Logo

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा



रामेछाप- रामेछापको मन्थली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका खोप प्राप्त गरेपछि मन्थली नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

शनिवार आयोजित कार्यक्रममा जिल्लास्तरीय खोप समन्वय समितिको तर्फबाट जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशवराज फुँयालका अनुसार १४ वटै वडाका लक्षित उमेर समूहका करिब १ हजार ६ सय बालबालिकालाई मापदण्डअनुसार पूर्ण खोप सेवा प्रदान गरिएको छ । नगरभित्र हाल ४२ वटा खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन हुँदै आएको उनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख थापाले स्वास्थ्यसम्बन्धी जनचेतनामा आएको सकारात्मक परिवर्तनका कारण बालबालिकामा नियमित खोप लगाउने दर उल्लेखनीय रूपमा बढेको बताए । मन्थली नगरपालिका जिल्लाका अन्य स्थानीय तहका लागि उदाहरणीय बनेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा विकासका अन्य सूचकमा समेत अग्रणी भूमिका निर्वाह गर्न सुझाव दिए ।

खोप समन्वय समितिको संयोजकसमेत रहेका नगरप्रमुख लव श्रेष्ठले पूर्ण खोप सुनिश्चितता घोषणा महत्वपूर्ण उपलब्धि भए पनि त्यसको दिगोपना कायम राख्नु अझ चुनौतीपूर्ण कार्य भएको बताए । उनले स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबिचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले पछिल्ला वर्षहरूमा अभिभावकमा खोपसम्बन्धी चेतना बढ्दै गएको र बालबालिकालाई नियमित खोप लगाउने प्रवृत्ति सुदृढ बन्दै गएको बताइन् । पूर्ण खोप सुनिश्चितता घोषणा केवल उपलब्धि मात्र नभई निरन्तर जिम्मेवारीको विषय भएको भन्दै उनले यसको दिगोपनाका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहने बताइन् ।

जनस्वास्थ्य कार्यालय प्रमुख झाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र समुदायबिचको प्रभावकारी सहकार्यका कारण यो उपलब्धि सम्भव भएको बताए । उनले आगामी दिनमा पनि नियमित खोप सेवाको पहुँच र सहभागिता कायम राख्न सबै पक्षको निरन्तर सक्रियता आवश्यक रहने बताए ।

घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयम्‌सेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयन र निरन्तरताका लागि आवश्यक सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्