कृषकको खेतमै पुगेर आलु रोप्न सिकाउँदै आलु बाली विकास केन्द्र

 बिहिबार, मंसिर १४, २०८० | onlinenews

 

रामेछाप–आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले रामेछापका कृषकको खेतमै पुगेर आलु रोप्न सिकाएको छ । आलु बाली विकास केन्द्रका कर्मचारीहरु रामेछापको मन्थली नगरपालिका–१ निबुवाबोटका कृषकको खेतमै पुगेर आलु रोप्ने सही तरिकाका बारेमा कृषकहरुलाई सिकाएको हो ।

सैद्धान्तिक तालिमबाट भन्दा कृषकलाई व्यावहारिक रुपमै आलु रोप्न सिकाउँदा आलु बाली प्रवर्धनलाई प्रभावकारी बनाउन सकिने भएकाले कृषकको खेतमै आएर आलु रोपेर सिकाइएको आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकका बाली संरक्षण अधिकृत सुदिप रेग्मीले बताए । बाली उत्पादन वृद्धि गर्नका लागि गुणस्तरीय बिउ र सही तरिकाले रोप्ने कुरा महत्वपूर्ण हुने भएकाले किसानलाई आलुको बिउका बारेमा जानकारी दिनुका साथै रोप्ने तरिका सिकाउन खेतमै आएको उनको भनाइ छ ।


कृषकहरुलाई खेतमै भेला गराएर आलुका दानालाई बिउको रुपमा काट्ने तरिका सिकाउनुका साथै किसानको खेतमा आलु रोपेर देखाइएको थियो । आलु रोप्दा सकभर सिङ्गै दाना रोप्न आलु बाली प्राविधिकको सुझाव छ । आलुलाई चाना बनाएर रोप्नु परेमा एउटा चानामा कम्तिमा २ देखि ३ वटासम्म आँखा राख्नु राम्रो हुने साथै आलुको चाना कम्तिमा ५० ग्रामको हुनुपर्ने बाली संरक्षण अधिकृत रेग्मीले बताए । आलुको दानालाई साना–साना चाना बनाएर रोप्दा आलु टुसाउने बेला टुसालाई खाना नपुग्ने भएकाले फस्टाउन नसक्ने रेग्मीको भनाइ छ ।
आलु रोप्न बनाइएको खाल्डोमा पहिला मल राखेर हल्का माटोले छोपेर मात्र आलुको बिउ रोप्नुपर्ने उनले बताए । गुणस्तरीय बिउलाई सही तरिकाले रोपियो भने उत्पादन लागत समेत घट्ने उनको भनाइ छ ।

आलु उत्पादनमा वृद्धि गर्न आलुलाई ड्याङ बनाएर रोप्नु पर्ने आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकका कृषि प्राविधिक हिमाल भुसालले बताए । आलु माटोमुनि फल्ने बाली भएकाले माटो चढाउने र उकेरा दिने कुरा महत्वपूर्ण हुने भन्दै ड्याङ्मा आलु लगाउनु राम्रो हुने भुसालले बताए । ड्याङमा आलु लगाउँदा जराहरु परसम्म फैलिन पाउने भएकाले आलुको उत्पादन पनि बढ्ने उनको भनाइ छ । आलु रोप्दा बोटदेखि बोटको दुरी २५ सेन्टिमिटर र लाइनदेखि लाइनको दुरी ७० सेमिन्टमिटर कायम गरिएमा आलुले पर्याप्त मात्रमा जरा फैलाउन पाउने भएकाले आलुको दाना पनि धेरै लाग्ने कृषि प्राविधिक भुसालको भनाइ छ ।

कृषि प्राविधिकहरुले खेतमै आएर आलु रोप्न सिकाएपछि आफूहरुलाई नयाँ ज्ञान भएको अगुवा कृषक गजेन्द्रबहादुर थापाले बताए । खेतमा व्यावहारिक तालिम पाएपछि हामीलाई थाहा भयो, यसअघि हामीले काट्ने गरेको आलुको बिउ, रोप्ने तरिका र मल हाल्ने तरिका कुनै पनि मिलेको रहेनछ कृषक थापाले भने । त्यस्तै अर्का कृषक अर्जुनप्रसाद पौडेलले प्राविधिकहरुले सिकाएको आलु रोप्ने तरिका आपूmहरुले गर्दै आएको तरिका भन्दा फरक रहेको भन्दै यस वर्ष प्राविधिकहरुले सिकाए अनुसार नै आलु रोप्ने बताए ।

प्रतिकृया

Add