Logo

प्राकृतिक विपद् व्यवस्थापन, सुशासन र भ्रष्टाचार अन्त्य उज्यालो नेपाल पार्टीको प्राथमिकतामा



काठमाडौँ- उज्यालो नेपाल पार्टीले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण, प्रभावित नागरिकको पुनःस्थापना, भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समृद्धिलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज रामकृष्ण लामाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै देशलाई पारदर्शी, आत्मनिर्भर र भ्रष्टाचारमुक्त बनाउन आवश्यक रहेको बताएका छन् ।

उज्यालो नेपाल पार्टी जिल्ला कमिटी रामेछापले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामाले प्राकृतिक विपद्बाट हुने मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरे । उनले विपद्बाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिने भए पनि मानवीय क्षति अपूरणीय हुने भएकाले विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताए ।


जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा गम्भीर असर देखिन थालेको उल्लेख गर्दै उनले तापक्रम वृद्धिसँगै हिमालको हिउँ पग्लिने क्रम तीव्र हुनु, हिमताल विस्फोटको जोखिम बढ्नु तथा बाढीपहिरोजस्ता विपद् निम्तिनुले नेपाललाई थप जोखिममा पारेको बताए । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रियस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जोखिम र समस्यालाई सशक्त रूपमा उठाउनुपर्ने उनको भनाइ थियो ।

लामाले देशमा विद्यमान भ्रष्टाचार, बेथिति र विभेद अन्त्य गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिए । सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउँदै राज्यबाट प्रदान गरिने सेवा सर्वसाधारणको सहज पहुँचमा पुर्‍याउन आवश्यक रहेको उनले बताए । राज्य सञ्चालनमा देखिएका कमजोरी सुधार गरी नागरिकले सरकारी सेवाबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

आर्थिक समृद्धि र आत्मनिर्भरताका लागि कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायिक उत्पादन विस्तारमा जोड दिनुपर्ने लामाले बताए । कृषिलाई उत्पादन, रोजगारी र आयआर्जनसँग जोड्न सके बेरोजगारी न्यूनीकरण गर्न तथा आयातमा निर्भरता घटाउन सकिने उनको धारणा थियो । उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि कृषि क्षेत्रको सम्भावनालाई उपयोग गर्नुपर्ने उनले बताए ।

त्यस्तै, जलस्रोतको उचित उपयोग गरी विद्युत् उत्पादन बढाउने र त्यसबाट प्राप्त लाभ आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकसम्म पुर्‍याउने योजना पार्टीले अघि सारेको उनले जानकारी दिए । करिब ४० मेगावाट विद्युत् उत्पादनमार्फत गरिब तथा विपन्न नागरिकलाई शिक्षा, स्वास्थ्य र विद्युत् सेवा निःशुल्क उपलब्ध गराउन सकिने उनको भनाइ थियो ।

राज्य सञ्चालनलाई कम खर्चिलो र प्रभावकारी बनाउन थोरै तर योग्य जनप्रतिनिधिमार्फत शासन व्यवस्था सञ्चालन गर्नुपर्नेमा पनि लामाले जोड दिए । यसबाट सार्वजनिक खर्च घटाउनुका साथै नागरिकलाई सहज, गुणस्तरीय र सम्मानजनक सेवा उपलब्ध गराउन सकिने उनले बताए ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका युवा विभाग प्रमुख तथा युवा फोरमका केन्द्रीय अध्यक्ष राज मैनालीले जनताका समस्या, आवाज र जनपक्षीय मुद्दालाई राज्यका निकायसम्म पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । उनले सुशासन कायम गर्दै नागरिकले आर्थिक समृद्धिको अनुभूति गर्ने वातावरण बनाउन सरकार र सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने धारणा राखे ।

मैनालीले बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे । कालीगण्डकीको बेनी क्षेत्रलगायत विभिन्न स्थानमा बाढीपहिरोबाट भएको क्षतिको उचित सम्बोधन हुनुपर्ने उल्लेख गर्दै उनले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता देशले अन्तर्राष्ट्रियस्तरमा न्यायोचित क्षतिपूर्ति र सहयोगका लागि पहल गर्नुपर्ने बताए ।

जलवायु न्यायको मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिँदै उनले विपद्पछिको राहत र पुनर्निर्माणसँगै भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना, पूर्वतयारी र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए ।
शुभकामना आदानप्रदान कार्यक्रममा उज्यालो नेपाल पार्टीका जिल्ला अध्यक्ष चिना लामा, उपाध्यक्ष दामोदर तामाङलगायत जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले चाडपर्वको शुभकामना आदानप्रदानसँगै सुशासन, विकास र जनताका समस्याको समाधानका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्