कर दिवसमा २ करदाता सम्मानित

 बिहिबार, मंसिर ७, २०८० | onlinenews

रामेछाप- १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा रहेको करदाता सेवा कार्यालयले उत्कृष्ट दुई करदतालाई सम्मान गरेको छ ।
करदाता सेवा कार्यालय मन्थलीले बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी बैँक तथा वित्तीय संस्थाको तर्फबाट नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थली र व्यक्तिगत फर्मको तर्फबाट ओम स्टोर्स एन्ड सप्लायर्स मन्थलीलाई प्रोप्राइटर लक्ष्मी कार्की थापालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा संस्थाको तर्फबाट नवजागरण साकोसका अध्यक्ष श्याम थापा र सचिव सोमेस थापाले संयुक्त रूपमा सम्मानपत्र ग्रहण गरेका थिए । सम्मानित करदताहरुलाई रामेछापको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाद्वारा सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले करतादाहरुलाई कर तिर्न उत्प्रेरित गर्ने उद्देश्यले करदाता सम्मान कार्यक्रम आयोजना गरिएको बताइन् । राज्यले व्यवसायमा गर्ने अनुगमन र कारबाही खराबलाई सुधार्न र राम्रोलाई प्रोत्साहनको लागि गर्ने बताइन् । देशको अर्थतन्त्र मजबुद बनाउन वाणिज्य तर्फबाट व्यवासायीहरुको मत्वपूर्ण भूमिका रहेको भन्दै व्यवसायीलाई प्रोत्साहित गर्ने र सुरक्षाको दायित्व राज्यको भएको बताइन् ।


उद्योग वाणिज्य व्यवसायको सफलता नै राज्यको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै व्यवसाय प्रवर्धनमा जोड दिनुपर्ने प्रजिअ निरौलाको भनाइ छ ।
रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापामगरले व्यवसायीहरुले पनि सुधार गर्नुपर्ने धेरै कुरा रहेको भन्दै अनुगमनका नाममा राज्यले व्यवसायीलाई त्रसित पार्न नहुने बताए । व्यवसायीबाट अनजानमा भएका गल्तीलाई सुधार्ने मौका दिनुपर्ने उनको भनाइ छ । व्यसायीले तिरको करबाट व्यवसायीले कुनै लाभ नपाएको भन्ने आवाज निजी क्षेत्रमा उठ्न थलोको समेत अध्यक्ष थापाले बताए ।
त्यस्तै जिल्ला सहकारी सङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले कयौँ करदाताहरुबाट अनजानमा गल्ती भएको भन्दै व्यवहारिकता बुझेर कारबाही प्रक्रिया अघि आवश्यक रहेको बताए ।

करदाता सेवा कार्यालय मन्थलीका प्रमुख राजनमणी शर्माले जिल्लामा रहेका करदाता मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने दुई करदातालाई सम्मान गरिएको बताए । करदाता सेवा कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहेका आर्थिक वर्ष २०७८÷०७९ सबै भन्दाबढी कर तिरेको आधारमा सम्मान गरिएको करदाता सेवा कार्यालय मन्थलीले जनाएको छ ।

सप्ताहव्यापी कर दिवस कार्यक्रम अन्तर्गत करदाता सेवा कार्यालय मन्थलीले सञ्चार माध्यमबाट कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रचारप्रसार, कर सम्बन्धी अभिमुखीकरण र उत्कृष्ट कर दाखिला गर्ने करदतालाई गर्ने लगाएका कार्यक्रम सञ्चालन गरिएको शार्माले बताए ।

सम्मानीत संस्थाको तर्फबाट नवजागरण साकोसका अध्यक्ष श्याम थापाले राज्यले करदातालाई कर तिरौँ तिरौँ लाग्ने व्यवहार गर्नुपर्ने बताए । राज्य करदतासँग सम्मानजन व्यवहार गर्नुपर्ने भन्दै कर तिर्नु आफ्नो दायित्व हो भन्ने अनुभूति राज्यले दिलाउने पर्ने थापाको भनाइ छ । सम्मान कार्यक्रमको सहजीकरण करदाता सेवा कार्यालय मन्थलीका डाटा इन्ट्री सुपरभाइजर नवीन घिमिरेले गरेका थिए ।

प्रतिकृया

Add