्ती गर्ने चलन धेरैजसो पालिकाहरुमा अहिलेपनि कायमै छ । साउन महिनाबाट नयाँ आर्थिक वर्ष सुरु हुने भएपनि आर्थिक वर्षको अन्तिमतिर चैत्र, वैशाखमा योजना सम्झौता गर्ने र विकासको योजनाहरु सम्पन्न गर्ने नाममा कमजोर संरचना निर्माण गर्ने परम्पराका कारण दीगो विकास हुन सकिरहेको छैन । यो परम्परा सङ्घ, प्रदेश र अधिकांश पालिकाहरुमा अहिले पनि कायमै छ ।
स्थानीय सरकारसँग अहिले पनि असारे विकासको मानसिकता कायमै रहेको भनि आलोचना भइरहेको बेला रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले भने असोज महिनामै योजना सम्पन्न गरेर भुक्तानीसमेत दिइसकेको छ । रामेछाप नगरपालिका वडा नम्बर ७ को देवीथान धाराछाप पाल्ते सडक स्तरोन्नतीको योजना असोज महिनामै सम्पन्न गरेर भुक्तानीसमेत भइसकेको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिए । सङ्घीय सरकारको समानिकरण कार्यक्रम अन्तर्गत ४ लाख ५० हजार रुपैयाँको उक्त योजना निर्माण सम्पन्न गरेर भुक्तानी दिइसकेको हो । उक्त योजना अन्तर्गत सडक ग्राभेल गर्ने र ग्याविन वाल लगाउने काम गरिएको छ । योजना सानो रकमको भएपनि जेष्ठ महिनामा सम्झौता गरेर असारमा काम गर्ने प्रचलन रहेको अवस्थामा असोज महिनामै काम सम्पन्न गरेर भुक्तानीसमेत गर्नु यो नयाँ काम मात्र होइन, चालु आर्थिक वर्षको योजना सम्पन्न गरेर पहिलो भुक्तानी गर्ने देशकै पहिलो वडा पनि हुनसक्छ ।
चालु आर्थिक वर्षमा वडामार्फत सञ्चालन गरिने योजनाहरु चैत्र महिनाभित्रै सम्पन्न गरिसक्ने गरी काम भइरहेको पनि वडा अध्यक्ष कार्कीले बताए । कार्कीले भने– ठुला र वहुवर्षीय बाहेकका योजनाहरुको यो वर्ष हामी चैत्रभन्दा पछि कुनै पनि योजनाको भुक्तानी नै गर्दैनौँ, सबै योजनाहरु सम्पन्न गरेर चैत्रभित्रै भुक्तानी दिइसक्ने छौँ ।
