Logo

तामाकोशी नदीमा साहसिक खेलको सुरुआत, भोटेकोशी कायक क्लब च्याम्पियन



रामेछाप- रामेछापमा पहिलोपटक आयोजित तामाकोशी राफ्टिङ प्रतियोगिताको उपाधि भोटेकोशी कायक क्लब ‘ए’ ले जितेको छ। छोटो तथा लामो दूरी दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै क्लबले दुवै उपाधि आफ्नो नाममा लेखाएको हो।

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा तामाकोशी मरीन एड्भेन्चरको जलदेवी टोली दोस्रो र सोही संस्थाको त्रिवेणी टोली तेस्रो भएको छ। दुवै टोलीले छोटो र लामो दूरीको प्रतिस्पर्धामा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन्।

प्रतियोगितामा महिलासहित १० टोलीको सहभागिता रहेको थियो। लामो दूरीको प्रतिस्पर्धा मन्थली नगरपालिका–२ स्थित बाँद्रेबाट सुरु भएर मन्थली–६ को कुनौरीसम्म करिब आठ किलोमिटर दूरीमा सञ्चालन गरिएको थियो। छोटो दूरीको प्रतिस्पर्धा करम्बोटदेखि गाईखुरासम्म आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्रसमेत वितरण गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सीताराम कार्कीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा वक्ताहरूले तामाकोशी नदीलाई साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनामा जोड दिएका थिए।

प्रतियोगितामा सहभागी एक मात्र महिला टोली ‘टिम चेली’ लाई विशेष प्रोत्साहनस्वरूप १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। उक्त टोलीमा मन्थली नगरपालिका–८ गाईखुराका तीन जना तथा सुनापति गाउँपालिकाकी एक जना महिला सहभागी रहेका थिए। महिलाको सहभागिताले साहसिक खेल क्षेत्रमा नयाँ सन्देश दिएको आयोजकको भनाइ छ।

रामेछापमा पहिलोपटक राफ्टिङ प्रतियोगिता सञ्चालन गर्न तामाकोशी मरीन एड्भेन्चर प्रालिले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। संस्थाले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा नदी मार्गको प्राविधिक परीक्षणमा समेत सहकार्य गरेको जनाएको छ।

तामाकोशी मरीन एड्भेन्चर प्रालिका सञ्चालक सागरहरी अधिकारीका अनुसार प्रतियोगितापछि तामाकोशी नदीमा नियमित राफ्टिङ सञ्चालन गर्ने योजना बनाइएको छ। यसमार्फत आन्तरिकसँगै बाह्य पर्यटकलाई आकर्षित गर्दै जिल्लामा साहसिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए।

स्थानीय तह, खेलकुद संस्था र निजी क्षेत्रको सहकार्यमा सम्पन्न प्रतियोगिताले तामाकोशी नदीको पर्यटन सम्भावनालाई राष्ट्रिय स्तरमा परिचित गराउने विश्वास गरिएको छ। आयोजकले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक सहभागितासहित निरन्तरता दिने तयारीसमेत गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्