Logo

पत्रकारिताले सुशासन र पारदर्शिताका लागि खबरदारी गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ



रामेछाप- मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पत्रकारिता समाजलाई सही दिशा दिने महत्वपूर्ण माध्यम भएकाले सत्य, तथ्य र सकारात्मक सन्देश प्रवाहमा पत्रकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको १३ औँ साधारणसभा तथा सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले पत्रकार, जनप्रतिनिधि, नागरिक समाज र बुद्धिजीवी वर्गबिचको सहकार्यबाट समाजमा सुशासन, पारदर्शिता र विकासको वातावरण निर्माण गर्न सकिने बताए ।

“तपाईंहरूले आफ्नो मात्र होइन, रामेछाप जिल्लाकै सूचना प्रवाह कसरी गर्ने र कला, संस्कार तथा संस्कृतिलाई कसरी बचाउने भन्ने उदाहरण दिनुभएको छ,” उनले भने ।
श्रेष्ठले पत्रकारले सकारात्मक कामको सकारात्मक रूपमा प्रचार र गलत कामको तथ्यका आधारमा खबरदारी गर्नुपर्ने बताए । समाजमा भ्रम फैलाएर आफूलाई मात्र सही देखाउन खोज्ने प्रवृत्तिलाई तथ्यमा आधारित पत्रकारिताले उजागर गर्न सक्ने उनको भनाइ थियो ।

उनले आदिवासी जनजाति पत्रकारले आफ्नो समुदायका मौलिक संस्कार, संस्कृति र परम्परालाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । यस्ता विषयलाई पर्यटनसँग जोड्न सके मुलुकको आर्थिक समृद्धिमा समेत योगदान पुग्ने उनको भनाइ छ ।

उनले रामेछापमा क्रियाशील पत्रकारहरूले जनप्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाज र समाजका अगुवालाई निरन्तर खबरदारी गर्दै सुशासनको पक्षमा भूमिका खेल्नुपर्ने बताए । राम्रो काम गर्नेको पनि कमजोरी हुन सक्ने र आलोचना गरिने पक्षमा पनि सकारात्मक काम हुन सक्ने भएकाले पत्रकारिताले पूर्वाग्रहरहित दृष्टिकोण अपनाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिकले पत्रकारितामा काठमाडौँ र मोफसलबिचको परम्परागत विभाजन अब हटेको बताए । पत्रकारिताको क्षेत्र विगतको तुलनामा थप सहज र सम्भावनायुक्त बनेको उनको भनाइ थियो । प्रविधि र अनलाइन सञ्चारमाध्यमको विस्तारले जहाँ बसेर पनि राष्ट्रिय स्तरको पत्रकारिता गर्न सक्ने अवस्था सिर्जना भएको उनले बताए ।

अहिले पत्रकारितामा ‘शहर’ र ‘मोफसल’ भन्ने विभाजन नरहेको बताए । सञ्चार प्रविधिको विकासले रामेछापजस्ता जिल्लामा बसेर पनि काठमाडौं केन्द्रित सञ्चारमाध्यममा काम गर्ने र राष्ट्रिय स्तरका समाचार सम्प्रेषण गर्ने अवसर बढेको छ । “अब पत्रकारितामा शहर र मोफसल भन्ने हट्यो । सबै शहर हो, सबै मोफसल हो,” उनले भने ।

उनले आफू विगत पाँच वर्षदेखि काठमाडौंमा सञ्चालित अनलाइन सञ्चारमाध्यमको रामेछापमै बसेर सम्पादन गरिरहेको उदाहरण दिँदै भौगोलिक दूरीले पत्रकारिताको अवसरलाई सीमित गर्ने अवस्था नरहेको बताए । यद्यपि, अवसरसँगै पत्रकारितामा चुनौती पनि थपिँदै गएको उनले बताए । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको विस्तारसँगै सूचना उत्पादन र प्रसारणमा व्यापक प्रतिस्पर्धा बढेको भन्दै उनले पत्रकारले समयअनुसार आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले रामेछाप शाखालाई अझ सक्रिय र मजबुत बनाउन नयाँ पुस्तालाई समेत पत्रकारितामा जोड्दै अघि बढ्नुपर्ने बताए ।

फोनिज रामेछापको संस्थागत विकासमा संस्थापकदेखि पूर्वअध्यक्षसम्मको योगदानको प्रशंसा गर्दै उनले अन्य जिल्लाको तुलनामा रामेछाप शाखालाई सक्रिय र परिचित बनाउन उनीहरूले महत्वपूर्ण भूमिका खेलेको बताए ।

संस्थाको आगामी यात्रामा नयाँ पुस्ताको सहभागिता महत्वपूर्ण हुने उनको भनाइ थियो । अनुभवी पत्रकार तथा संस्थाका अग्रजले नयाँ पुस्तालाई अवसर र मार्गदर्शन दिँदै पत्रकारितामा आकर्षित गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दिपक घिमिरले रामेछापको पत्रकारिता क्षेत्रमा पत्रकारलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने अभ्यास बढ्दै गएको भन्दै यसले जिल्लाको पत्रकारितामा नयाँ आयाम थपेको बताए ।

उनले आदिवासी जनजाति समुदायका कला, संस्कृति र सामाजिक सवाललाई पत्रकारितामार्फत बाहिर ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । “आफ्नो पत्रकारिताको कलमसँगै समुदायको आवाजलाई पनि ल्याउन तपाईंहरूले योगदान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,” उनले भने ।
पछिल्लो समय रामेछापको पत्रकारिता क्रमशः माथि उठ्दै गएको छ । जिल्लामा पत्रकारलाई सम्मान गर्ने तथा पत्रकारितामा लाग्न चाहने नयाँ पुस्तालाई प्रोत्साहन गर्ने अभ्यास सुरु हुनु सकारात्मक परिवर्तन हो उनले भने ।

प्रतिक्रिया दिनुहोस्