
रामेछाप – माझी समुदायकाको जन्मदेखि मृत्युसम्मको परम्परागत संस्कार र संस्कृति सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
माझी जागरण केन्द्र मन्थली–८ रामेछापले शनिवार मन्थली नगरपालिकाको गाइखुरामा “माझी समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार र संस्कृति (सांस्कृतिक पहिचान) सम्बन्धी अभिमुखीकरण” कार्यक्रम आयोजना गरेको हो । माझी समुदायको परम्परा र संस्कृति लोप हुँदै गएकाले, संस्कार, संस्कृतिको संरक्षणका लागि माझी समुदायलाई प्रशिक्षित गर्ने उद्देश्ले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको माझी अगुवा बालकृष्ण माझीले बताए ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पनन भएको उक्त कार्यक्रममा माझी अगुवा श्रीबहादुर माझी, बालकृष्ण माझी, माझी परम्परा, संस्कार र संस्कृति सम्बन्धी विज्ञ कृष्ण भट्टचनले प्रशिक्षण दिएका थिए । गाईखुराका स्थानीयवासी समेत रहेका बालकृष्ण माझीले माझीको परम्पराअनुसार माझी समुदायको न्यायिक सभाको रुपमा रहेको मझेसावाको बारेमा प्रष्ट्याएका थिए । उनकाअनुसार माझी समुदायको प्रत्येक वस्तीमा मझेसावा गठन गरिन्छ र अहिले पनि मझेसावा रहिआएको छ ।
मझेसावा रामेछापका अध्यक्षसमेत रहेका श्रीबहादुर माझीले माझी जातिको जन्मदेखि मृत्युसम्मको संस्कार, संस्कृतिको बारेमा जानकारी दिएका थिए । त्यसैगरी माझीहरुले मान्ने चाडपर्व, परम्परा, माझी जातिले प्रयोग गर्ने औजार, भाँडाकुडा र खानाको परिकारका बारेमा जानकारी गराएका थिए । त्यसैगरी माझी समुदायको संस्कार र संस्कृतिसम्बन्धी विज्ञ डाक्टर कृष्ण भट्टचनले माझी समुदायको परम्परागत संस्कार संस्कृति थातथलो र भाषाका बारेमा चर्चा गरेका थिए । माझी समुदायले आफ्नो भाषा, परम्परा, संस्कार संस्कृति छोड्दै गएको भन्दै माझीहरुले आफ्नो पहिचान कायम राख्नको लागि परम्परा, संस्कार, संस्कृति र भाषाको संक्षण गर्नु आश्यक रहेका बताए । आधुनिकताको विकास सँगसंगै माझी समुदायले आफ्नो भाषा, संस्कार र संस्कृति विर्सिएर बाहुन जातिको संस्कृति अङ्गालेको भन्दै चिन्तासमेत व्यक्त गरे ।
उक्त अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले विकास, समाज सुधार, शैक्षिक जागरण र समुदायको अपनत्व लिने कुरामा अघि लाग्न माझी समुदायलाई आग्रह गरे । विकासको लागि सरकारले ल्याएको नीतिको कार्यान्वय हामीले गरेनौँ भने विकासको काम सही ढङ्गले अगाडी जाँदैन नगरप्रमुख श्रेष्ठले भने । सरकारलाई नागरिकले खबरदारी गर्नु आवश्यक रहेको भन्दै सरकारले गर्ने गतिविधिहरुको निगरानी र खबरदारी गर्न पनि नगरप्रमुख श्रेष्ठले आग्रह गरे ।