
सिन्धुली- सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा बुधवार गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यार्थी र जनप्रतिनिधिबिच अन्तरसंवाद कार्यक्रम गरिएको छ ।
विद्यालयमा विद्यार्थीहरुले भोग्नु परेको समस्याको बारेमा विद्यार्थीेहरुले सिधै जनप्रतिनिधिसँग राख्ने तथा विद्यार्थी र जनप्रतिनिधिबिच प्रत्येक्ष छलफल साथै अन्तरसंवाद गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विद्यालयमा भएका समस्याहरु खुलेर जनप्रतिनिधि माझ राखेका थिए ।
शिक्षकहरुको सरुवा भइरहँदा पढाइमा बाधा पुगेको, शौचालय र सुद्ध खानेपानीको राम्रो व्यवस्था नभएको, छात्राहरुको लागि महिनावारी हुँदा प्रयोग गरिने स्यानीटरी प्याड गुणस्तरहिन भएको, विद्यालयमा स्मार्ट बोर्ड ल्याइएपनि जडान नगरिएको, अपाङ्गतामैत्री शौचालय र खानेपानीको धारा, कक्षाकोठाको व्यवस्था नभएको, पर्याप्त खेल मैदान नभएको, चमेनागृहको राम्रो व्यवस्था नभएको लगायतका समस्याहरु विद्यार्थीले जनप्रतिनिधि समक्ष राखेको थिए । विद्यार्थीहरुले राखेको समस्याका बारेमा सम्बन्धित वडा अध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास र गाउँपालिका अध्यक्ष विमर्स मोक्तानले जवाफ दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्स मोक्तानले मरिण गाउँपालिका आइटी क्षेत्रमा सबैभन्दा अगाडि रहेको बताए । विद्यालयमा अतिरिक्त क्रियाकलाप नभएको भन्ने विद्यार्थीहरुको प्रश्नको जवाफ दिंदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले असार महिनाभित्रै माध्यमिक विद्यालय स्तरको हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न विद्यालयहरुलाई निर्देशन दिएका छन् । त्यस्तै विद्यालय स्तरमा नृत्य, गायन, खेलकुद लगायतका कार्यक्रमहरु पनि सञ्चालन गर्न उनले विद्यालयहरुलाई आग्रह गरेका छन् । स्मार्ट बोर्ड विद्यालयमा आइपुगेको भन्दै दुईदिनभित्र उक्त बोर्ड विद्यालयमा जडान गरिसक्न पनि प्रमुख प्रशासकीय अधिकृत सुन्दासले गाउँपालिकाका आइटी इञ्चार्जलाई निर्देशन दिएका छन् ।
गाउँपालिका अध्यक्ष विमर्स मोक्तानले मरिण गाउँपालिका आइटीको क्षेत्रमा अरु पालिकाभन्दा अगाडि रहेको बताए । गाउँपालिका अध्यक्ष मोक्तानले विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ दिंदै विद्यालयहरुमा सुद्ध खानेपानीको व्यवस्था गरिएको बताउँदै अपुग भएका ठाउँमा सुद्ध खानेपानीको व्यवस्था गर्ने बताएका छन् । शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको बताउँदै यस वर्षको लागि यस वर्षका लागि शिक्षामा मात्रै मरिण गाउँपालिकामा २ करोड ३० लाख रुपैयाँ बजेट आएको बताए । गाउँपालिका मार्फत ६० लाख रुपैयाँको आइसिटी उपकरण वितरण गरिएको पनि उनले बताए । गाउँपालिकाले निर्माण गरेको संरचनाहरु बालमैत्री साथै अपाङ्गमैत्री भएको पनि उनले बताए । हिड्न नसक्ने अपाङ्गता भएकाहरुलाई ह्वीलचियर वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।
प्रतिनिधिसमा सदस्य लेखनाथ दाहाल (राजन)ले शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी लगानी गर्नुपर्ने मान्यता आफूहरुले राखेको बताउँदै मरिण गाउँपालिकाले शिक्षामा सबैभन्दा बढी लगानी गरेको बताए । शिक्षाको विकास र गणुस्तरीयताको लागि प्रत्येक चौमासिकमा अन्तर विद्यालयस्तरीय प्रतिस्पर्धा गराउन सकिने बताए । शिक्षकलाई दक्ष बनाउन विषयगत शिक्षकहरुको बिचमा पनि अन्तर विद्यालय स्तरमा प्रतिस्पर्धा गराउँ सकिने बताए । प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थी र शिक्षकलाई पुरस्कृत गर्न सके शिक्षकलाई पढाउन र विद्यार्थीलाई पढ्न हौसला मिल्ने सांसद दाहालको भनाइ छ । ज्ञानमा कोहीपनि पूर्ण नहुँने भन्दै शिक्षा भनेको लिने र दिने कुरा भएको बताए । यसले एकआर्कामा सिक्न र सिकाउन सयोग गर्ने पनि सांसद दाहालले बताए । शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षाका लागि सङ्घीय सांसदको हैसियतले आफूले विद्यालयलाई आवश्यक पर्ने कुराको व्यवस्थापन गर्ने बताएका छन् । उक्त कार्यक्रमको अवसरमा उत्कृष्ट ४ जना विद्यार्थीहरुलाई सम्मानसमेत गरिएको थियो ।