Logo

रामेछाप नगरमा पर्यटन प्रवर्धनका लागि सम्पदा पदयात्रा



रामेछाप- रामेछाप नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दुई दिने पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । रामेछाप नगरपालिकाद्धारा आयोजित पदयात्रामा विभिन्न जिल्लाबाट आएका करिब डेढसय जनाको सहभागिता रहेको नगरप्रमुख लवश्री न्यौपानेले जानकारी बताए ।

नगरपालिकाभित्र छरिएर रहेका ऐतिहासिक तथा धार्मिक स्थललाई एउटै पर्यटन मार्गमा जोड्ने र तिनको महत्व राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको हो । पहिलो दिनको पदयात्रा भीमेश्वर मन्दिर ल्याङल्याङबाट सुरु भएर विभिन्न ऐतिहासिक तथा धार्मिक स्थल हुँदै रामेछाप बजारमा आएर टुङ्गिएको थियो ।

नगरप्रमुख न्यौपानेका अनुसार ल्याङल्याङस्थित भीमेश्वर मन्दिरको स्थापना वि.सं. १८२४ मा भएको ऐतिहासिक अभिलेख छ । दोलखाको भीमेश्वर मन्दिर र ल्याङल्याङको मन्दिरको धार्मिक तथा भौगोलिक विशेषता मिल्दोजुल्दो रहेको उनको भनाइ छ । उक्त मन्दिरलाई रामेछापको महत्वपूर्ण पुरातात्विक सम्पदाका रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।

पदयात्राका क्रममा सहभागीले डुकुरसिंह डाँडा, पाटेभिर, गणेश मन्दिर, शिवको मूर्ति तथा देवीदेवताका पुराना मूर्तिहरूको अवलोकन गरेका थिए । यस क्षेत्रमा विगतमा पनि नगरपालिका तथा विभिन्न संघसंस्थाको सहयोगमा संरक्षणका काम भएका छन् । अब ती सम्पदालाई थप व्यवस्थित र आकर्षक बनाउने योजना रहेको नगरप्रमुख न्यौपानेले बताए ।

त्यसैगरी पदयात्रामा तिल्केथान गढी र चिसापानी गढीको ऐतिहासिक महत्वबारे जानकारी गराइएको थियो । नेपालको भूगोल रक्षाका क्रममा अंग्रेज सेनासँगको संघर्षसँग जोडिएका यी गढीको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ छ ।

पदयात्राको अर्को महत्वपूर्ण गन्तव्य केबलेश्वर महादेव मन्दिर थियो । स्वस्थानी व्रतकथासँग जोडिएको धार्मिक मान्यताअनुसार सतीदेवीको अंग पतन भएको स्थानमा केबलेश्वर महादेव उत्पत्ति भएको विश्वास गरिन्छ । यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्ने नगरपालिकाको योजना छ ।


यसैगरी पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा सहयोग पुर्‍याएका उदयनारायण घिमिरेको योगदानको स्मरणमा निर्माण गरिएको उदयनारायण पार्कको पनि अवलोकन गरिएको थियो । नगरप्रमुख न्यौपानेका अनुसार नेपाल एकीकरणका क्रममा घिमिरेले आफ्ना परिवार, छोरी तथा इष्टमित्रबाट रकम संकलन गरी सहयोग गरेका थिए । सोही योगदानको कदरस्वरूप प्राप्त बिर्तासँग जोडिएको ऐतिहासिक पृष्ठभूमिका आधारमा पार्कको नामकरण गरिएको हो ।
करिब पाँच–छ वर्षअघि सुरु गरिएको पार्क निर्माण तथा विस्तारको कामलाई नगरपालिकाले निरन्तरता दिइरहेको छ । पार्क परिसरमा स्थानीय समुदायको चन्दा तथा नगरपालिकाको सहयोगमा शिवपञ्चायन र गणेश मन्दिरसमेत निर्माण गरिएका छन् ।


पहिलो दिनको पदयात्रामा कुलेश्वर महादेव मन्दिर, श्रीकृष्ण मन्दिर, गंगालाल तथा पुष्पलालको जन्मस्थल, निशान भगवती मन्दिर, मानडाँडास्थित बुद्धचोक र सैनिक पार्ककोसमेत अवलोक गरिएको थियो । वि.सं. २०६६ मा डढेलोमा परी ज्यान गुमाएका सैनिकहरुको स्मृतिमा नेपाल सरकार र नगरपालिकाको सहयोगमा सैनिक पार्क निर्माण गरिएको हो ।

रामेछाप नगरपालिका विभिन्न जातजाति र संस्कृतिको साझा फूलबारी रहेको उल्लेख गर्दै उहाँले मगर, क्षेत्री, बाहुन, हायु तथा नेवार समुदायको मौलिक संस्कृति पर्यटनको महत्वपूर्ण आधार भएको बताए । लोपोन्मुख हायु समुदायको संस्कृति र पहिचान संरक्षणलाई पनि पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ छ ।


पर्यटनसँगै कृषि उत्पादन र बजारीकरणलाई पनि नगरपालिकाले प्राथमिकता दिएको बताए । नगरभित्र उत्पादित जुनार, फर्सी, काँक्रो, घिरौँला तथा गेडागुडी रामेछाप, मन्थली, काठमाडौँ र तराईका बजारसम्म पुग्ने गरेका छन् । रामपुरलगायतका क्षेत्रमा कृषि उत्पादनको सम्भावना भए पनि सिँचाइको अभाव प्रमुख समस्या रहेको नगरप्रमुख न्यौपानेले बताए ।


नगरपालिकाले रैथाने बालीको संरक्षण, किसानमा जनचेतना अभिवृद्धि तथा उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण गरिरहेको उनको भनाइ छ । रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले उपभोक्ताको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले रैथाने कृषि उत्पादनलाई प्राथमिकता दिइएको उनले बताए । उद्योग शाखा, किसान र सहकारीको समन्वयमा गेडागुडीको ब्रान्डिङ गरी बजारमा पुर्‍याउने कामसमेत भइरहेको छ ।


पदयात्रामा सहभागीहरुलाई ठाँउठाउँमा स्थानीय बासिन्दाहरुले स्वागत सत्कारसमेत गरेका थिए । पदयात्रामा रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्की, सम्बन्धीत वडाका अध्यक्षहरु, नगरपालिकाका कर्मचारीहरु, पत्रकार, कलाकार साथै बाहिर जिल्लाबाट जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्