आत्महत्या न्यूनीकरण र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

 बुधबार, मंसिर २०, २०८० | onlinenews

 

रामेछाप- बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा आत्महत्या न्यूनीकरण, मनोरोग रोकथाम र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पछिल्लो समय आत्महत्याको सङ्ख्यामा वृद्धि भइरहेको बेलामा तनाव व्यवस्थापन तथा आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आत्महत्या चुनौतीको रुपमा देखा परेको बताए । जीवनप्रति प्रेम गर्नकाउने र जीवनालाई परिवर्तन गर्न सिकाउने उद्देश्यले मन्त्रालयकै आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्री श्रेष्ठले बताए । जीवनप्रति प्रेम गर्न सिकेमा र जीवनलाई परिवर्तन गर्न सकेमा आत्महत्याका घटना न्यूनीकरण हुने भन्दै यसका लागि नागरिक स्तरमै जागरण ल्याउनु पर्ने बताए ।

आत्महत्या न्यूनीकरणका लागि ठोस निर्णयको आवश्यकता रहेको भन्दै आगामी वर्ष प्रदेश सरकारले आत्महत्या न्यूनीकरण, मनोरोग रोकथाम र तनाव व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताए । मन्त्री श्रेष्ठले स्थानीलाई सरकारलाई पनि यस शीर्षकमा बजेट विनियोजन गरी गाउँगाउँमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मनोरोग रोकथाम, आत्महत्या न्यूनीकरण, तनाव व्यवस्थापन, युवा जागरण तथा विपद् व्यवस्थापन सम्बन्धी महत्वपूर्ण कार्यहरु गर्दै आएको उनले बताए । स्थानीय सरकालाई पनि कार्यक्रम बनाउन आग्रह गर्द प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने बताए ।

मनोरोगको समस्या नियन्त्रण र न्यूनीकरणको लागि विद्यालय र स्वास्थ्य संस्थामा मनोपरामर्शकर्ता राख्न सके आत्महत्या न्यूनीकरणलाई प्रभावकारी बनाउन सकिने बताउँदै प्रदेश र स्थानीय सरकारले एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । आत्महत्याको कारण सामाजिक, राजनीतिक, धार्मिक र मानसिक कारण हो या जैविक कारण हो भन्ने विषयमा पनि गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले तनाव व्यवस्थापनमा योग र ध्यानको महत्वको बारेमा सहजीकरण गरेकी थिइन् । प्रजिअ निरौलाले कार्यक्रमका सहभागीहरुलाई ध्यान कसरी गर्ने भन्ने अभ्यास समेत गराएकी थिइन् ।

त्यसैगरी रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले नेपालमा आत्महत्याको अवस्था साथै बागमती प्रदेश र रामेछाप जिल्लामा आत्महत्याको अवस्थाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपानेले निराशाको अवस्था र कारणको बारेमा सहजीकरण गरेका थिए भने मन्थली अस्पतालका डाक्टर समीर क्षेत्रीले आत्महत्या र डिप्रेसनको अवस्थाका बारेमा सहजीकरण गरेका थिए ।

प्रतिकृया

Add