Logo

रामेछापमा पनि मनाइयो प्रथम राष्ट्रिय कोदो दिवस



रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ३ कठजोरमा कोदो रोपेर प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । ‘पारम्परिक आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ सरकारले घोषणा गरेको प्रथम कोदो दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिका–३ कठजोरमा स्थानीय किसान, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाको सहभागितामा कोदो रोपेर दिवस मनाइएको हो । स्थानीय उत्पादन, कृषि प्रवर्धन तथा परम्परागत अन्नवालीप्रतिको जनचासो बढाउन आयोजित कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि लगायत विभिन्न सङ्घसंस्थाहरुको सहभागिता रहेको थियो ।

कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागिहरुलाई स्थानीयले कोदोको सेलरोटी खुलाएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले कोदो जस्तो परम्परागत अन्नको संरक्षण र प्रवर्धनमा राज्यको विशेष ध्यान जानु आवश्यक रहेको बताए । तामाङले हालसालै भारतमा १८ करोडको कोदो निर्यात भएको बताउँदै कोदो बालीको प्रवर्धन गर्नसके राम्रो आम्दानी गर्न सकिने पनि बताए । कोदोमा मानिसको शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व पर्याप्त हुने भन्दै आफूलाई कोरोना लाग्दा रामेछापको गौश्वारको आलु र कोदोको खोलेले बचाएको उल्लेख गरे ।

रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले किसानहरुलाई कोदोबालीको प्रवर्धन गरी उत्पादन वृद्धि गर्न सुझाव दिएका छन् । उनले भने– कोदो बालीको प्रवर्धन गर्नुस् उत्पादन बढाउनुस्, उत्पादन भएको कोदो बिक्री भएन भने रामेछाप उद्योग वाणिज्य सङ्घले बजारको खोजी गर्छ ।

कठजोरको विशेष बालीको रुपमा कोदो रहेको मन्थली नगरपालिका–३ का कार्यबाहक वडाध्यक्ष रमेशबहादुर बरुवालले बताए । नेपाली काङ्ग्रेस रामेछापका उपभसापति लेखबहादुर कार्कीले कोदोलाई मदिराको रुपमा नभई खानाको रुपमा प्रयोग गर्नुपर्ने बताए । उनले भने “अहिले जमाना पुरानैतर्फ फर्किएको छ, हामी सेतो चिज खोज्दा विग्रियौँ, नुन सेतो हुन्छ, नुन धेरै खादा क्यान्सर लाग्छ, चिनी, चामल पनि सेतो हुन्छ, त्यो चिनी र चामलले पनि हाम्रो स्वास्थ्यलाई फाइदा गरेन ।” कोदो स्वास्थको लागि फाइदा हुने अन्न भएकाले कोदो मकैजस्ता खानेकुरामा जोड दिनुपर्ने कार्कीको भनाइ छ । कोदोलाई स्थानीय मौलिक अन्नको रूपमा चिनाउँदै यस प्रकारका दिवसले पारम्परिक कृषि प्रणालीको जगेर्ना मात्र नभई खाद्य सुरक्षामासमेत टेवा पुग्ने सरोकारवाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्