खाजा खाने पैसा जोगाएर कुखुरापालन

 शनिबार, साउन ५, २०८१ | onlinenews
Share this

 

धादिङ– विर्ताबेसी बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि रिताले अहिले कुखुरा पालन सुरु गरेकी छिन् । बैदेशिक रोजगारबाट आएको पैसाको मात्रै भर पर्दा बचत नहुने र विदेशमा रहेका परिवारका सदस्य लामो समयसम्म विदेशमै बस्नुपर्ने बाध्यता हुने भन्दै अब श्रीमानलाई नेपाल फर्काउने वातावरण बनाउने तयारीमा जुटेकी छिन् उनी ।

निलकण्ठ नगरपालिका–८ मा बस्ने रीतालाई श्रीमानले पठाएको पैसाले घरखर्च चलाउन र बैंकको ऋण तिर्न पनि हम्मेहम्मे हुने गरेको थियो । भुकम्प पछि घर बनाउँदा लागेको ऋण अहिलेसम्म तिरिसकेकी छैन रिताले । मासिक ९० हजारभन्दा बढी किस्ता तिर्नुपर्छ उनले । बिगत १३ बर्षदेखि श्रेष्ठको श्रीमान राजु श्रेष्ठ विदेशमा नै भाैँतारिरहेका छन् । यहाँ होला की ? त्यहाँको पो होलाकी भन्दै उनी साउदी, मलेसिया हुँदै अहिले माल्टामा काम गर्छन । रीताको श्रीमानको काम र कमाई पनि अहिले राम्रो छ ।

परिवार र आफ्नो खर्च चलाउन श्रीमानको कमाइको मात्र भरपर्नु नहुने रहेछ भन्ने सोच आएपछि आफूले पनि व्यवसाय सुरु गर्न लागेको रीताले बताइन् । घरमा किराना पसल पनि राखेकी छन् उनले । वित्तीय साक्षरता कक्षामा बसेपछि पसलमा लगानी थपेकी छन् । अहिले दैनिक ९ हजारभन्दा बढी पसलबाटै आम्दानी हुने गरेको छ । कक्षामा बस्न थालेपछि महिनामा आफूले गर्ने बचत पनि बढाएकी छन् । उनी अहिले महिनामा २ हजार बचत गर्छिन भने आम्दानी भइहाले थोरै खर्च आफूसँग राखेर पनि बाँकी पैसा बचत गर्छिन् । वित्तीय साक्षरता कक्षामा जाने सहभागीलाई नगरपालिकाले हप्तैपिच्छे दिनमा ४० रुपैयाँको खाजा दिने भन्यो । समूहले खाजा नखाइ खाजा बापतको पैसा नगद नै बुझ्ने भनेर निर्णय गर्यो । उनले त्यही खाजा वापत बुझेको पैसाले खोरमा १० वटा कुखुरा पाल्न सुरु गरिन् ।

सुरुमा पालेकी कुखुरा बेच्ने बेला भयो । खोरका कुखुराले १५ हजार कमायो । अहिले उनको खोरमा ५० वटा कुखुरा छन् । कक्षामा बसेपछि घर चलाउन विदेशको मात्रै भरपर्नु नहुने कुरा थाहा पाएर सानो भएपनि व्यवसाय गरेकी हुँ, रीताले भनिन् ।

रितालाई सानो हुँदादेखि नै केहि गर्नुपर्छ भन्ने सोच आउँथ्यो । उनको हातमा सिलाई कटाइको सीप छ । अहिले पनि फुसर्दको समयमा लुगा सिलाउने काम पनि गर्छिन् । हात खाली हुनु भनेको खल्ती खाली हुनु हो भन्छिन् उनी । केही न केही आयआर्जनकै काम व्यस्त भइरहन्छिन् उनी ।

डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा कक्षामा बसेपछि हिसाब किताब राख्ने गरेको, पासबुक भर्ने गरेको र विदेशमा रहेका श्रीमानलाई पनि आफूले जानेको विषयमा जानकारी राउने गरेकी छन् । आफूले विदेशमा भएको खर्चको पनि हिसाब किताब राख्ने गरेकोे बताइन् । अब कुखुरा पालन व्यवसायलाई पनि बढाउने उनको सोच रहेको छ । उद्यमी बन्ने सोच रहेको भन्दै श्रीमानलाई नेपाल फर्काउने लक्ष्य रहेको सुनाइन् । अर्काको देशमा धेरै बसिसक्नु भयो अब आफ्नै परिवारसँग बसेरै विदेशमा कमाउने जती पैसा मिहेनत गरे नेपालमै कमाउन सकिने उनी बताउँछिन् । अन्य दिदीबहिनीहरुलाई समेत व्यवसायमा लाग्न रीताको सुझाव छ ।

धादिङको निलकण्ठ नगरपालिकाका वित्तीय साक्षरता सहजर्ताको सहयोगमा सागर बिक्रम बस्नेत

Share this

प्रतिकृया

Add