रामेछाप- जिल्ला अदालत रामेछापले चालु आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको ८१.४१ प्रतिशत मुद्दा फर्छाेट गरेको जनाएको छ । जेठ मसान्तसम्म अदालतले कुल विचाराधीन ४ सय २५ मुद्दामध्ये २ सय ६३ वटा मुद्दा टुङ्ग्याएको छ भने बाँकी मुद्दा असार मसान्तभित्र फर्छाेट गरी लक्ष्यलाई शतप्रतिशत नजिक पुर्याउने तयारी गरिएको छ ।
अदालतले बिहिवार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी चालु आर्थिक वर्षको मुद्दा फर्छाेटको अवस्था तथा न्यायिक सेवामा भएका प्रगतिबारे जानकारी दिएको हो । कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले अदालतले न्याय सम्पादनलाई छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउन कार्यगत गति बढाएको बताए ।
उनकाअनुसार चालु आर्थिक वर्षमा ३ सय ६ वटा नयाँ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ९ मुद्दासहित अदालतमा कुल ४ सय २५ मुद्दा विचाराधीन रहेका थिए । तीमध्ये हालसम्म २ सय ६३ वटा मुद्दा फर्छाेट भइसकेका छन् ।
फर्छाेट भएका मुद्दामध्ये २ सय ५ वटा देवानी र ५८ वटा फौजदारी प्रकृतिका रहेका छन् । अदालतले यस आर्थिक वर्षमा ३ सय २३ मुद्दा फर्छाेट गर्ने लक्ष्य लिएको थियो । हालसम्मको प्रगति लक्ष्यअनुसार रहेको र बाँकी मुद्दासमेत असार मसान्तभित्र टुङ्ग्याउने प्रयास भइरहेको न्यायाधीश नेपालले बताए ।
अदालतका अनुसार न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरिएका छन् । अदालतप्रति नागरिकको विश्वास, भरोसा र सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सेवा प्रवाहमा निरन्तर सुधारका प्रयास अघि बढाइएको जनाइएको छ ।
मुद्दा फर्छाेट दरमा भएको सुधारलाई अदालतले न्याय सम्पादन प्रक्रियामा आएको प्रभावकारिताको परिणामका रूपमा लिएको छ । सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद अदालतले मुद्दा व्यवस्थापन तथा सुनुवाइ प्रक्रियालाई व्यवस्थित बनाउँदै लगेकाले लक्ष्यअनुसार प्रगति हासिल भएको बताइएको छ ।
अदालतले आर्थिक वर्षको अन्त्यसम्म बाँकी रहेका मुद्दाको सुनुवाइलाई तीव्रता दिएर फर्छाेट दर अझ बढाउने योजना बनाएको छ । निर्धारित लक्ष्य पूरा गर्न न्यायाधीश, कर्मचारी तथा सरोकारवाला निकायबिच आवश्यक समन्वय भइरहेको अदालतले जनाएको छ ।
जिल्ला अदालत रामेछापले चालु आर्थिक वर्षमा हासिल गरेको ८१ प्रतिशतभन्दा बढी फर्छाेट दरलाई सन्तोषजनक उपलब्धिका रूपमा लिँदै आगामी दिनमा न्यायिक सेवाको गुणस्तर र पहुँचलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
