जातिय छुवाछुत गर्ने एकै परिवारका ३ जना पक्राउ

 शुक्रबार, चैत्र १८, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । १२ वर्षीया नाबालिकालाई घरभित्र प्रवेश गरेको कारण घरको थाम र दलिनमा २१ घण्टासम्म नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गर्ने र उक्त कार्य गर्न उक्साउने एकै परिवारका तीन जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन ३० गते सोमबार रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका ६३ वर्षीय शेरबहादुर श्रेष्ठ र उनकी श्रीमति बालकुमारी श्रेष्ठले आफ्ना छोरा रोशन श्रेष्ठको उक्साहटमा छिमेकी १२ वर्षीय नाबालिकालाई घरभित्र प्रवेश गरेको आरोपमा फागुन ३० गते सोमबार अपराह्न ४ बजेदेखि भोलिपल्ट चैत १ गते दिउँसो करिब साँढे १२ बजेसम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नु लगाई कुटपिट गरी यातना दिएका थिए ।
छोरा रोशन श्रेष्ठले दलित घरभित्र पसेपछि घर अशुद्ध भयो, रुद्री लगाएर नचोख्याएसम्म नछाड्नु भनेर फोनमार्फत निर्देशन दिएको बालकुमारीले बताएकी थिइन् । पीडितका आफन्त, स्थानीय जनप्रतिनिधि र शिक्षकले पीडित नाबालिकालाई बाँधेर नराख्न आग्रह गर्दा पीडक श्रेष्ठ दम्पतीले दलित नाबालिका घरभित्र प्रवेशकाले घर अशुद्ध भएको, कुल, पितृ सबै नष्ट भएकाले रुद्री लगाएर घर नचोख्याएसम्म नछाड्ने भन्दै २१ घण्टासम्म बाँधेर राखेका थिए । त्यसपछि जनप्रतिनिधि र शिक्षकले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुन साथ घटना स्थलमा पुगेको प्रहरी टोलीले पीडित नाबालिकालाई उद्दार गरी पीडक शेरबहादुरलाई पक्राउ गरेको थियो । पीडितका आफन्तले चैत २ गते बुधबार पीडक शेरबहादुरलाई मात्र प्रतिवादी बनाएर अपरहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दर्ता गराएका थिए । पीडक शेरबहादुर विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको थियो । श्रेष्ठमाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेका बेला पीडितका आफन्तले बालकुमारी र रोशन श्रेष्ठलाई समेत प्रतिवादी बनाएर जातीय छुवाछुत तथा भेदभाव कसूरमा अर्को उजुरी जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता गराएपछि बालकुमारी र रोशनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई १५ गते मंगलबार मन्थलीस्थित देवकोटा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिए । यस अघि नै पक्राउ परेका शेरबहादुरलाई जिल्ला अदालत रामेछापबाट तीन पटक म्याद थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तीनै जनामाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add