निरजकुमार श्रेष्ठ
रामेछाप- विकास र साहित्यलाई एउटै जीवनदर्शनमा बाँध्न सक्ने व्यक्तित्व विरलै भेटिन्छ । सुक्खा डाँडामा खानेपानीको मूल फुटाउने कर्मयोगी र नेपाली साहित्यमा ‘अन्तर्मनको यात्रा’ गराउने विशिष्ट आख्यानकार— यी दुई परिचय एउटै नामसँग जोडिन्छ, स्व. जगदीश घिमिरे । शनिवार उनको कर्मभूमि मन्थली भने नितान्त फरक माहोलमा डुबेको थियो ।
मन्थलीस्थित तामाकोसी सेवा समितिको प्राङ्गणमा रहेको जगदीश स्मृति हल बिहानैदेखि साँझसम्म साहित्य, स्मरण र सम्मानको केन्द्र बन्यो । सन्दर्भ थियो जगदीश घिमिरे स्मृति पुरस्कार वितरण, कृति विमोचन तथा साहित्यिक विशेष समारोह । उक्त कार्यक्रमले डेढ दशकअघिको जगदीशकालीन समयलाई झल्काइरहेको अनुभूति दिलायो ।
काठमाडौँको व्यस्तता छाडेर २० भन्दा बढी स्थापित साहित्यकार, लेखक र अध्येता जगदीशको सम्झना बोकेर बिहानै मन्थली उत्रिएका थिए । प्रतिष्ठानले आयोजना गरेको यो कार्यक्रम औपचारिकतामा सीमित थिएन । विकास र साहित्य कसरी एकअर्काका पूरक हुन सक्छन् भन्ने जगदीशको जीवन–दर्शनको पुनरावलोकन नै यसको सार थियो ।
कार्यक्रमको केन्द्रमा साहित्यकारद्वय मीना चौलागाईं र पवन आलोकलाई सम्मान गरियो । नेपाली साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप चौलागाईंलाई संवत् २०८१ र आलोकलाई २०८२ सालका लागि ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ प्रदान गरिएको हो । जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको यो पुरस्कार केवल व्यक्तिगत उपलब्धिको मान्यता मात्र थिएन, जगदीशले कोरेको वैचारिक र सिर्जनात्मक बाटोको निरन्तरताको सङ्केत पनि थियो ।
तीन सत्रमा विभाजित कार्यक्रमको उद्घाटन मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले पानसमा बत्ती बालेर गरेकी हुन् । सभाध्यक्षको जिम्मेवारी जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष तथा स्व. जगदीशकी धर्मपत्नी दुर्गा घिमिरेले सम्हालिन् । तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै तामाकोसी सेवा समिति जगदीशको सपना र सङ्घर्षको प्रतिफल भएको बताए ।
कार्यक्रमको पहिलो सत्रमै एउटा महत्वपूर्ण कृति सार्वजनिक भयो । लेखक तथा चिकित्सक प्रा.डा. सुमन कर्माचार्यद्वारा लिखित गोजी पुस्तिका ‘जगदीश घिमिरे : संक्षिप्त जीवनी’ को विमोचन गरियो । पुस्तिकाले जगदीशको जीवनयात्रा, सामाजिक योगदान र साहित्यिक अवदानलाई छोटो तर सघन ढंगले प्रस्तुत गरेको भन्दै नयाँ पुस्ताका लागि उपयोगी हुने विश्वास गरिएको छ ।
सभाध्यक्ष दुर्गा घिमिरेले भावुक मन्तव्य राख्दै जगदीशलाई केवल आफ्ना जीवनसाथीका रूपमा नभइ रामेछापको रूपान्तरणको संवाहकका रूपमा सम्झिइन् । ‘जगदीश रामेछापका लागि विकासको ज्योति हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘खानेपानीको अभावले थिचिएका महिलाको डोको र गाग्री विस्थापन गर्न उहाँले खेलेको भूमिका आज पनि ताजा छ ।’ विकासमा जति लोकप्रिय थिए, साहित्यमा पनि उत्तिकै गहिरो छाप छाड्न सफल भएको उनले बताइन् ।
