रामेछाप – भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि मन्थलीस्थित केब्स स्कूलका विद्यार्थी, शिक्षक तथा कर्मचारीले ८७ हजार ५७८ रुपैयाँ रुकम सहयोग गरेका छन् । शिक्षक, विद्यार्थी र कर्मचारीबाट सङ्कलन भएको रकम विद्यालयले सोमवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको केब्स स्कुलका प्रिन्सिपल केशव तिमल्सिनाले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत ६ सय विद्यार्थीले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेका उनले बताए । बाढीबाट प्रभावित विशेषगरी बालबालिकालाई लक्षित गरेर सहयोग अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ । प्रिन्सिपल तिमल्सिनाका अनुसार आर्थिक सहयोगका लागि विद्यार्थीलाई कुनै बाध्यता नभइ स्वेच्छिक रूपमा रकम सहयोग गर्न आग्रह गरिएको थियो ।

विद्यालयका अनुसार कक्षागत रूपमा विद्यार्थीबाट ३८ हजार २२२ रुपैयाँ सङ्कलन भएको थियो । त्यसैगरी विद्यालयमा राखिएको दानपेटिकाबाट ८ हजार १६१ रुपैयाँ प्राप्त भएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्नो दुई दिनको तलबबाट ४१ हजार १९५ रुपैयाँ सहयोग गरेका छन् ।
यसरी विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट सङ्कलित कुल ८७ हजार ५७८ रुपैयाँ मन्थलीस्थित ग्लोबल आइएमई बैंकमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको प्रिन्सिपल तिमल्सिनाले जानकारी दिए ।
बाढी तथा पहिरोबाट रसुवा र नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले प्रभावित बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको हो । विद्यालयले सोमवार शोकसभा आयोजना गर्नुका साथै सोही दिन सहयोग रकम बैंकमा दाखिला गरेको जनाएको हो ।

रामेछाप प्याब्सनका अध्यक्षसमेत रहेका विद्यालयका प्रिन्सिपल तिमल्सिनाले विद्यालय प्रशासनको तर्फबाट समेत थप सहायता रकम केन्द्रीय प्याब्सनको राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिए ।
तिमल्सिनाले देशभरका संस्थागत विद्यालयबाट सङ्कलन गरिएको सहयोग रकम केन्द्रीय प्याब्सनले सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको जानकारी दिए । उनका अनुसार आउँदो बिहिवार करिब १० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विद्यालयका स्कूल क्याप्टेन युनिशा श्रेष्ठले अकल्पनीय बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विद्यार्थी साथीहरूलाई सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी लागेको बताइन् । विपत्तिको समयमा विद्यार्थीले आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्न पाउनु मानवीय जिम्मेवारी भएको उनको भनाइ छ ।
भोटेकोशी बाढीमा केब्स स्कूलका पूर्वविद्यार्थीसमेत बेपत्ता भएपछि विद्यालय परिवार थप शोकमा परेको छ । मन्थली–१ का पूर्वविद्यार्थी सुन्दर श्रेष्ठ पनि बाढीमा बेपत्ता रहेको विद्यालयले जनाएको छ । आफ्नै पूर्वविद्यार्थी विपत्तिमा परेपछि विद्यालय परिवारले दुःख व्यक्त गरेको छ ।
