नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत रामेछापबाट नेपाली कांग्रेसका युवा नेता राम कुमार कार्कीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार घोषणा गरेका छन्।
पटक पटक जिल्ला कमिटी आमन्त्रित सदस्यको रूपमा काम गरेका कार्की बीपी प्रतिष्ठान खाँडादेवी गाउँपालिकाको संयोजक समेत रहेका छन्। मास्टर डिग्री गरी विभिन्न क्षेत्रमा क्रियाशील रहेका उनी शिक्षित र बौद्धिक रूपमा चर्चित छन्। कांग्रेसको हरेक कार्यक्रममा सहभागी र सक्रिय रहने उनी युवा माझ निकै लोकप्रिय छन्। यसै सन्दर्भमा हाम्रो अनलाइन न्युजले कार्कीसँग गरिएको कुराकानी ।
नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यहाँको उम्मेदवारी किन ?
प्रश्नको लागि यहाँलाई धन्यवाद, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेरो उम्मेदवारी कांग्रेसमा नयाँ योजनाहरू लैजान, अबको समय नयाँ ढंगले पार्टी अगाडि बढ्नु पर्छ, नयाँ सोचले अगाडि बढ्नुपर्छ, पुरानो एजेण्डाले पार्टी अगाडि बढाउन सकिँदैन, नयाँ एजेण्डा प्रस्तुत गर्न आफैँ अगाडि जानुको विकल्प छैन।
रामेछापका काङ्ग्रेस कार्यकर्ता र शुभचिन्तिकहरूले यहाँलाई नै किन रोज्ने ?
म रामेछापमा निकै क्रियाशील भएर पार्टीको काम गरेको छु। कार्यकर्ता र आम शुभचिन्तकहरूको साथमा रहने गरेको छु। म कुनै पनि कार्यकर्ता र आम शुभचिन्तकहरूलाई अन्यायमा पारेको छैन। समान दृष्टिले हेर्ने कारण पनि मलाई रोज्नुपर्छ भन्ने लाग्छ।
रामेछापमा पार्टीभित्र देखिने गुटबन्दी, आन्तरिक असमझदारी र असन्तोषलाई अन्त्य गरी सबै कार्यकर्तालाई एकताबद्ध बनाउन यहाँको रणनीति के छ ?
स्वाभाविक रूपमा रामेछापमा पार्टीभित्र गुटबन्दी हुने गरेको थियो। अब यस महाधिवेशनबाट अन्त गर्नुपर्छ भन्ने हो। यसको लागि हामीले सबैलाई मौका दिने, पटक पटक एउटै व्यक्तिलाई अवसर दिने गर्नु हुँदैन। त्यहीँबाट असमझदारी, असन्तुष्टि हट्दै जान्छ र मूलतः एकताबद्धको सुरुवात हुन्छ भन्ने हो। अहिलेको मूल मन्त्र नै नयाँ ढंगले जाने र नयाँ तरिकाले काम, व्यवहार, सच्याइ गर्दै जाँदा यी सबै असन्तुष्टिलाई चिरफार गर्दै एकताबद्ध गर्न सकिन्छ भन्ने हो।
केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेपछि रामेछापको विकास, राजनीतिक पहुँच र स्थानीय मुद्दाहरूलाई पार्टीको केन्द्रीय नीति तथा निर्णय प्रक्रियामा कसरी स्थापित गराउनुहुन्छ ?
केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेपछि पार्टीको एजेण्डाहरू नीतिहरू योजनाहरू समयसापेक्षको बनाउन पहल गर्ने, त्यो नीति देशैभर लागू गर्ने, वडा तहसम्म विकासको लागि, जनजीविकाको लागि, प्रत्यक्ष जनतासँग जोडिएको समस्यालाई समाधान उन्मुख नीति अनुरूप अगाडि बढाउँदै लैजानुपर्छ, रामेछाप जिल्लाको सवालमा जनताको जनजीविकामा सहज हुने कार्यक्रम ल्याउने, रामेछापमा सम्भावना भएका तामा खानी, फलाम खानी, ढुंगा खानी लगायतका खानीहरू चलाउने जसले गर्दा रोजगारी बढाउने आदि मा मद्दत पुग्दछ। मौसमी जुनार सुन्तला केरा लभिङ एभोगार्डो लगायतका फलफूलहरूलाई व्यवस्थित र बजार व्यवस्थापन गर्ने, तरकारी जस्तो आलु, काउली, खुर्सानी, स्कुस, फर्सी, गहत, मस्याङ, मास आदि तमाम उत्पादन र बजार व्यवस्थापन जोड दिने आदि गर्ने पहल गर्ने।
मानिसले छोडेर विस्थापित उजाडिएको गाउँ बस्ती र वनजंगलमा परिणत भएका जग्गालाई फेरि फर्काएर गाउँमै बसेर बसौँ लाग्ने बनाउन पहल गर्ने।
पानीको व्यवस्थापनमा जोड दिने, समय अनुसारको शिक्षा गाउँमै पढ्ने वातावरणको निर्माण गर्ने जस्ता कार्यहरू गर्न सकिन्छ, गर्नु पर्छ।

पार्टीमा नयाँ पुस्ता र युवाहरूको आकर्षण घट्दै गएको गुनासो छ। रामेछापका युवाहरूलाई काङ्ग्रेसमा आकर्षित गर्न र उनीहरूलाई नेतृत्वमा पुर्याउन यहाँको योजना के छ ?
