आत्मविश्वास बढाउन संयुक्त अभ्यास परीक्षा

 मङ्लबार, फाल्गुन २९, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाका विभिन्न विद्यालयहरुले विद्यार्थीहरुको आत्मविश्वास बढाउने उद्देश्यले संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् । विद्यालयहरुको आन्तरिक सहकार्यमा सार्वजनिक बिदाका दिन पारेर संयुक्त अभ्यास परीक्षा सञ्चालन गर्दै आएका छन् । सुनापति गाउँपालिकाको डहु माध्यमिक विद्यालयदेखि सदरमुकाम मन्थलीको कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलसम्मले बिदाको दिन संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् । संयुक्त परीक्षाले विद्यार्थीको आत्मविश्वास र लेखन अभ्यास बढ्ने भएकाले आन्तरिक सहकार्यमा बिदाका दिन संयुक्त परीक्षा सञ्चालन गरिएको कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल केशव तिमल्सिनाले जानकारी दिए ।

निरन्तर गरिने मूल्याङ्कनले विद्यार्थीको पढाइमा ध्यान केन्द्रित हुने र यस्ता परीक्षाले विद्यार्थीको आत्मविश्वास र लेखन अभ्यास पनि बढाउने उनको भनाइ छ । विद्यार्थीहरुको आत्मविश्वास बढाउने उद्देश्यले विद्यालय विद्यालयबिचको आन्तरिक सहकार्यमा बिदाको दिन पारी संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिँदै आएको तिमल्सिनाले बताए । ग्याल्पो ल्होसारका दिन सोमवार सदरमुकाम मन्थलीमा रहेको नागकन्या माध्यमिक विद्यालय र कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलबिच संयुक्त अभ्यास परीक्षा सञ्चालन भएको गरिएको पनि उनले जानकारी दिए ।

तिमल्सिनाका अनुसार नागकन्या माध्यमिक विद्यालयमा भएको अभ्यास परीक्षामा नागकन्या माविको कक्षा ८ मा अध्ययनरत २८ जना र कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत ३१ जना विद्यार्थी सहभागी भएका थिए । यसअघि डहु माध्यमिक विद्यालय र तामाकोसी जनजागृति माध्यमिक विद्यालय खिम्तीका कक्षा १० का विद्यार्थीबिच अभ्यास परीक्षा गरिएको थियो । आगामी चैत ३ गते शनिवार डहु माध्यमिक विद्यालयमा अभ्यास परीक्षा सञ्चालन गर्ने तालिका रहेको तिमल्सिनाले जानकारी दिए ।

प्रतिकृया

Add