Logo

तिल्केस्थान गढीको नेपाली सेनाले मर्मत सुधार गर्दै



टीकाप्रसाद भट्ट


रामेछाप- केही वर्षअघि रामेछाप नगरपालिकाले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) झै चिचिक्क सिङ्गारिएको नभएपनि पूर्खाको वीरताको प्रतिकको रुपमा चर्चा गर्दै आएको तिल्केस्थान गढी आन्तरिक र बाह्य पर्यटकहरुका लागि हेर्न र घुम्न लायक हुने भएको छ ।

मन्थली र रामेछाप नगरपालिकाको सिमानामा पर्ने तिल्केस्थान गढीको मर्मत सुधारका लागि हप्तौदेखि नेपाली सेनाको खड्ग दल गणका सैनिकहरु जुटिरहेका छन् । तिल्केस्थान गढीको मर्मत सुधार मात्र हैन, पूर्खाले बनाएको किल्ला अब जस्ताको तस्तै झल्कने गरी नेपाली सेनाहरुले गढीको सौन्दर्य बढाउने काम गरिरहेका छन् ।

तिल्केस्थान गढीसम्म पुग्ने सडक कच्चि छ । उक्त सडकको सफाइसमेत गरिएको थिएन । गढमिा पुग्दा भग्नावशेष थियो । गढीमा पुगेपछि साविकमा निर्माण भएका कोतघर र किल्लाको चिनोचपेटो थिएन । तर अब कोत र किल्ला उठेका छन् । सेनाले सिन्धुली गढीकैजस्तो किल्ला बनाएर तिल्केस्था गढीको गरिमा बढाउदै छ ।

श्रोतकाअनुसार नेपाली सेनाले धार्मिक तथा ऐतिहासिक क्षेत्रमा विगत देखिनै विभिन्न कार्य गर्दै आएको छ । त्यस अन्तर्गत किल्ला गढी संरक्षणका लागि सेनाले आफ्नो दखल पनि राख्छ ।

तिल्केस्थानमा रहेको खाँडादेवीको मन्दिरको पुनर्निर्माणको काम पनि सेनाले गरिरहेको छ । मन्दिरको दिवालको निर्माण पूरा भएको र अब छानाको काम बाँकी रहेको छ । सैनिक श्रोतकाअनुसार उक्त मन्दिर र किल्ला तथा गढी परिसरको पुनर्निर्माण, मर्मत सुधारका लागि दैनिक २० जना सैनिक लगातार खटिरहेका छन् । सेनाले तिल्केस्थान परिसरमा झन्डै ३० लाखभन्दा बढीको काम गरेको स्थानीको अनुमान छ ।
रामेछाप र मन्थली नगरपालिकाको समन्वयमा सेनाले उक्त क्षेत्रको काम गरेको हो ।

सैनिकले गढी परिसरको ढुङ्गा पन्छाउने क्रममा भगवान विष्णुको पुरातात्विक महत्वको मूर्ति फेला पारेको छ । उक्त मूर्ति कति वर्ष पुरानो हो ? र कसले स्थापना गरेको हो ? भन्ने कुराको तथ्य खुल्न सकेको छैन । स्थानीय शंकरबहादुर थापाले तिल्केस्थानमा भेटिएको मूर्तिको बारेमा विज्ञको सहयोग आवश्यक भएको जनाएका छन् ।
तत्कालिन अवस्थामा नेपालमा सुरक्षाका लागि अग्लो डाँडामा गढी र किल्ला निर्माण गरेर सत्रुको निगरानी तथा लडाइ गर्ने गरिएको थियो । नेपाली फौजले सिन्धुली गढीको युद्धमा गढी, गौडा र आडको प्रयोग गरेर साम्राज्यवादी ब्रिटिस सेनालाई तह लगाएका थिए ।

त्यसैबेला राजा पृथ्वीनारायण शाहले केही गरी सिन्धुली गढीको युद्धमा नेपाली फौज पराजित भइहालेमा रामेछापको तिल्केस्थान गढी र चिसापानी गढीबाट लडाइ गर्नेगरी उक्त गढीहरु निर्माण गराएका हुन् । मन्थली नगरपालिकाले केही वर्ष अघिदेखि चिसापानी गढीको मर्मत सुधार तथा पर्यटन प्रवर्धनका लागि प्रचारप्रसार लगायतको कार्य गर्दै आएको छ । त्यसका अतिरिक्त स्थानीय पाठ्यक्रममासमेत ऐतिहासिक गढी, धार्मिक स्थल र पर्यटकीय स्थानको बारेमा आलेखहरु तयार गरी पठनपाठन गराइदै आएको मन्थली नगरपालिकाले जनाएको छ ।

तिल्केस्थान गढी सिन्धुली गढीको समानान्तर हुने गरी खडा गरिएको थियो । जिल्ला सदरमुकाम मन्थलीभन्दा दक्षिण तर्फको अग्लो डाँडामा यो गढी रहेको छ । रामेछाप –सेलेघाट सडक प्रयोग गरेर उक्त स्थानमा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्