स्वाभाविक रूपमा पार्टीमा नयाँ पुस्ता र युवाहरूको आकर्षण घट्दै गएको छ, युवामुखी नीति निर्माण गर्नुपर्छ, रामेछापमा पनि त्यही समस्या छ, रामेछापका युवा सापेक्ष नीति र युवा मैत्री नीति लागू गर्नुपर्छ बिस्तारै रामेछापमा युवा को आकर्षण बढ्दो हुनेछ। बिस्तारै युवालाई अघि बढाउँदै लैजानुपर्छ नेतृत्वको जिम्मा दिँदै जानुपर्छ, त्यसैले त म युवा भएकोले उम्मेदवारी दिएको हो नि।
रामेछापका स्थानीय तहहरूमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू र पार्टी संगठनबीच उचित समन्वय गराउन महाधिवेशन प्रतिनिधिको रूपमा यहाँको भूमिका के रहनेछ ?
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू जनताको सेवक हुन्। उहाँहरूले निर्भीकताका साथ जनताको सेवा गर्नुपर्छ, जनताको सेवामा कुनै कमी कमजोरीहरू हुन दिनुहुँदैन कुनै मानेमा पनि। महाधिवेशन प्रतिनिधिको रूपमा मैले जनप्रतिनिधिलाई अघि भनेझैँ काममा लाग्न अनुरोध गर्ने र पार्टीको नीति अनुरूप अगाडि बढाउन मद्दत गर्ने हो।
पार्टीको १५औँ महाधिवेशनमा नेपाली काङ्ग्रेसलाई समयसापेक्ष, प्रविधिमैत्री र वैचारिक रूपमा थप सशक्त बनाउन केन्द्रीय महाधिवेशनमा यहाँले कस्ता नीति र प्रस्तावहरू प्रस्तुत गर्नुहुनेछ ?
मैले कांग्रेसलाई समयसापेक्ष बनाउन, प्रविधिमैत्री बनाउन र वैचारिक रूपमा अघि बढाउन विशेष पहल र विशेष योजनाहरू प्रस्तुत गर्नेछु, जस्तो कि अब अहिलेको युगमा खाली विगतको पार्टी यस्तो उस्तो भनेर रटान गरेर मात्रै काम लाग्दैन, विभिन्न प्रविधिको कारण विश्व नै अहिले सानो आकारमा देखिँदै आएको छ, विश्वलाई नै हाम्रो पार्टीबाट, देशबाट केही सिकुन् भन्ने खालका योजनाहरू, प्रस्तावहरू प्रस्तुत गर्न पर्छ र गर्न सकिन्छ।
वर्षौंदेखि पार्टीमा निरन्तर योगदान दिएका पुराना र निष्ठावान् कार्यकर्ताहरू ओझेलमा पर्ने गरेको गुनासो सुनिन्छ। उनीहरूको उचित मूल्याङ्कन र न्यायका लागि यहाँले कसरी आवाज उठाउनुहुन्छ ?
वर्षौंदेखि पार्टीमा पुराना र निरन्तर योगदान दिएका व्यक्तिहरूको हकमा, उनीहरूको खोजी गर्ने, डाटा कलेक्सन गर्ने, उहाँहरूको इच्छा चाहना बुझ्ने, उनीहरूको इच्छा अनुसार मौका प्रदान गर्न मेरो तर्फबाट बुलन्द आवाज रहन्छ र ठोस पहल पनि गर्नेछु।
चुनाव जितेर केन्द्रीय महाधिवेशन प्रतिनिधि भइसकेपछि धेरै नेताहरू कार्यकर्ता र जनताबाट टाढिने परिपाटी छ। यहाँले चुनावपछि पनि रामेछापका आम कार्यकर्तासँगको सम्बन्ध कसरी निरन्तर र सहज बनाउनुहुन्छ ?
महाधिवेशनको चुनाव जितेर टाढिने तरिका ठीक हैन। यसको अन्त्य हुनुपर्छ, मेरो हकमा त्यो हुनेवाला छैन, म कार्यकर्ताको नजिक सम्पर्कमा रहने छु, जनताको सम्पर्कमा नै रहने छु, जनताको समस्यामा पनि कार्यकर्ताको समस्यामा पनि सदैव अग्रपङ्क्तिमा हुने छु, ढुक्क हुन आग्रह गर्दछु।
अन्त्यमा रामेछापका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा मतदाता साथीहरूलाई विजयी गराउनका लागि यहाँको विशेष सन्देश वा प्रतिबद्धता के छ ?
म रामेछापका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आग्रह गर्दछु कि तपाईंहरू मेरो साथी हुनुहुन्छ कोही दाइ, भाई, दिदी बहिनी सबैलाई मेरो दस औँला जोडेर बिन्ती छ, यो एकपटक यो युवालाई मौका दिनु, म रामकुमार कार्कीलाई मत हालेर विजयी बनाउनुहोस्। यहाँहरूको अपेक्षा खेर जान दिने छैन। म पनि एउटा युवा जो जमाना मै मास्टर डिग्री प्राप्त गरेको व्यक्ति हो, मेरो विभिन्न योजनाहरू छन् पार्टीलाई माथि पुर्याउने, जनताको जनजीविका र समस्यालाई हल गर्ने, राष्ट्रलाई माथि पुर्याउने भिजन बोकेको छु, यो पटक मौका दिनुहोस् र मेरो योजनाहरू हेर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु। मबाट कसैलाई रिस राग कोटि हुने छैन, सबैलाई समान ढंगले हेर्ने नै छु। त्यसैले मेरो नारा नै अग्रजलाई सम्मान, युवालाई अवसर भन्ने नै हो।
