रामेछाप– संविधान दिवसको अवसरमा रामेछापमा प्रभातफेरीसहितको कार्यक्रम गरिएको छ । देशमा पछिल्लो समय देखिएको विपद् र त्यसबाट सिर्जित पीडालाई ध्यानमा राख्दै यस वर्ष संविधान दिवसमा विगतमा जस्तो ठूलो र तामझामपूर्ण कार्यक्रम नगरी छोटो कार्यक्रम गरिएको जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्की खड्काले बताइन् ।
प्रभातफेरीपछि आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की खड्काले संविधान दिवसलाई उत्सवका रूपमा मनाउँदै गर्दा विपद्बाट प्रभावित परिवारको पीडालाई समेत ध्यान दिनुपर्ने भएकाले कार्यक्रमलाई सामान्य बनाइएको बताइन् । उनले संविधान दिवसका अवसरमा जिल्लावासी तथा देशवासीलाई शुभकामना दिँदै संविधान प्राप्तिका लागि भएको सङ्घर्ष र त्यसबाट प्राप्त अधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन् संविधान निर्माण र अधिकार प्राप्तिको यात्रामा विभिन्न राजनीतिक आन्दोलन तथा सङ्घर्षमा धेरै नागरिकले योगदान गरेका छन् । २०६२/६३ को जनआन्दोलनका क्रममा समेत रामेछापका नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले त्यतिबेला सरकारी कार्यालयमा ‘श्री ५ को सरकार’ लेखिएको ठाउँमा ‘नेपाल सरकार’ लेख्नसमेत नागरिकले जोखिम मोलेको उल्लेख गरिन् ।
उनले संविधानले विभिन्न जातजाति, भाषा, धर्म र समुदायका नागरिकको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन् । संविधान र विगतका आन्दोलनबाट प्राप्त अधिकारकै कारण राज्यका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा महिलाको सहभागिता बढेको उनको भनाइ थियो ।

जिल्ला समन्वय समितिको प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायको नेतृत्वमा महिलाको सहभागिता रहेको उल्लेख गर्दै उनले यसलाई विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा लिनुपर्ने बताइन् । महिलाले राज्यका विभिन्न निकायको नेतृत्व गर्ने अवसर सहजै प्राप्त नभएको भन्दै उनले अधिकारका लागि सङ्घर्ष गर्ने सबैलाई स्मरण गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा उनले आफ्नो कार्यकालमा संविधान दिवस मनाउने यो अन्तिम अवसर भएको पनि बताइन् । उनले विगत तीन वर्ष जिल्ला समन्वय समितिको संयोजकत्वमा संविधान दिवसका कार्यक्रम आयोजना गर्दा राजनीतिक दल, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, गैरसरकारी संस्था, पत्रकार महासङ्घ तथा सरकारी कार्यालयका प्रमुख र कर्मचारीबाट राम्रो सहयोग प्राप्त भएको बताइन् ।
उनले संविधानले प्रदान गरेका अधिकार, नागरिक स्वतन्त्रता तथा विविधता संरक्षणका लागि सबै पक्षको निरन्तर भूमिका आवश्यक रहेको बताइन् । प्राप्त अधिकारलाई दिगो बनाउँदै संविधानको मर्मअनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
प्रभातफेरी कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, सुरक्षा निकाय, पत्रकार, उद्योगी–व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो ।
