Logo

स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष योजना बनाउछाैँ : बैद्य



रामेछाप— नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले रामेछापको कृषि, पर्यटन, उद्योग तथा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेर महासङ्घले आवश्यक सहयोग गर्ने बताएका छन् ।

रामेछाप उद्योग वाणिज्य सङ्घले आइतवार मन्थलीमा आयोजना गरेको कृषि, उद्योग तथा पर्यटन प्रवर्धन कार्यक्रममा उनले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विशेष योजना अघि बढाइने बताए । व्यापार–व्यवसाय खस्किएको वर्तमान अवस्थामा आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग वाणिज्य सङ्घले गरिरहेका प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो ।

रामेछापमा कृषि, पर्यटन, ऊर्जा तथा सांस्कृतिक सम्पदाको प्रचुर सम्भावना रहे पनि त्यसको पर्याप्त प्रचार–प्रसार र बजारीकरण हुन नसकेको उल्लेख गर्दै वैद्यले स्थानीय उत्पादनलाई आधुनिक प्रविधिसँग जोडेर बजार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कृषि, ढाका तथा साना उद्योगसँग सम्बन्धित प्रदेशस्तरीय मेला तथा प्रदर्शनी आयोजना गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । यस्ता कार्यक्रमले साना तथा मझौला उद्यमीलाई प्रोत्साहन पुग्ने उनको विश्वास छ ।

रामेछापलाई धार्मिक तथा प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र निजी क्षेत्रबीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताए । धार्मिक पर्यटनको सम्भावना उच्च भए पनि त्यसलाई आर्थिक अवसरमा रूपान्तरण गर्न नसकिएको भन्दै नेपाल तथा भारतबाट आउने धार्मिक पर्यटकलाई लक्षित गरी प्रचार–प्रसार, आवास व्यवस्थापन र पहुँच मार्ग सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

वैद्यले रामेछाप उद्योग वाणिज्य सङ्घलाई ‘क’ श्रेणीमा स्तरोन्नति गर्न महासङ्घ सकारात्मक रहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरी प्रस्ताव पठाउन आग्रह गरे । प्रदेश उद्योग वाणिज्य सङ्घको सिफारिससहित प्रक्रिया अघि बढेमा आवश्यक सहयोग गरिने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले पर्यटन र कृषि क्षेत्रको विकासका लागि स्थानीय तह, उद्योग वाणिज्य सङ्घ तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । रामेछापमा उत्पादन हुने जुनारलगायत कृषि उपजले राष्ट्रिय पहिचान बनाइसकेको उल्लेख गर्दै उनले स्थानीय उत्पादनको बजारीकरण र कृषि व्यवसाय विस्तारमा ध्यान दिनुपर्ने बताए । महिला उद्यमीले सञ्चालन गरिरहेका कपडा तथा हस्तकला उद्योगलाई प्रवद्र्धन गर्न प्रदेश महासङ्घले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।

रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले नेपालको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१.५ प्रतिशत तथा रोजगारी सिर्जनामा ८७ प्रतिशत रहेको उल्लेख गर्दै स्थानीय स्रोत, साधन र सम्भावनाको पहिचान गरी विकासमा केन्द्रित हुनुपर्ने बताए । रामेछापमा उद्योग, पर्यटन, वन तथा उत्पादन क्षेत्रको व्यापक सम्भावना रहेको भन्दै उनले ती सम्भावनालाई उजागर गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

पर्यटन व्यवसायी भीष्मराज थपलियाले तामाकोशी नदीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको राफ्टिङ गन्तव्यका रूपमा विकास गर्न सकिने बताए । तामाकोशी नदी, नुम्बुर हिमाल र मन्थली विमानस्थललाई जोडेर जिल्लालाई साहसिक पर्यटनको प्रमुख केन्द्र बनाउन सकिने उनको भनाइ थियो ।

एकदिने कार्यक्रममा स्थानीय उद्योगीले उत्पादन गरेका कृषि उपज, डेरी तथा पर्यटनसँग सम्बन्धित दुई दर्जनभन्दा बढी स्टल प्रदर्शन गरिएको थियो । कार्यक्रममा सन् २०२६ मा सगरमाथा आरोहण गरेका धनुकुमार श्रेष्ठ, सरिता तामाङ र अनिता कार्कीलाई सम्मान गरिएको थियो । त्यस्तै एसईईमा ४ जीपीए ल्याई उत्तीर्ण भएका उद्योग वाणिज्य सङ्घका सदस्यका १० जना छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा उद्योगी–व्यवसायी, पर्यटन तथा कृषि प्रविधिसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । करिब दुई सय उद्योगी–व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, मन्थली नगरपालिका तथा विभिन्न सरकारी तथा निजी संस्थाको सहयोगमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्