शिक्षक र बाल समूहलाई पुनर्ताजगी तालिम

 बुधबार, मंसिर २०, २०८० | onlinenews

 

रामेछाप – रामेछापको सुनापति गाउँपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र बाल समूहका पदाधिकारीहरुलाई ३ दिने पुनर्ताजगी तालिम दिइएको छ ।
शिक्षक र बाल समूहलाई प्राथमिक उपचार तथा हेल्थ डेस्क व्यवस्थापन सम्बन्धी पुनर्ताजगी तालिम दिइएको हो । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सहजीकरणमा तालिम सञ्चालन गरिएको हो ।

विद्यालयमा अकस्मात दुर्घटनामा परेका विद्यार्थी तथा विद्यालय परिवारलाई दक्ष चिकित्सकसम्म पुर्याउन पूर्व घाइते वा बिरामीहरुको अवस्था बिग्रन नदिन प्राथमिक उपचार कसरी गर्ने, प्राथमिक उपचारको प्रभावकारिता बढाउने तथा दुर्घटना न्यूनीकरणका उपायका बारेमा तालिम दिइएको परियोजनाका लेखा तथा प्रशासन अधिकृत सुमन बोहोराले जानकारी दिए ।

सामान्य चोटपटक तथा बिरामी हुँदा अपनाउनु पर्ने विधि र औषधी उपचारको जानकारी गराउने उद्देश्यले सञ्चालन भएको पुनर्ताजगी तालिममा सुनापति गाउँपालिकाका १५ वटा आधारभूत तथा माध्यमिक विद्यालयका २५ जनाको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका प्रशिक्षक सन्तोष श्रेष्ठ, हरिकुमार श्रेष्ठ र शम्भु बुढाथोकीले तालिमको सहजीकरण गरेका थिए ।

सुनापति गाउँपालिकाका १५ वटा विद्यालयहरुमा औषधी, उपकरणसहित हेल्थ डेस्क सहयोग गरेको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । जसलाई व्यवस्थापन गरी दीगो तथा प्रभावकारी सञ्चालनका लागि तालिम आयोजना गरिएको संयोजक कार्कीले बताए । महिनावारीलाई स्वच्छ एवम् मर्यादित बनाउन स्वच्छता सामग्री, आधारभूत औषधी, उपकरण, फर्निचर तथा सीप समेत प्रदान गरिएकोे कार्कीले बताए ।

प्रतिकृया

Add