
रामेछाप- २०८१ सालमा सञ्चालन गरिएको एसईई परीक्षामा रामेछाप जिल्लाबाट ७२.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । एसईई परीक्षामा सहभागि भएका २ हजार ३ सय ९ जना परीक्षार्थी मध्ये १ हजार ६ सय ७१ अर्थात ७२.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा रामेछाप जिल्लाबाट २ हजार ३ सय ९ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । जसमध्ये २ सय १३ जनाले ३.६१–४.०० जिपिए ल्याएर उत्तीर्ण भएका छन् । त्यसैगरी ३.२१–३.६० जिपिए ल्याएर ४ सय ८६ जना, २.८१–३.२० जिपिए ल्याएर ६ सय ८१ जना, २.४१–२.८० ल्याएर २ सय ८२ जना र २.००–२.४० जिपिए ल्याएर ९ जना उत्तीर्ण भएका छन् । परीक्षामा सहभागि भएका मध्ये ६ सय ३८ जना ननग्रेड अर्थात फेल भएका छन् ।