मन्थलीबाट देवीटार हुँदै काठमाडौँ यातायात सञ्चालन

 बुधबार, अशोज १६, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट दोलखाको किर्ने, चरिकोट हुँदै काठमाडौँका लागि अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । दोलखाको किर्नेस्थित हिमाल पावर लिमिटेडको प्राङ्गणबाट तिहारसम्मका लागि अस्थायी सडक सञ्चालनमा आएसँगै सिधै रामेछाप–काठमाडौँ यातायात सञ्चालनमा आएको हो ।

रामेछाप जिल्लाबाट पूर्व अरनिको यातायात प्रालि, वेणी त्रिवेणी यातायात प्रालि लगायतका यातायात कम्पनीहरुले बिहीवारबाट मन्थली–काठमाडौँ नियमित यातायात सेवा सुचारु गर्ने भएका छन् ।

अस्थायी बाटो सञ्चालनका लागि उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई लिएर मङ्गलवार दोलखाको किर्ने आएका थिए । हिमाल पावर लिमिटेड क्षेत्रमा तामाकोसी नदीले बगाएको सडक अनुगमनपछि कार्यकारी निर्देशक घिसिङले हाइड्रोपावरलाई असर नपर्ने गरी होइड्रोपावरको क्षेत्रमा दुई तर्फबाट पालैपालो यातायातका साधन वारपार गराउने गरी सवारी सञ्चालन गर्न निर्देशन दिएका थिए । राज्यमन्त्री तामाङ र कार्यकारी निर्देशन घिसिङको रोहवरमा दसैँ र तिहारको लागि एचपिएलको हाताभित्रबाट सवारी सञ्चालन गर्ने निर्णय गरिएको अनुसार बुधवार बेलुकाबाट यातायात सञ्चालनमा आएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनअनुसार रामेछाप र दोलखाको जिल्ला प्रशासन कार्यालय, सडक डिभीजन कार्यालय चरिकोट, जिल्ला समन्वय समिति रामेछाप, रामेछाप जिल्लाको राजनीतिक पार्टीका प्रतिनिधिहरुको बैठकले दसैँ तिहारको लागि हिमाल पावर लिमिटेडको प्राङ्गणबाट सवारी सञ्चालन गर्ने निर्णय भएको छ ।

हिमाल पावर लिमिटेडको हाताभित्र, कुनै डिस्टर्व हुने गरी २० को गतिमा यातायात हिडाउने, हर्न बजाउन र यात्रु चढाउन तथा ओराल्न नपाउने सर्तमा दसैँ तिहारसम्मका लागि यातायात सञ्चालनमा ल्याइएको हो ।

Share this

प्रतिकृया

Add