साहित्यिक पत्रिका रचनाका सम्पादक रोचक घिमिरेले जगदीशको साहित्यिक व्यक्तित्वमाथि विश्लेषण प्रस्तुत गरे । ‘शारीरिक रूपमा हामीमाझ नभए पनि जगदीश आफ्ना कृतिमार्फत जीवित छन्,’ उनले भने, ‘तर रामेछापमै पनि उहाँका योगदानमाथि अझ गहिरो बहस र अध्ययन आवश्यक छ ।’
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले जगदीशलाई पत्रकारिता र साहित्यको यात्रामा सेतु बनेको व्यक्तित्वका रूपमा चित्रित गरे । ‘उहाँको लेखनमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको गहिरो संगम देखिन्छ,’ उनले भने, ‘जगदीश घिमिरे देशले भुल्न नहुने शब्दको सारथी हुन् ।’
पुरस्कार ग्रहणपछि मीना चौलागाईं भावुक भइन् । रामेछापकै चेली मीना आफ्नै माटोमा सम्मानित हुन पाउँदा गर्व लागेको उनले बताइन् । ‘यो पुरस्कारले मलाई थप जिम्मेवारी बोध गराएको छ,’ उनले भनिन् । पवन आलोकले पनि जगदीशसँगका स्मृति सम्झिँदै उनको नाम जोडिएको पुरस्कार पाउनु गौरवको विषय भएको बताए ।
कार्यक्रमको अर्को उल्लेखनीय पक्ष नयाँ पुस्तालाई जगदीशसँग जोड्ने प्रयास थियो । मन्थली–१ का चार विद्यालयका विद्यार्थीबिच ‘सामाजिक तथा साहित्यिक योगदानमा जगदीश घिमिरेको उपस्थिति’ शीर्षकमा वतृृत्वकला प्रतियोगिता आयोजना गरियो । उक्त प्रतियोगितामा नागकन्या माध्यमिक विद्यालय गडवारीकी सन्ध्या माझी प्रथम, लिटिल स्टार इङ्लिस स्कुलकी सन्ध्या थापा द्वितीय र नगकन्या माविकै रोनिका माझी तृतीय भइन् ।
मन्थली नगरपालिका वडा नम्बर १ का संस्थागत तथा सामुदायिक विद्यालयहरू नागकन्या माध्यमिक विद्यालय गडवारी, कर्कलादेवी इङ्लिस् स्कुल, लिटिल स्टार इङ्लिस् स्कुल र मन्थली माध्यमिक विद्यालयका ६ जना विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए
दोस्रो सत्रमा सम्पन्न साहित्यिक सभामा कविता, गजल र मुक्तक वाचनले वातावरण गुञ्जायमान बन्यो । अधिकांश सिर्जनामा जगदीशप्रतिको श्रद्धा र सम्झना मिसिएको थियो । समापन मन्तव्यमा उपप्रमुख ईश्वरी बस्नेतले स्थानीय सरकार भाषा–साहित्यको संरक्षणमा प्रतिबद्ध रहेको बताइन् । ‘रामेछापका स्रष्टाको प्रोफाइल तयार गर्न नगरपालिकाले सहकार्य गर्नेछ,’ उनले बताएकी छन् ।
समग्रमा, मन्थलीमा सम्पन्न यो कार्यक्रम केवल स्मृति समारोह मात्र रहेन । यसले ‘जगदीश घिमिरे’ एउटा नाम मात्र होइन, विकास र साहित्यलाई जोड्ने चेतनाको प्रतीक भएको पुष्टि गर्यो । जगदीशले रोपेको विकासको बिरुवा र बालिएको साहित्यको दियो मन्थलीले जोगाइरहेको दृश्यले अन्य जिल्लाका लागि पनि अनुकरणीय बनेको छ ।
